गोरखा नगरपालिका ७ बतासेकी मनिता बस्नेतलाई सोमबार भरतपुरमा बस्ने भाइको बिहेको टीकाटालो गर्ने समारोहमा नपुगी नहुने थियो । मुग्लिन–नारायणगढ सडक बिहान १० देखि चार बजेसम्म मात्र खुला हुने भएकाले उनी १० नबज्दै मुग्लिन कटेकी थिइन् तर दुर्घटनाका कारण दिनभर सडकमै रल्लेर बस्नुपर्यो । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ।
मुग्लिनबाट झन्डै १५ किलोमिटर परको उक्त सडकमा उनीजस्ता अति जरुरी काममा यात्रा गर्ने सयौं सवारीसाधनका हजारौं यात्रु सोमबार दिनभर सडकमा अलपत्र भए । बिहान सवा १० बजेतिर सडकखण्ड कविलास, घुमाउने सडकमा खसेको पहिरोमा पुरिएर दुईजनाको मृत्यु भएको थियो । ट्रक, ट्यांकर, कार, मोटरसाइकल र मिनीट्रक गरी पाँच सवारीसाधन पहिरोले पुरेको थियो । घटनाका कारण दिनभर सडक अवरुद्ध थियो । सडकभरि छरिएका यात्रुले खान त परको कुरा, पानीसमेत पाएनन् ।
बीचबाटोमा अलपत्र परेका वीरगन्ज महानगरपालिका २ का मोहम्मद गयासुद्दिनलाई एकातिर काम बितेको चिन्ता, अर्कातिर आँखै अगाडि दुईजना चेपिएर मरेको दृश्यले विह्वल बनाएको थियो । ‘सधैं प्लेनबाट हिँड्थें । आज बिहानै काठमाडौंबाट मोटरमा आएँ’, चिन्ता, भोक, तिर्खा र थकाइले लखतरान परेका उनले भने, ‘हामी तीन किलोमिटर हिँडेर यहाँ आएर बसेका छौं । एकातिर मान्छे मरेका छन् । कोही घाइते भएका छन्, अर्कातिर हजारौं यात्रु सडकमा मरेजस्तै भएका छन् ।’
प्रहरीप्रशासन खटे पनि यात्रुले पाएको सास्ती जस्ताको तस्तै रहेको उनको भनाइ छ । ‘यता तीन किलोमिटरसम्म जाम छ, उता तीन किलोमिटर जाम छ । सडकमा चाउचाउसमेत खान पाइएको छैन । बाटोमा खाउँला भनेर बिहान छ बजे हिँडेको तर बीच बाटोमै यस्तो अलपत्र भइयो । खाना, पानी केही पाएको छैन, बिचल्ली भयो’, उनले भने, ‘बालबच्चा छन्, बूढाबूढी छन् । कति बिचल्ली छ हेर्नुस् ।’ सर्वसाधारण नागरिकले भोगेको सकसलाई सरकारले वास्ता नगरेकोमा उनले दुःख व्यक्त गरे ।
उक्त सडकखण्डको स्तरोन्नतिको काम ज्यादै सुस्त गतिमा भएकाले सधैं जोखिमपूर्ण यात्रा गर्नुपरेकोमा सवारीचालक तथा मजदुरको चिन्ता छ । ‘जता पनि ढुंगा झरिरहन्छ । छल्दै हिँड्नुपर्छ’, लमजुङबाट नारायणगढ जाँदै गरेका बसका चालक कृष्ण नेपाली भन्छन्, ‘कहिले मरिने हो भन्ने चिन्ता लाग्छ तर हामी ड्राइभर, डराएको जस्तो देखाउनु पनि भएन । मनभित्र त डर हुन्छ नि ! आफैं तनावमा भयो भने झन् दुर्घटना होला भन्ने डर ।’
यो सडकमा धेरै थोत्रा गाडी चल्ने भएकाले पनि दुर्घटना धेरै हुने गरेको उनको भनाइ छ । ‘बाटो साँघुरो छ । ड्राइभरको लापारबाही उस्तै छ’, उनी भन्छन्, ‘सडक यस्तो छ । इन्डियन गाडी धेरै ठुल्ठूला आउँछन् । सबैलाई उछिन्न हतार हुन्छ अनि दिनहुँ दुर्घटना हुन्छ ।’ प्रहरी प्रशासनले ड्राइभरलाई दुःख दिने तर बाटोको अवस्था सुधार गर्न कुनै पहल नगर्ने गरेको भन्दै उनले दुःख व्यक्त गरे ।
साँढे पाँच बजे बेसीसहरबाट नारायणगढ जान लागेका अर्का चालक राजेन्द्र मिजारले बाटो झन् कच्ची भइरहेकोमा चिन्ता व्यक्त गरे । ‘खासमा एक किलोमिटर भत्काउने, बनाइहाल्ने गर्नुपर्ने हो’, उनी भन्छन्, ‘तर एकैचोटि ३६ किलोमिटर भत्काएर यो अवस्था पारेको छ । भत्काएरै भ्याएको छैन, बनाउनेचाहिँ कहिले हो ? इन्जिनियरलाई हामीले सिकाउने त होइन तर हेर्नुस् तहतह बनाएर गरागरा पो भत्काउनुपर्छ, सीधा भत्काइएको छ । हेभी गाडी हिँड्दा पनि थर्किएर पहिरो आउँछ । माथि बाख्रा हिँड्दा पनि ढुंगा खस्छ ।’
बाटो मर्मत नहुँदा समस्या भएकोमा उनको चिन्ता छ । ‘यो बाटोमा दसौं हजार गाडी गुड्छन् । एउटा सानो खाल्डो पर्यो भने भोलिपल्टसम्म दस हजार गाडी गुड्दा धेरै ठूलो खाल्डो भइसकेको हुन्छ तर भनेको बेला मर्मत हुँदैन’, उनी भन्छन्, ‘दिनदिनै दुर्घटना भइरहन्छ । अझै छिट्टै बन्ने सम्भावना छैन ।’
बाटो धेरै जोखिम भएको र काम सुस्त गतिमा भइरहेकोमा प्रहरीलाई पनि उस्तै सास्ती खेपिरहनुपरेको छ । ‘दैनिक शान्तिसुरक्षा, अपराध, अनुसन्धानको अतिरिक्त थप चुनौती खेपिरहनुपरेको छ’, मुग्लिन इप्रकाका प्रहरी निरीक्षक योगेन्द्र हमाल भन्छन्, ‘नियमित कामका लागि नै जनशक्ति अभाव छ ।
झन् यो जोखिम सडकमा जनशक्ति खर्च भइरहेको छ ।’ बन्दका बेला विभिन्न समस्या देखाएर गाडी कटाइदिनू भन्नेहरूले पनि हैरान पार्ने गरेको उनको दुखेसो छ ।लामो समयदेखि बाटो स्तरोन्नतिको कामले मुग्लिन बजार तथा सडककिनारका साना बजारहरूमा धुवाँ र धुलोको चर्को समस्या रहेको स्थानीय बासिन्दा बताउँछन् ।