योग गुरु रामदेवका औषधि गुणस्तरहीन,बजारबाट फिर्ता लिन आदेश


काठमाण्डौ – योग गुरु रामदेवका ६ वटा आयुर्वेदिक औषधिलाई सरकारले गुणस्तरहीन ठहर गर्दै बजारबाट फिर्ता लिन आदेश दिएको छ ।
रामदेवको दिव्य फार्मेसी, उत्तराखण्ड भारतबाट उत्पादित पतञ्जली आयुर्वेद केन्द्रबाट बिक्रीविरण हुने ६ वटा औषधि गुणस्तरहीन ठहर भएको हो । आजको कान्तिपुर दैनिकमा खबर छ ।

दुई साता अघि पनि रामदेवका ४ वटा औषधि गुणस्तरहीन ठहर भएपछि सरकारले फिर्ता लिन आदेश दिएको थियो ।

औषधि विभागले आवलाचुर्ण, दिव्य गैसहर चूर्ण, बकुची चूर्ण, त्रिफला चूर्ण, अश्वगन्धा चूर्ण र अदित्य चूर्ण ‘माइक्रोबियल’ परीक्षणमा सफल नभएको जनाउँदै फिर्ता लिन आदेश दिएको हो ।

‘हामीले बजार अनुगमनको क्रममा संकलन गरेको औषधिको नमुना परिक्षण गर्दा गुणस्तरहिन पाइए पछि फिर्ता लिन आदेश दिएका हौं,’ डीडीएका फार्मेसी अधिकृत राजेश श्रेष्ठले भने, ‘यो औषधिहरु सिफारिस, विक्रिवितरण र प्रयोग समेत नगर्न/नगराउन सबैलाइ अनुरोध गर्छौं ।’

डिडिएले एएमसी०६७ ब्याच नम्बरको जनवरी २०१६ मा निर्मित एवं डिसेम्बर २०१७ मा म्याद नाघ्ने आवला चुर्ण, ए–जीएचसी१३१ ब्याच नम्बरको मार्च २०१६ मा निर्माण गरिएको र सन २०१८ को परवरीमा म्याद नाघ्ने दिव्य गैसहर चुर्ण, विकेसी ०११ ब्याच नम्वरको डिसेम्बर २०१५ मा उत्पादित एवं नोभेम्वर २०१७ मा म्याद नाघ्ने बकुची चुर्ण, ए–टीपीसि१५१ व्याच नम्बरको फरवरी २०१६ मा उत्पादित एवं जनवरी २०१८मा म्याद नाघ्ने त्रिफला चुर्ण, एजीसी ०८१ व्याच नम्बरको सन २०१६ को जनवरीमा उत्पादित र डिसेम्बर २०१७ मा म्याद नाध्ने अश्वगन्धा चुर्ण, डीवाइसी ०५९ व्याच नम्बरको जनवरी २०१६ मा उत्पादित र डिसेम्वर २०१७ मा म्याद नाघ्ने अदिव्य चुर्णलाई बजारबाट फिर्ता गर्न आदेश दिइएको हो ।