काठमाडौं – दोस्रो चरणको मतदान सम्पन्न भएपछि मात्र पहिलो चरणको मतगणना सुरु हुने भएको छ। यसले गर्दा पहिलो चरणमा मतदान गरेका मतदाता र उम्मेदवारले परिणामका लागि भने १० दिन कुर्नुपर्ने भएको हो ।
१० मंसिरमा ३१ जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने तालिका छ । २१ मंसिरमा थप ४६ जिल्लामा मतदान हुनेछ । ७७ वटै जिल्लामा निर्वाचन सकिएपछि मात्र एकसाथ मतगणना थाल्ने तयारी आयोगले गरेको हो ।
जनशक्तिको कमि र दोस्रो चरणको चुनाव प्रभावित हुने भएकाले मतगणना एकैपटक गर्न लागिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
यसअघि स्थानीय तहको निर्वाचनमा भने मतदान सकिएलगत्तै मतगणना सुरु भएको थियो । त्यतिबेला पहिलो, दोस्रो र तेस्रो चरणका निर्वाचनको अवधि लामो थियो ।
३१ वैशाखमा पहिलो, १४ असारमा दोस्रो र २ असोजमा तेस्रो चरणको चुनाव भएको थियो । प्रतिनिधिसभा र प्रदेशसभा चुनावको दुई चरणको अवधि १० दिन मात्र छ । सोही कारण सबै पक्षलाई विचार गरेर मतगणना एकैपटक गर्न लागिएको ढकालले बताए ।