मंसिर १३ गते पोखरामा काँग्रेसको ‘विशाल चुनावी आमसभा’ हुने


पोखरा – नेपाली काँग्रेस कास्कीले निर्वाचनलाई लक्षित गर्दै आगामी मंसिर १३ गते पोखरामा ‘विशाल चुनावी आमसभा’को आयोजना गर्ने भएको छ । आमसभाको तयारी भैरहेको काँगे्रेस कास्कीले जनाएको छ ।

आमसभालाई नेपाली काँग्रेसका सभापति शेरबहादुर देउबा र काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सम्बोधन गर्ने कार्यक्रम रहेको कास्की काँग्रेसका कार्यवाहक सभापति सुदिपमोहन भट्टराईले जानकारी दिएका छन् । त्यस्तै आमसभामा कास्कीमा काँग्रेसबाट उम्मेदवारी दिएका प्रतिनीधि र प्रदेशसभातर्फका उम्मेदवारहरुले समेत सम्बोधन गर्नेछन् ।

आमसभामा कास्कीका तीन वटै क्षेत्रका सर्वसाधारणहरुको सहभागीता हुने नेपाली काँग्रेस कास्कीले जनाएको छ । ‘यो आमसभा चुनावलाई लक्षित गर्दै गर्न लागिएको हो । र, यसमा कास्कीका सबै क्षेत्रबाट सहभागीता हुनेछ ।’ भट्टराईले भने–‘निकै भव्य र हजारौँको संख्यामा सहभागीता हुने आमसभाको लागि तयारी निकै तिव्र पारिएको छ ।’

अमरसिंह चौरमा हुने आमसभामा ५० हजार भन्दा बढिको सहभागीता हुने काँग्रेस कास्कीको अनुमान छ । विशाल चुनावी आमसभाको सफलताको लागि काँग्रेस कास्कीले विभिन्न उपसमितिहरु गठन गरेर तयारीलाई तिव्र पारिरहेको छ ।

गुरु बरालको प्रचार गर्दै कृस्तीको घर घरमा पुग्यो ‘ड्रोन’

कास्की क्षेत्र नम्बर २ प्रदेश ‘क’मा काँग्रेसको तर्फबाट उम्मेदवारी दिएका गुरुप्रसाद बरालले प्रचारलाई फरक शैलीबाट अगाडि बढाईरहेका छन् । केहि दिन अगाडि मात्रै आफ्नो लागि रोबोटमार्फत भोट मागेका बरालले शनिबार कृस्तीको डाँडाबाट चारतारे काँग्रेसको झण्डासहितको ‘ड्रोन’ उडाएका छन् ।

‘रिमोट कन्ट्रोल सिस्टम’बाट चल्ने ड्रोन नेपाली काँग्रेसको झण्डासहित गाऊँ परिक्रमा गरेको थियो । फरक शैलीबाट उनले जनमत आफ्नो पोल्टामा पार्ने तरिका अपनाईरहेका छन् । उनले पछिल्लो पुस्तालाई प्रविधिसँग जोडेर विकास र सम्बृद्धिको क्रान्ति गर्ने साँकेतिक तरिका ‘ड्रोन’ र ‘रोबोट’को माध्यमबाट अपनाईएको बताए ।

‘जनता लामो र पत्यारलाग्दो भाषणसहितको पुरानो शैलीको चुनावी प्रचारबाट आजित भैसकेका छन् । अब उनीहरु केहि गरोस् र नयाँ शैलीमा गरोस् भन्ने चाहना राख्छन् । त्यसैले मैले प्रचारलाई अरुभन्दा केहि फरक तरिकाले अगाडि बढाएको हुँ ।’ बरालले भने । उनले काँग्रेसको झण्डासहितको ‘ड्रोन’ कृस्ती गाउँमा डुलाउँदा त्यहाँका स्थानियहरुले अचम्म मानेर हेरेका थिए । गुरु बरालको यस्तो खाले चुनावी प्रचारलाई गाउँलेले निकै रुचाए ।

साथै बरालले कृस्तीको नाच्नेचौरमा घरदैलो कार्यक्रम गर्न समेत भ्याए । उनले त्यहाँका प्रत्येक घरमा पुगेर आफ्नो पक्षमा भोट मागे । ‘यो क्षेत्रको विकास र सम्बृद्धिको लागि केहि गर्ने सोँचसहित तपाईको घरमा भोट माग्न आएको छु । मेरो उर्जालाई खेर जान दिनुहुनेछैन भन्नेमा विश्वस्त छु । रुखमा भोट हालेर मलाई जिताउनुहोला ।’ उनले त्यहाँका मतदाताहरुसँग आग्रह गरे ।

कृस्तीका स्थानियबासीले ‘अब केहि गर्नेलाई मात्र भोट दिने’ बताएका थिए । अघिल्ला चुनावहरुमा निर्वाचित गराएका उम्मेदवारहरुले खासै काम नगरेको गुनासो उनीहरुले गरेका थिए । गुरु बरालको प्रचार शैली र युवा उर्जा देखेपछि उनलाई भोट दिने वचन त्यहाँका मतदाताहरुले दिएका छन् ।

कास्की क्षेत्र नम्बर २ मा काँग्रेसले जित्छ ः देवराज चालिसे

निर्वाचनलाई लक्षित गर्दै नेपाली काँग्रेसले कास्की क्षेत्र नम्बर २ मा पर्ने पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १७ईकाईले क्रियाशिल भेला आयोजना गरेको छ । कास्की क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका काँग्रेसका उम्मेदवार देवराज चालिसे, प्रदेश ‘क’ तर्फका उम्मेदवार गुरुप्रसाद बराल र समानुपातिक उम्मेदवार बृन्दा रानासहितको उपस्थितीमा क्रियाशिल भेला आयोजना भएको थियो ।

क्रियाशिल भेलालाई सम्बोधन गर्दै प्रतिनीधिसभा उम्मेदवार देवराज चालिसेले जनताले यो पटक काँग्रेसका उम्मेदवारलाई क्षेत्र नम्बर २ मा अवसर दिने दाबी गरे । ‘यो पटक काँग्रेसकै उम्मेदवारहरुलाई क्षेत्र नम्बर २ का मतदाताहरुले जिताउने वचन दिएका छन् । र, हामी जित्छौँ पनि ।’ उनले भने–‘लोकतन्त्रलाई संस्थागत गर्ने र सम्बृद्धिको क्रान्ति ल्याउने हाम्रो अभियानमा क्षेत्रबासीहरु साथ दिन तयार रहेको हामीले घरदैलोको क्रममा पाएका छौँ ।’

चालिसेले अघिल्ला निर्वाचित सदस्यबाट जनताले अपेक्षाकृत नतिजा नपाएपछि यो पटक काँग्रेसका उम्मेदवारलाई साथ दिने स्पष्ट पारे । उनले अन्य दलका मतदाताहरु पनि काँग्रेसप्रति निकै सकारात्मक रहेको बताए ।

कार्यक्रममा प्रदेशसभा सदस्य गुरु बराल र समानुपातिक उम्मेदवार वृन्दा रानाले पनि काँग्रेसको पक्षमा भोट ल्याउने वातावरण बनाउन क्रियाशिल सदस्यहरु लाग्नुपर्ने बेला आएको बताएका थिए । ईकाई सभापति देवी आचार्यको सँयोजकत्वमा भएको क्रियाशिल भेलालाई ईकाई सचिव डि आर भट्टराईले संचालन गरेका थिए ।

क्रियाशिल भेलामा काँग्रेसका जिल्ला सदस्य नम्रता बराल, युवक लामिछाने, निवर्तमान इकाई सभापति कुन्दरीप्रसाद बराल, प्रेस यूनियन केन्द्रीय महिला विभाग सदस्य विमला भण्डारी, काँग्रेसका क्षेत्रीय प्रतिनीधि ज्ञानेन्द्रराज पौडेल लगाएतले बोलेका थिए । साथै सोहि भेलाको अवसरमा क्षेत्रमा चुनावी प्रचारको लागि विभिन्न कमिटिहरु समेत गठन भएका छन् ।

मादीले खुब माया गरेको छ ः मन्त्री थापा

नेपाली काँग्रेस क्षेत्र नं १ का उम्मेदबार मादी गाउँपालिकाका विभिन्न वडाहरुमा घरदैलो र कोणसभा गरी दुई दिनपछि पोखरा फर्केका छन्। मादी गाउँपालिकाका मतदाताहरुले निकै माया र सद्भाव देखाएको उम्मेदवारहरुले बताएका छन् ।

प्रतिनिधिसभा सदस्य उम्मेदबार यज्ञबहादुर थापा, प्रदेशसभा सदस्य उम्मेदबार कृष्ण केसी र समानुपातिक उम्मेदबार रसकुमारी गुरुङ मादी गाउँपालिका वडा नं ८, ९, १० र ११ मा घरदैलो तथा विभिन्न स्थानमा कोणसभा गरी पोखरा फर्केका हुन्।

मादीबाट फर्केका कास्की काँग्रेसका सभापति समेत रहेका उम्मेदबार केसीले मादीबाट काँग्रेसको विजयी शुरुवात भएको दावी गरे। भाचोक, मकैखोला र मादी – ९ मा दुई सय बढि काँग्रेसमा प्रवेश गरेका छन् उनले भने–‘यसलाई मैले विजय शुरुवात भएको ठानेको छु।’

घरदैलोका क्रममा नेताहरुले देशको विकासका लागि ग्रामिण क्षेत्रको विकास आवश्यक रहेकोभन्दै गाउँको विकासका लागि आफुहरु प्रतिवद्व रहेको उल्लेख गरे।

क्षेत्र नम्बर ३ मा काँग्रेस कास्कीको मतदाता प्रशिक्षण कार्यक्रम

पोखरा, ९ मंसिर ।

नेपाली काँग्रेसले कास्की क्षेत्र नम्बर ३ का आफ्ना कार्यकर्ताहरुमाझ ‘मतदाता प्रशिक्षण कार्यक्रम’ गरेको छ । आसन्न निर्वाचनमा भोट बदर संख्या घटाउने उद्देश्यसहित पार्टीले सबै क्षेत्रमा चलाएको अभियान अन्तरगत हेमजामा यो कार्यक्रम भएको हो ।

क्षेत्र नम्बर ३ लाई लक्षित गर्दै आयोजिता मतदाता प्रशिक्षण कार्यक्रममा शिक्षक संघ कास्कीका गिता क्षेत्री र चिन्तामणी लामिछानेले सहजीकरण गरेका थिए । मतदातालाई सहि तरिकाले भोट हाल्न सिकाउँदै उनीहरुले गलत तरिकाले मत हालेको खण्डमा ‘बदर’ हुन सक्ने र त्यसको प्रत्यक्ष असर नतिजामा पर्न सक्ने बताएका थिए ।

प्रशिक्षण कार्यक्रमको बारेमा प्रकाश पार्दै नेपाली काँग्रेस कास्कीका जिल्ला सदस्य उमेशराज पराजुलीले निर्वाचनमा जुन मत हालिन्छ त्यसलाई सहि ढंगले परिणाममुखी बनाउनु यो अभियानको उद्देश्य भएको बताए ।

नेपाली काँग्रेस कास्की क्षेत्र नम्बर ३ का सचिव खेमलाल बाँस्तोलाको सँयोजकत्वमा भएको कार्यक्रममा केन्द्रिय प्रशिक्षण उपसमितिका सदस्य विश्वराम बाँस्तोला, जिल्ला सदस्य अमरबहादुर कार्की, प्रदेश नम्बर ३ ख का प्रचार समितिका सँयोजक विष्णु क्षेत्री, पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २५ का निर्वाचन परिचालन कमिटि सँयोजक दानबहादुर थापा, शिक्षक भोलानाथ पौडेल लगाएतले बोलेका थिए । कार्यक्रमलाई शिक्षक संघ कास्कीका सचिव राजु क्षेत्रीले संचालन गरेका थिए ।

शारदा सराङकोटमा घरदैलो गर्दै

नेपाली काँग्रेसको तर्फबाट कास्की क्षेत्र नम्बर ३ प्रदेश ‘क’मा उम्मेदवारी दिएकी शारदा पौडेल शनिबार सराङकोटबासीको घरदैलोमा पुगेकी छन् । उनले त्यहाँ पुगेर विकास र सम्बृद्धिसँगै दिगो शान्ति र स्वतन्त्रताको लागि काँग्रेसको पक्षमा भोट हाल्न अपील गरिन् ।

सराङकोटको विकासमा आवश्यक सम्पूर्ण पुर्वाधार निर्माणका लागि आफू तयार भएको उनले त्यहाँका मतदाताहरुसँग प्रतिबद्धता जनाईन् । उनले सराङको समग्र विकासका लागि आवश्यक सडक संजालको विस्तार प्रकृयालाई आफूले पहिलो प्राथमिकतामा राखेर काम गर्ने वचन दिईन् । त्यो सँगै पर्यटकीय हिसाबले प्रचुर संभावना रहेको सराङकोट क्षेत्रको पर्यटन प्रबद्र्धनतर्फ पनि आफ्नो विशेष जोड रहने उनले बताईन् ।

अगुवा कार्यकर्ता भेला

नेपाली काँग्रेस चुनाव प्रचार समिति क्षेत्र नं १ ‘ख’ ले शनिवार अगुवा कार्यकर्ता भेला गरेको छ।
कार्यक्रममा निर्वाचनमा पार्टीले निर्वाह गर्नुपर्ने भुमिका बारेमा छलफल भएको थियो।

कार्यक्रममा कास्की काँग्रेसका सदस्य नवीन सिग्देल, मादी गाउँपालिका प्रमुख देवीजङ्ग गुरुङ, प्राध्यापक तथा शिक्षक होमनाथ पौडेल, गजेन्द्र च्वाँई, विश्वराज आचार्य लगायतले बोलेका थिए।

निर्वाचन परिचालन समितिकी संयोजक सरस्वती गुरुङको अध्यक्षतामा भएको कार्यक्रम बुथ व्यवस्थापन समितिका संयोजक राम बरालले स्वागत र क्षेत्र नं १ का सचिव कृष्ण कोइरालाले संचालन गरेका थिए।