पोखरा – राष्ट्रिय पुननिर्माण प्राधिकरणले कास्कीको अन्नपुर्ण गाउँपालिकाको लुम्लेबाट निजी आवास पुननिर्माणका लागी राहत वितरण सुरु गरेको छ ।
बिनासकारी भुकम्प गएको दुइ वर्ष पुग्न लाग्दा नेपाल सरकारले भुकम्पबाट कम प्रभावित जिल्लाहरुमा निजी आवास पुननिर्माणको लागी अनुदान स्वरुप पहिलो किस्ताको रकम बाड्न बल्ल सुरु गरेको हो। भुकम्प कम प्रभावित १७ जिल्लाहरुका भुकम्प प्रभावित लाभग्राहीहरु संग निजी आवास पुननिर्माण अनुदान सम्झौता तथा प्रथम किस्ताको रकम बितरण गर्ने कार्य कास्कीबाट शुरु गरेको हो ।
नीजि आवास पुर्न्निर्माण अनुदान सम्झौता तथा पहिलो किस्ता वितरण कार्यक्रममा राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलले अन्नपुर्ण गाउँपालिकाका बरे विकलाई पहिलो किस्ताको रकम प्रदान गरेका थिए । सो अवसरमा प्राधिकरणले कास्कीको लुम्लेका ५० जना भुकम्प प्रभावितहरुलाई ५० हजार रुपैयाको चेक हस्तान्तरण गरिएको थियो । भूकम्पबाट घर पुर्ण क्षती भएहरुलाई सरकारले ३ किस्तामा ३ लाख रुपैया दिने छ । सरकारले भूकम्पले क्षति पु¥याएका संरचनाबारे गरेका सर्बेक्षणबाट कास्कीमा १० हजार ७ सय ४९ घरधुरीलाई अनुदान दिने निर्णय भएको छ ।
पहिलो चरणमा कास्कीका २ सय ५० जनालाई अनुदानको पहिलो किस्ता दिइने सो अवसरमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलले वताए । घर बनाउदा भूकम्प प्रतिरोधात्मक बनाउनु पर्ने भन्दै पोखरेलले भूकम्प प्रतिरोधात्मक नभएमा सरकारले अन्य किस्ताको रकम रोक्नुका साथै कार्वाही समेत गर्ने बताए । हालसम्म भूकम्पले अति प्रभावित १४ जिल्लामा मात्रै पुनर्निर्माणको पहिलो किस्ताको रकम वितरण हुँदै आएको थियो ।
कम प्रभावित जिल्लामा कास्की सहित तनहुँ, पर्वत, लम्जुङ, स्याङजा, पाल्पा, गुल्मी, बाग्लुङ, म्याग्दी, चितवन, नवलपरासी, अर्घाखाँची, सोलुखुम्बु, खोटाङ, भोजपुर, संखुवासभा र धनकुटा छन् । सो अवसरमा संघिय मामिला तथा स्थानिय विकास मन्त्रालय भूकम्पीय आवास पुर्न्निर्माण आयोजनाका उप निर्देशक नारायण श्रेष्ठले घरका विभिन्न डिजाइन मध्ये रोजेर भूकम्प प्रतिरोधात्मक घर नै बनाउनु पर्ने बताए । कार्यक्रममा सभासद् सिता गिरी, कास्कीका प्रमुख जिल्ला अधिकारी हरी प्रसाद मैनाली, स्थानीय विकास अधिकारी बलराम ढकाल लगाएतले अन्य घर घुरीलाई पनि छिटै रकम आउने बताएका थिए । भुकम्पका कारण १४ जिल्लामा बढि प्रभावित बनाएको भने १७ जिल्लामा कम प्रभावित पारेको थियो ।