उम्मेदवारका चिन्ह अंकित टिसर्ट, टोपी र झोला वितरण रोक्न निर्वाचन आयोगको निर्देशन


काठमाडौं – चुनावी प्रचारका क्रममा राजनीतिक दल र उम्मेदवारका चिन्ह अंकित टिसर्ट, टोपी र झोला वितरण कार्य तत्काल रोक्न निर्वाचन आयोगले निर्देशन दिएको छ। आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ ।

राजनीतिक दल र उम्मेदवारका चिन्ह अंकित टिसर्ट, टोपी र झोला वितरण गर्नु निर्वाचन आचारसंहिता विपरित भन्दै सम्बन्धित दल र उम्मेदवारलाई आयोगले ध्यानाकर्षण गराउँदै यस्तो निर्देशन दिएको हो।

‘विभिन्न राजनीतिक दलहरू तथा उम्मेदवारले निर्वाचन चिन्ह अंकित टिसर्ट, टोपी र झोला लगायतका जिन्सी समान मतदातालाई वितरण गरेको भन्ने बुझिन आएको हुँदा त्यस्ता कार्य निर्वाचन आचारसंहिता अनुकूल हुने नभएकोले राजनीतिक दलहरू तथा उम्मेदवारहरूलाई त्यस्ता प्रकृतिका जिन्सी सामान वितरण नगर्न नगराउन जानकारी गराउने र सम्बन्धित जिल्लाका मुख्य निर्वाचन अधिकृत/निर्वाचन अधिकृत/प्रमुख जिल्ला अधिकारी तथा आचारसंहिता अनुगमन गर्ने अधिकारीलाई तत्सम्बन्धमा अनुगमन गरी त्यस्ता आचारसंहिता विपरितका कार्य रोक्न निर्देशन दिने,’ निर्वाचन आयोगको निर्णयमा भनिएको छ।