करको दायरामा ल्याउनको लागि विशेष कार्यक्रम संचालन गरिने


पोखरा – आन्तरिक राजश्व कार्यालय पोखराका प्रमु्ख कर अधिकृत केशवकुमार उप्रेतीले कर प्रशासनले उद्योगी÷व्यवसायीलाई अनावश्यक दुृःख नदिने तर कर नतिर्नेहरुलाई कानून अनुसार कसैलाई छुट पनि नदिने बताउनु भएको छ ।

पोखरा उद्योग वाणिज्य संघले बुधबार आन्तरिक राजश्व कार्यालय पोखरामा आउनु भएका नवआगन्तुक प्रमुख कर अधिकृत उप्रेतीकै स्वागत तथा सम्मान कार्यक्रममा बोल्द नेपाल सरकारले उद्योगी÷व्यवसायीलाई विश्वास गरेर स्वयं कर निर्धारणको अधिकार दिएको बताउँदै उहाँले पैसा कमाएपछि त्यसको स्रोत देखाउनु पर्ने वाध्यकारी नियमलाई ध्यान दिन व्यवसायीहरुलाई आग्रह पनि गर्नुभयो ।

कास्की जिल्लाले देशको कुल राजश्वमा करिब एक प्रतिशतको मात्र योगदान गरेको चर्चा गर्दै प्रमुख कर अधिकृत उप्रेतीले यहाँका होटलहरुले कम राजश्व तिरेको जिकिर समेत गर्नुभयो । ‘यहाँबाट मूल्य अभिवृद्धि कर( भ्याट) मा थोरै मात्र योगदान छ,यहाँका १७ वटा मात्र होटलले एक लाखभन्दा बढी भ्याट तिर्छन्, त्यो पनि ५ लाखभन्दा बढी छैन’, उहाँले भन्नुभयो,‘लेकसाइडभर पर्यटक भरिभराउ देखिन्छन्, यहाँका होटल व्यवसायीलाई अनुगमन नपुगे जस्तो छ ।’

उहाँले दायरा बढाउँदै करको दायरामा नआएका व्यवसायीलाई पनि करको दायरामा ल्याउनको लागि विशेष कार्यक्रम संचालन गरिने जानकारी पनि दिनुभयो । पोके व्यापारी नियन्त्रणको लागि तत्काल प्रभावकारी कदम चालिने बताउनुभयो ।

कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले फुटपाथको अनधिकृत व्यवसाय तथा पोके व्यापारीका कारण कर तिरेर व्यवसाय गर्नेहरु मर्कामा परेको बताउनुभयो । कर बुझाउनु नागरिकको कर्तव्य भएको उल्लेख गर्दै उहाँले पोखरा उद्योग वाणिज्य संघ सदैव सामाजिक उत्तरदायित्वपूर्ण व्यवसायको पक्षमा रहेको जिकिर गर्नुभयो । समग्र पोखराको विकासमा संघले पु¥याएको योगदानबारे संक्षिप्त चर्चा गर्दै उहाँले व्यवसाय मैत्री कर प्रशासनलाई सघाउन आफूहरु सदैव तयार रहेको बताउनुभयो । संघका निवर्तमान अध्यक्ष विन्दुकुमार थापाले आन्तरिक राजश्व कार्यालयलाई व्यवसायी मैत्री वातावरण निर्माणको लागि आग्रह गर्नुभयो ।

पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रविन्द्रबहादुर प्रजुको धन्यवाद तथा महासचिव दामु अधिकारीको संचालन रहेको कार्यक्रममा बोल्ने व्यवसायीहरुले करको दायरामा नआउने व्यवसायीहरुलाई नियन्त्रण गर्नु पर्ने, कर प्रशासनबाट व्यवसायीहरुलाई अनावश्यक दुःख दिन नहुने लगायतका सुझावहरु दिनुभएको थियो ।