पोखरा- उपप्रधान एबं संघिय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाले चुनाव स्थगित गर्ने वा सार्ने सर्तमा कुनैपनि दलसँग नयाँ सहमति सम्झौता नहुने स्पष्ट पारेका छन् । पोखरामा शनिवार आयोजित कार्यक्रममा उनले बैशाख ३१ गते चुनाव गर्ने सर्तमा मात्र नयाँ सहमति वा सम्झौता हुनसक्ने बताए ।
चुनावमा सबैको सहभागिता कायम गर्न सरकार हर सम्भब प्रयास गरिरहेको उपप्रधानमन्त्री थापाले बताए । चुनाव संघारमै आइरहेका अबस्थामा असन्तुष्ट र आन्दोलनरत राजनीतिक दलहरुलाई पनि सहभागी हुने विश्वासनिय वाताबरण बनाउन सरकार प्रत्यत्नशिल रहको उनले उल्लेख गरे ।
मन्त्री थापाले अब चुनाव निश्चित रुपले हुने भएकाले चुनावनै हुदैनकी भन्ने आशंका नगर्न सबैसँग आग्रह समेत गरे । स्थानीय तहमा निर्वाचनको सबै तयारी गर्न उनले निर्देशन समेत दिए । चुनावलाई कसरी सफल बनाउने र त्यसका लागि बढी भन्दा बढीको सहभागिता कसरी गराउने भन्नेमा ध्यान दिन उनले आग्रह समेत गरे ।
अर्को प्रशंगमा उनले हाल कायम गरिएका गाउँपालिका मध्ये केहिमा केन्द्र सम्बन्धि विवाद देखिएको भएपनि अहिलेको ब्यवस्था अस्थायी भएकाले नयाँ निर्वाचित जनप्रतिनिधिले समस्या समाधान गर्ने विश्वास दिलाए । नेपालको संघियता सफलतापूर्वक कार्यन्वयन गर्न सकेमा अबको १० बर्षभित्र नेपालको सामाजिक, राजनीतिक रुपान्तरणमा अभूतपूर्व परिवर्तन आउने उनको विश्वास छ ।
नयाँ संरचना अनुसार तत्काल कर्मचारी ब्यवस्थापन गरी सेवा प्रवाह गर्न नसकिए जनतामा बितृष्णा पैदा हुने उनको ठहर छ । कार्यक्रममा पोखरा स्थित सुरक्षा निकायका प्रमुख, प्रशासनिक निकायका प्रमुख एबं स्थानीय तहका कर्मचारीहरुको उपस्थिति थियो ।कार्यक्रममा स्थानीय विकास अधिकारी बलराम ढकालले कास्कीका चार वटै गाउँ पालिका र महानगरमा कार्यकारी अधिकृत खटिइसेकेको बताए ।