कांग्रेसकै शीर्ष नेता रामचन्द्र पौडेल सर्वसम्मत हुन सकेनन्


पोखरा –  प्रतिनिधिसभाको निर्वाचनका लागि कांग्रेस शीर्ष नेता रामचन्द्र पौडेल सर्वसम्मत हुन सकेनन् । कांग्रेस सभापति लगायत अन्य पार्टीका शीर्ष नेताहरु जिल्लाबाट सर्वसम्मत रुपमा सिफारिस भएपनि  पौडेल भने सर्वसम्मत हुन सकेनन् ।

तनहुँ क्षेत्र नम्बर १ बाट चुनाव लड्ने तयारी गरेका पौडेललाई पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले त चुनौति नै दिइसकेका छन् । जोशीले आफूले टिकट नपाएको खण्डमा पौडेल कम्पनी नै ध्वस्त बनाइदिने चेतावनी समेत दिएका छन् ।

कांग्रेस तनहुँको बुधबारको बैठकले प्रतिनिधि सभा निर्वाचनका लागि क्षेत्र नम्बर १ बाट पौडेलसहित केन्द्रीय सदस्य शंकर भण्डारी, गोविन्द भट्टराई, पूर्व सहमहामन्त्री गोविन्दराज जोशी र महिला संघकी पूर्व सभापति शशी आचार्यको नाम केन्द्रमा सिफारिस गरेको छ ।