वाम गठबन्धनलाई मत हालेर जिताउनुस् : खनाल


इलाम – नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले निर्वाचनपछि आफ्नो दायित्व विकास निर्माण हुने बताएका छन् ।

इलामको सन्दकपुर गाउँपालिकास्थित देउरालीमा शुक्रबार भएको चुनावीसभामा उनले संविधान निर्माणमा लामो समय खर्चनु परेकाले अब भने मुख्य एजेण्डा नै विकास निर्माण राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

 

इलाम क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका वरिष्ठ नेता खनालले अबको एकमात्र सम्भावना वाम गठबन्धन मात्र रहेकाले यो गठबन्धनलाई नै निर्धक्क भएर भोट हाल्न सबैमा अनुरोध गरे । ‘वाम गठबन्धनलाई मत हालेर जिताउनुस्, सन्दकपुर गाउँपालिकाको पूर्वाधार विकास गर्ने जिम्मा मेरो भो’, खनालले भने ।

संयुक्त वाम गठबन्धनका संयोजक याम राईको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका कार्यवाहक जिल्ला अध्यक्ष भक्त केसी र उपसचिव उमेश गुरुङलगायतले बोलेका थिए ।