चालिसे र थापाले भने–अर्मलाको जिम्मा हामीलाई दिनुस्


पोखरा – कास्की निर्वाचन क्षेत्र नम्बर २ प्रदेश ‘क’तर्फका काँग्रेस उम्मेदवार गुरुप्रसाद बरालले यो पटक सो क्षेत्रमा जनताले केहि ‘नयाँ प्रयोग’ गर्ने बताएका छन् । निर्मलपोखरीमा जनताको घरदैलोमा पुगेर आफ्नो पक्षमा भोट मागिरहेका बरालले यसपटक ‘युवा जोश सहितको नयाँ शैली’लाई जनताले अगाडि ल्याउने दाबी गरे ।

‘म केहि नयाँ शैली र उत्साह बोकेर जनताको सेवामा होमिएको छु । र, मलाई जनताले सेवा गर्ने मौका दिनेमा निश्चिन्त छु ।’ बरालले भने–‘जनतामा म प्रतिको सकारात्मकता पनि मैले अनुभूति गरेको छु ।’ उनी घरदैलोमा गईरहँदा जनताबाट निकै गुनासा र अपेक्षा सुनेको उल्लेख गर्दै निर्वाचित भएसँगै सबै खाले समस्याहरुलाई आफूले सल्ट्याउने प्रतिबद्धता जनाए ।

नयाँ सोँच र शैलीसहित एउटा गज्जबको उर्जावान युवा आएको भन्दै जनताले बराललाई निकै रुचाएको तरुण दल क्षेत्र नम्बर २ का सँयोजक रहेका पुजन थकालीले बताए । अहिले सो क्षेत्रमा थकालीकै नेतृत्वमा बरालले घरदैलोलाई अगाडि बढाईरहेका छन् । उनले पछिल्लो समय प्रचारमा अपनाएको शैलीलाई पनि सो क्षेत्रमा निकै रुचाईएको छ भने यसले राष्ट्रिय चर्चा समेत प्राप्त गरिसकेको छ ।

“भोट हालेर काँग्रेसको गुन तिछौं”

पोखरा महानगरपालिकाको वडाभित्र समेटिएको अर्मला दुईवर्षअघि जमिन भासिने क्रमले त्रसित थियो । तर अहिले व्यवस्थित हुदै गएको छ । बस्ती नै विस्थापित हुने पिरलो विस्तारै हट्दै गएको छ । त्यसको श्रेय भने स्थानीयबासिन्दाले नेपाली काँग्रेसलाई दिए । “जमिन भासिने क्रमले बस्ती नै विस्थापितको संघारमा थियौं । तत्कालिन सांसद शारदा पौडेल र कुमार खड्काको पहलमा जमिन मुनिको पानीलाई व्यवस्थित ढल निर्माण गरी निकास गरिएको छ ।” स्थानीयबासीले भने–“उहाँले पहल नगरिदिएको भए बस्ती विस्थापित भईसक्थ्यो ।” नेतृ पौडेल दुई वर्षअघि आफैं उपस्थिति भई अर्मला जुईमुरे बस्तीका पीडितसँग सात्क्षाकार गर्दै संरक्षण अभियान थालेकी थिईन् ।

जमिन मुनीको पानीको सहज निकास नहुदाँ जमिन भासिने क्रमले बस्ती विस्थापित हुने सम्भावना थियो । “जमिन भासिदाँ त्रासमा बाँचिरहेका थियौं ।”स्थानीयबासिन्दाले थपे–“बस्ती जोगिदाँ यहाहरु समक्ष भेटघाट गर्न पायौं ।” बासिन्दाले कुमार खड्कालाई हेर्दै भने–“हिजो तपाईलाई भोट दिन पाएनौं । बस्ती जोगाउन तपाईले खेलेको भूमिकाप्रति अर्मलाबासी ऋ्णी छौं । त्यो ऋण तिर्न हामीले रुखमा भोट हालेर गुन तिर्छौै । हाम्रो प्रतिबद्धता हो ।”

महानगरपालिकाको वडामा मुख्य समस्या सडक नै रहेको छ । अर्मलादेखि सिक्लेससम्मको ३५ किलोमिटर सडक निर्माण गर्ने कास्की काँग्रेस क्षेत्र नं २ का उम्मेदवारले प्रतिबद्धता जनाएका छन् । ‘विकासबाट कोही पनि पछि हट्न सक्दैन । जनजीविकासँग जोडिने सबै विषय हामी पूरा गर्छौं, प्रतिनिधीसभा सदस्य उम्मेदवार देवराज चालिसेले भने–तपाईँकै समस्या बोकेर संसदमा जान्छौं । त्यहाँबाट योजना लिएर तपाईँकै घरमा आईपुग्छौं । एकपटक काँग्रेसलाई विश्वास गरिदिनुस् ।’

“अर्मलादेखि सिक्लेससम्मको सडकको ट्रयाक माबै खोलिएको छ ।” स्थानीयबासिन्दाको मागलाई सम्बोधन गर्दै कास्की २ प्रदेश खका उम्मेदवार विन्दुकुमार थापाले सम्बोधन गर्दै भने–“अब बाटोलाई व्यवस्थित र मोटरबल बनाउने जिम्मेवारी नेपाली काँग्रेसले लिने छ । त्यसको लागि रुख चिन्हमा भोट खस्न जरुरी छ ।”

अर्मलालाई पशुपालनको पकेट क्षेत्रको रुपमा विकास गर्नुपर्ने उम्मेदवार उनले सुनाए । “पशुपालन मार्फत स्वरोजगार सृजना गर्नुपर्छ ।” थापाले भने–“पशुपालनसँगै कृषिलाई पनि उत्तिकै महत्व दिन जरुरी छ ।” नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवं पुर्व मन्त्री कुमार खड्का, समानुपातिक उम्मेदवार आनन्दराज मुल्मी लगायतले स्थानीयबासीको मागलाई काँग्रेसले मात्रै सम्बोधन गर्ने बताए ।

चालिसे र थापाले भने–अर्मलाको जिम्मा हामीलाई दिनुस्

नेपाली काँग्रेस कास्की क्षेत्र नम्बर २ का प्रतिनिधीसभा सदस्य उम्मेदवार देवराज चालिसे र प्रदेशसभा (ख) का उम्मेदवार विन्दुकुमार थापा यतिबेला पोखरा १६ को अर्मलामा चुनावी प्रचारमा ब्यस्त छन् । स्थानीयको समस्या बुझ्ने र समाधानका लागि प्रतिबद्धता जनाउँदै उनीहरु घरदैलो गरिरहेका छन् । अर्मला त्यही ठाउँ हो, जहाँ ५ बर्षअघि देखि भुवान परेर धेरैको घरबासै उठाएको थियो । त्यतिबेला शारदा पौडेल काँग्रेसबाट बिजयी सांसद थिईन् । उनकै पहलमा बस्ती संरक्षणका धेरै काम पनि भएका थिए । अहिले त्यो ठाउँमा कहिलेकाहीँ बाहेक यस्तो समस्या देखिँदैन । तर स्थानीयलाई त्रास उत्तिकै छ ।

महानगरको वडा भएपनि यो ठाउँ विकट नै छ । सजिलोसँग मोटर चल्ने अवस्था पनि छैन । बजारसम्म सामान्य कालोपत्रे पोतिएपनि त्यसमाथीका सडकहरु भर्खरै ट्रयाक खुलेका हुन् । खेतीका लागि ठूला फाँटहरु रहेको यो ठाउँमा सिञ्चाई सुविधा राम्रो छैन । विद्युत विस्तार र खानेपानीको समस्या पनि उस्तै छ । घरदैलोका क्रममा उम्मेदवारहरु चालिसे र थापाले सबै समस्याको समाधान गर्ने जिम्मा आँफुलाई दिन स्थानीयसँग आग्रह गरे ।

‘हामी भोट माग्नका लागि मात्रै यहाँ आएका होईनौं । तपाईँहरुको दुखसुखसँग भिज्न पनि चाहेका थियौं, उनीहरुले भने–यहाँको समस्या बुझ्यौं । हामी काम गर्छौं, हामीलाई पत्याईदिनुस् ।’ प्रतिनिधीसभाका उम्मेदवार देवराज चालिसेले जनताका दैनिक आईपर्ने समस्या समाधान गर्न कुनै पद नचाहिने भन्दै चुनावपछि पनि आँफु सँधै जनतासँगै रहने प्रतिबद्धता जनाए । ‘मलाई काम गर्न पद नै चाहिन्छ भन्ने छैन । तर काम गर्ने वातावरण बन्नुपर्छ, उनले भने–यसपाली सहयोग गर्दिनुहोला । तपाईँका सबै समस्या काँधमा बोकेर हिड्छु ।’

मादी गाउँपालिकाको पूर्वाधार विकासमा केसीको चासो

प्रदेशसभातर्फ कास्की क्षेत्र नम्बर १ को ‘ख’तर्फ उम्मेदवारी दिएका कृष्ण केसीले मादी गाउँपालिका क्षेत्रको ग्रामिण सडक संजालको विषयमा चासो देखाएका छन् । उनले आफू गाउँमै हुर्किएको र गाउँको समस्याको बारेमा जानकार रहेको बताउँदै निर्वाचित भएसँगै आफ्नो क्षेत्रमा पर्ने सो सडकको स्तरोन्नती र विस्तारलाई तिव्रता दिने वचन दिएका छन् ।

चुनावी प्रचारप्रसारको क्रममा मादी गाउँपालिका वडा नम्बर २ मा पर्ने चासु, रायागाऊँ, घामराङ र वडा नम्बर ३ मा पर्ने कुस्कुडाँडा लगाएतका ठाऊँमा पुगेका केसीले त्यहाँका बासिन्दासँग काँग्रेसलाई भोट दिएर सम्बृद्धि रोज्न अह«ाए । उनले काँग्रेसको तर्फबाट उम्मेदवारी दिएको आफूलाई भोट दिएर निर्वाचित बनाएसँगै सो क्षेत्रको विकासको गतिलाई तिव्रता दिने दोहो¥याए ।

उनले सो क्षेत्रको विकासका लागि सबैभन्दा पहिला सिक्लेस–ताङतिङ सडक संजाल जोड्ने, विजयपुरमा पुल निर्माण गर्ने, कसेरी–भैँसे र राखि–मिजुरे सडक संजाललाई विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताए । ‘यी सबै कामहरु निर्वाचित भएर आएपछि मैले गर्ने कामको गुरुयोजना अन्तरगत सबैभन्दा प्राथमिकतामा मैले राखेको छु ।’ केसीले दाबी गर्दै भने–‘र, यी कामहरु गरेर हजुरहरुको सेवा गर्ने मौका मलाई यहाँका जनताले दिने पनि छन् ।’

केसीसहितको चुनावी प्रचार टोलीमा नेपाली काँग्रेस मादी गाउँपालिकाका सँयोजक देवीजंग गुरुङ, आदिबासी जनजाति संघका केन्द्रीय सदस्य भीमकाजी गुरुङ, महिला नेतृ प्रभाश्री गुरुङ, नेपाली काँग्रेस कास्कीका सदस्य नविन सिग्देल लगाएत रहेका छन् ।

थापा र परियारको घरदैलो जारी

त्यस्तै कास्की निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनीधिसभा सदस्य उम्मेदवार यज्ञबहादुर थापा र प्रदेश ‘क’ तर्फका उम्मेदवार जीवन परियार पनि घरदैलो अभियानलाई तिव्रता दिईरहेका छन् । उनीहरुले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने विभिन्न वडाहरुमा पुगेर काँग्रेसलाई विकास र सम्बृद्धिको लागि भोट हाल्न मतदाताहरुलाई आग्रह गरिरहेका छन् ।

समानता र स्वतन्त्रताको लागि काँग्रेसलाई भोट ः शुक्रराज

कास्की क्षेत्र नम्बर ३ मा प्रतिनीधिसभातर्फ काँग्रेसबाट उम्मेदवारी दिएका शुक्रराज शर्माले समानता र स्वतन्त्रताका लागि नेपाली काँग्रेसलाई भोट गर्न आग्रह गरेका छन् । उनले काँग्रेसमा सबै भाषा, सँस्कृति र जातका मानिसहरु एकै ठाऊँमा समान तरिकाले अट्न सक्ने उल्लेख गर्दै जनताले विखण्डनबादीहरुलाई भोट हाल्न नहुने सुझाए ।

‘यहाँ जात, भाषा र धर्मको नाममा विभाजन गराउने प्रपञ्च रचिँदै आएको छ । यद्यपी हामी त्यसो हुन दिँदैनौँ । बिखण्डनले लोकतन्त्रको अस्तित्व हराउँछ ।’ उनले भने–‘देशलाई द्वन्दमा लाने प्रयास गरिरहेकाहरुको पक्षमा जनता उभिनु पनि हुँदैन ।’ उनले काँग्रेस मात्रै जनताको साझा पार्टीको रुपमा स्थापित भएको उल्लेख गर्दै अझै पनि काँग्रेस सबैको हुन चाहेको बताए ।

चुनावी प्रचारको क्रममा पुम्दीभुम्दी हुँदै ढिकुरपोखरी पुगेको शर्मा र प्रदेश ‘ख’तर्फका उम्मेदवार शिकन्दर गुरुङ सहितको टोलीले त्यहाँ चुनावी सभामा सम्बोधन गरेको थियो । सम्बोधनको क्रममा प्रदेशसभा तर्फका उम्मेदवार शिकन्दर गुरुङले काँग्रेस कहिल्यै झुठो नबोल्ने पार्टी भएको दाबी गरे । उनले काँग्रेस जस्तै आफू पनि झुठो नबोल्ने भएकोले सत्यको पक्षमा भोट हाल्न त्यहाँका मतदाताहरुलाई आग्रह गरेका थिए । उनले बढि बोल्नेलाई भन्दा काम गरेर देखाउनेलाई रोज्न जनतालाई सुझाएका थिए ।