पोखरा – मोफलको सर्वाधिक धनराशी भएको कृति स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कारबाट अन्नपूर्ण पोष्ट दैनिकका प्रधान सम्पादक एवं अग्रज पत्रकार युवराज घिमिरे सम्मानित भएका छन् ।
नेपाल पत्रकार महासंघ कास्कीले सञ्चालन गरेको समाजसेवी तथा उद्योगपति सूर्यबहादुर केसी र प्रेमकुमारी केसीको परिवारद्धारा स्थापित कृति स्मृति पत्रकारीता पुरस्कारबाट पत्रकार घिमिरेलाई शनिबार पोखरामा आयोजित कार्यक्रत्रममा सम्मान गरिएको हो । नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ, सम्मानपत्र र दोसल्ला सहित घिमिरेलाई शनिबार पूर्वसभाषद् एवं उद्योगपति सुर्यबहादुर केसी, पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले सम्मान गरेका हुन् । कार्यक्रममा बोल्दै उद्योगपती केसीले पत्रकार घिमिरेलाई सम्मान गर्न पाउदा खुशी लागेको बताउदै राम्रो प्रतिभा छनोट गरेको भन्दै खुशी ब्यक्त गरे ।
सम्मानित घिमिरे अन्नपूर्ण पोष्ट दैनिकका प्रधान सम्पादक हुन् । यो पुरस्कार पहिलो पटक प्रदान गरिएको हो ।उक्त पुरस्कार निरन्तर २५ वर्ष पत्रकारीता गरिरहेका अग्रज पत्रकारलाई हरेक वर्ष प्रदान गर्ने गरी पुरस्कार स्थापना गरिएको हो । समाजसेवी उद्योगपति एवं पूर्व सभाषद् सूर्यबहादुर केसीले आफना बुबा कृर्ति बहादुर थापाको नाममा उक्त पुरस्कार संचालनका लागी पत्रकार महासंघ कास्कीलाई ११ लाख रुपैयाँको अध्यक्ष कोष स्थापना गरेका हुन् ।
सम्मानित पत्रकार घिमिरेले पत्रकारले समाज परिर्वतन र अन्यायमा परेकालाई न्याय दिलाउन सक्नुपर्ने बताए । उनले कुनै पनि ब्यक्तिले गरेका नकरात्मक कामलाई सच्याउने र समाजमा भएका अन्याय एवं अत्याचारका विषयमा कलम चलाउदै राजनीतिलाई सहि बाटोमा हिडाउने काममा पत्रकारले भुमिका खेल्नुपर्नेमा जोड दिए । कार्यक्रममा पत्रकार बद्रि विनोद प्रतिक, पत्रकार महासंघ कास्कीका निवर्तमान अध्यक्ष रामकृष्ण ज्ञवाली, पत्रकार केशवशरण लामिछाने, पुरस्कार स्थापनाकर्ताका तर्फबाट सन्तबहादुर गुरुङ, प्रकाश केसी, पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखे लगायतले सम्मानित पत्रकार घिमिरेका बारेमा बोलेका थिए ।