कार्यभार सम्हालेको १० दिनमै थुप्रै धम्की आए : सुन्दर कुमार श्रेष्ठ


पोखरा – पोखरा उपत्यका नगर विकास समितिका नवनियुक्त अध्यक्ष सुन्दर कुमार श्रेष्ठले कार्यभार सम्हालेको १० दिनमै आफुलाई थुप्रै धम्की आएको खुलासा गरेका छन् । आफ्नो कार्यक्षेत्र भित्र रहेर काम गर्ने क्रममा थुप्रै धम्कीपूर्ण टेलिफोन आएको र मापदण्डको विषयमा आफ्नै घर समेत भत्काउने सम्मको चेतावनी आएका उनले बताए ।

नेपाल पर्यटन ब्यवसायी संघले आइतवार गरेको सम्मान कार्यक्रममा उनले भने ‘मैले कार्यभार सम्हालेको १० दिन भयो होला , यो विचमा गाली गर्ने फोन पनि आए । तर म डराउदिन । मलाई कुनै लोभ लालच पनि छैन र डर पनि छैन । कसैले धम्क्याउदैमा म डराउदिन । ’ आफ्नो कार्यकालमा पोखरा र पोखरेलीको हितका लागि काम गर्ने प्रतिबद्धता जनाउदै उनले त्यसका लागि कसैको डर, धम्कीले पछि नहट्ने अठोट ब्यक्त गरे ।

मापदण्डको विषयलाई लिएर आफ्नै घर समेत भत्काउने धम्की आएको उनले खुलासा गरे । ‘मापदण्डको कुरामा धम्की आउन थालेको छ, ’ उनले भने ‘ मेरै घर समेत भत्काउछु भन्ने सम्मको कुरा कुरा गरे । ’ २० बर्ष सम्म पोखरा एउटै मापदण्डले नचल्ने भन्दै उनले समयको आबश्यकता अनुसार परिमार्जन पनि हुनुपर्ने र त्यसका लागि सम्बन्धित सबैसँग छलफल गरी अघि बढ्ने प्रतिबद्धता जनाए । मापदण्ड विपरित भए आफ्नै घर पनि भत्काउन तयार रहेको श्रेष्ठले बताए ।

आफु डोजर लगाउने पक्षमा नरहेको स्पष्ट पार्दै अध्यक्ष श्रेष्ठले त्यो दिन नआउला भन्न पनि नसकिने चेतावनी दिए । नगर विकास समितिको अध्यक्ष वापत आफुले प्राप्त गर्ने सम्पूर्ण सेवा सुविधा नलिने समेत उनले घोषणा गरे ।

श्रेष्ठ मन्त्रीस्तरिय बैंठकको निर्णय अनुसार गत जेठ ९ गते पोखरा उपत्यका नगर विकास समितिको अध्यक्ष नियुक्त भएका थिए ।

कार्यक्रममा पर्यटन ब्यवसायीहरु सोम थापा, अग्नी कंडेल, निलकण्ठ शर्मा, रामजी कुँवर, गोविन्दराज पहारी लगायतले पर्यटन क्षेत्रबाट नगर विकास समितिको अध्यक्ष भएकोमा श्रेष्ठलाई बधाई दिदै सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए ।