एमाले र माओवादी र नयाँ शक्तिको एकीकरणको मोहनविक्रमले गरे स्वागत


काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीचको तालमेलको स्वागत गरेको छ । सो पार्टीका महामन्त्री मोहनविक्रम सिंहले तालमेलको घोषणा गरेका दलहरुमा सैद्धान्तिक र राजनीतिक चरित्रमा आधारभूत भिन्नता नरहेकाले उनीहरू एक अर्काबाट अलग हुनुभन्दा आपसमा मिल्नु नै सही हुने भन्दै उनीहरूको कदमलाई सकारात्मक रूपमा लिएको बताएका छन् । सिंहले बुधबार एक विज्ञप्ति जारी गर्दै एमाले र माओवादी र नयाँ शक्तिको एकीकरणले नेपालमा कम्युनिष्ट एकीकरणमा मद्दत नपुग्ने भन्दै त्यसलाई वास्तवमा कम्युनिष्टहरूको एकीकरण भन्न नसकिने बताएका छन् ।

सिंहले भनेका छन् ‘किनभने त्यो एकीकरणमा सामेल भएका सबै पक्षहरूको माक्र्सवादी–लेनिनवादी सिद्धान्तहरूबाट विचलन भैसकेको छ र उनीहरूले दक्षिणपन्थी दिशा लिएका छन् । त्यो अवस्थामा त्यसले क्रान्तिकारी कम्युनिष्ट पार्टीको निर्माणमा मद्दत पुराउने कुराको आशा गर्न सकिन्न । तर त्यो विषयमा बेग्लै सैद्धान्तिक छलफल चलाउने विचारलाई सुरक्षित राख्दै देशको अहिलेको राजनीतिक स्थितिमा त्यो एकीकरणले सकारात्मक महत्व राख्दछ भन्ने हाम्रो मत छ । ’

सिंहले ओली नेतृत्वको सरकारबाट हटेर माओवादी केन्द्रले नेपाली काङ्ग्रेससित मिलेर गठबन्धन सरकारको निर्माण गरेकोमा गम्भीर प्रकारको गल्ती भनेका छन् । ‘हामीले त्यो बेला नै त्यसको आलोचना गरेका थियौ र त्यस प्रकारको कदमबारे पुनर्विचार गर्न प्रचण्डलाई सुझाव दिएका थियौ ।’ सिंहले जारी गरेको विज्ञप्तिमा भनेका छन् ।

आगामी प्रदेश वा संसदीय चुनावमा उनीहरूसित तालमेलका लागि आफ्नो पार्टी खुला रहेको पनि महामन्त्री सिंहले स्पष्ट पारेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले सप्तरीको तिलाठीका देवनारायण यादव र उनका छोरा समेतलाई सीमावर्ती भारतीय सशस्त्र बलद्वारा गिरफ्तारीको विरोध गर्दै उनीहरूको शीघ्र रिहाइको माग पनि गरेको छ ।