मतपेटिका सुरक्षाका लागि तीन घेराको सुरक्षा प्रबन्ध


काठमाण्डौ – पहिलो चरणमा सम्पन्न निर्वाचनको मतगणना मंसिर २१ पछि मात्रै हुने भएपछि मतपेटिका सुरक्षा अहिले सर्वाधिक चासोको विषय बनेको छ । मतपेटिका सुरक्षाका लागि निर्वाचन आयोगले तीन घेराको सुरक्षा प्रबन्ध मिलाएको छ ।

पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र र तेस्रो घेरामा सेना सुरक्षाका लागि खटिने गरी मतपेटिकाको सुरक्षा प्रबन्ध मिलाइएको आयोगले जनाएको छ ।

दुई चरणको निर्वाचन कार्यतालिका अनुसार १० मंसिरमा ३२ जिल्लाका प्रतिनिधिसभाका ३७ क्षेत्रमा तथा प्रदेशसभाका ७४ क्षेत्रमा पहिलो चरणको निर्वाचन भएको थियो ।

पहिलो चरणमा मतदान भएका विकट पहाडी तथा हिमाली क्षेत्रको मतपेटिका हेलिकोप्टरमार्फत सदरमुकाम ल्याएर आयोगले अहिले जिल्ला निर्वाचन कार्यालयमा मतपेटिका सुरक्षाका लागि बन्द कोठामा राख्ने र सिल गर्ने काम सुरु गरेको छ ।

यसरी मतपेटिका राखी कोठामा सिलबन्दी गरियो

सबै बुथबाट जिल्ला निर्वाचन कार्यालयमा जम्मा भएका मतपेटिका निर्वाचन अधिकृतले अहिले दलका उम्मेदवार, प्रतिनिधिहरूको रोहबरमा सुरक्षित कोठामा राखेर सिलबन्दी गरिरहेका छन् ।
यस्तो छ कानुनी व्यवस्था

मतपेटिका सुरक्षाका लागि प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन निर्देशिका -२०७४ मा कानुनी व्यवस्था गरिएको छ । आयोगले सोही निर्देशिकाको अधिनभित्र रहेर अहिले मतपेटिका सुरक्षाको व्यवस्था मिलाइएको आयोगले बताएको छ ।

प्रवक्ता ढकालले भने, ‘मतपेटिकाको सुरक्षाका लागि निर्वाचनसँग सम्बन्धित छुट्टै ऐन, नियमावलीको व्यवस्था छ, त्यही आधारमा मतपेटिकाका सुरक्षा व्यवस्था मिलाइएको छ ।’ आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ ।