श्रवण खनाल /हेल्सिन्की
फिनल्याण्डको आगामी अप्रिल ९ मा हुने स्थानिय निर्वाचनमा,चार नेपालीहरु चुनाव लड्दै छन्। उनीहरु एक आपसमा नभई फरक- फरक पार्टीको प्रतिनिधित्व गर्दै फरक-फरक शहरबाट चुनाबी मैदानमा उत्रिएका हुन्।
फिनल्याण्ड भन्नासाथ धेरै मानिसहरुको जिउ लगलग काम्न थाल्छ। झट्ट सुन्दा माइनस ४०-५० डिग्री सम्म हुने चिसो, ६ महिना घामै देख्न नपाइने देशमा अहिले चुनाबी माहोल ह्ववात्तै बढेको छ। ५४ लाख कुल जनसँख्या रहेको देशमा ३ हजारको हाराहारीमा नेपालीहरु रहेको अनुमान छ। स्थानीय निर्बाचनमा यति धेरै नेपालीहरु उमेद्वारको रुपमा खडा हुँदा यहाँको नेपाली समुदायमा पनि यसपटक झनै चासो बढेको हो ।
बिदेशमा मेहेनती, मिलनसार, इमान्दारको छबी बनाएका नेपालीहरु अब बिदेशी भुमिमा निती निर्माण तह अर्थात् राजनीतिक क्षेत्रमा पनि आफ्नो बाक्लो उपस्थिती जनाउँन सक्रिय बनेको देखिन्छ।
ब्योमा ताम्राकार
फिन्ल्याण्डको राजधानी हेल्सिन्कीबाट उम्मेदवारी दिएकी ब्योमा ताम्राकार नेपालीहरु बिच चिर परीचित नाम हो। बिगत २५ बर्षदेखी फिन्ल्याण्डमा बसोबास गर्दै आएकी ताम्राकारले यहाँका बिभिन्न सामाजिक सँस्थाहरुमा आवद्द हुनुका साथै नेपाली भाषाका शिक्षिका एबम अनुबादकको भूमिका समेत निभाउदै आएकी छिन्।
हेलसिन्की विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेकी उनले स्विडिश पिपुल्स पार्टी बाट उम्मेदवारी दिएकी हुन्। उक्त पार्टी हाल फिन्ल्याण्डमा नाम सुनिएका मध्ये पहिलो हो, जुन १९०६ मा दर्ता गरिएको थियो।
उक्त पार्टी यस अघिको स्थानिय चुनाव र सँसद्को चुनाव दुबैमा सातौँ बरियतामा परेको थियो। अल्पसँख्यक जनता, आप्रबासीका मुद्दामा बढि केन्द्रित उक्त दलबाट उम्मेदवारी दिएकी ब्योमाले पार्टिगत भन्दा पनि ब्यक्तिगत भोट बटुल्न चुनाबी प्रचारमा कम्मर कसेर लागेकी छिन्।
बिभिन्न क्षेत्रको प्रतिनिधित्व हुने गरी स्वयंसेवक समुह गठन गरेर, नेपाली, बङ्गाली,भारतीय एबम अन्य प्रबाशी मतदाताहरुसँग भेट्घाट एबम परामर्शमा ब्यस्त रहेकी ताम्राकारले आफूले जितेको खण्डमा फिनिश श्रमबजारमा समान अवसर सिर्जना, आप्रवासीहरुका लागि तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रम, नगरपालिकाको आवास सुविधामा आप्रवासीहरुको समान पहुँच लगायत एजेण्डाहरुमा काम गर्ने बताएकी छिन्।ब्योमा ताम्राकारको चुनाबी नम्बर २२८ रहेको छ
सन्तोषसागर सिलवाल
सन्तोषसागर सिलवाल अर्थात लीला सिलवाल बिगत १५ बर्ष देखि फिन्ल्याण्डमा बस्दै आएका भएका अर्का एक नेपाली युवा हुन्। उनले पनि आउँदो स्थानिय चुनावमा आफ्नो उम्मेदवारी दिएका छन्। गैरआबासीय नेपाली संघ फिनल्याण्ड गठन गर्नमा महत्वपूर्ण भूमिका निभाएका सिलवालले राष्ट्रिय एकीकृत पार्टी (कोकोमुस ) बाट एस्पो नगर परिषदमा आफ्नो उम्मेदवारी दिएका हुन्।
बिगत ७ बर्ष देखि उक्त पार्टिमा आवद्द सिलवाललाई यस अघिको निर्वाचनमै टिकेट दिइएको भएता पनि उनले आफूलाई अझै राजनैतीक रुपमा परिपक्क पार्नु उचित ठानेर पार्टीमा काम गर्दै सघाएका थिए। पारिवारिक मान्यता, ब्यक्तिगत अधिकारहरु एबम उद्यमशिलता जस्ता एजेन्डाहरु उनको दल कोकोमुसले लिएको छ।
हाल वहाँ नगर परिषदको शिक्षा तथा बालबिकास कार्य समितिमा आफ्नो भूमिका निर्वाह गरिरहका छन्।सिलवाल आवद्ध पार्टी फिन्ल्याण्डमा सन् १९१८ मा गठन गरिएको थियो जुन यस अघिको स्थानिय निर्वाचनमा पहिलो र सँसदिय निर्वाचनमा दोस्रो ठुलो दल रहेको छ। निती निर्माण गर्ने तहमा जिम्मेवारी लिन पाएको खण्डमा फिनिश समाजको बारेमा भित्रै देखि बुझ्ने र भविस्यका दोस्रो पुस्ता वा नेपाली फिनिशहरुको चौतर्फी बिकासको लागि काम गर्न मार्ग प्रशंस्त हुने विश्वाश सिलवालले लिएका छन्।
फिनिश भाषामा माट्रीकुलेशन पास गरेका, अनुबादकको काम समेत गरेका उनले एमबिए अध्ययन पुरा गर्दै आफ्नो जिम्मेवारी उचित तवरले निर्वाह गर्न सक्ने क्षमता देखाएका छन्। ब्यानर , इभेन्ट , ब्यक्तिगत भेटघाट मार्फत आफ्नो प्रचार गरिरहेका सिलवालका लागि स्थानिय फिनिश एबम आप्रबाशी मतदाताहरु उत्तिकै महत्वपूर्ण छन्।उनको चुनाबी नम्बर ९२ रहेको छ।
गोविन्द रिजाल
गेवीन क्षत्रीको नामबाट फिन्ल्याण्डको साँगितिक क्षेत्रमा चर्चा कमाएका अर्का उम्मेदवार हुन् गोविन्द रिजाल। केहि हप्ता पहिला भोईस अफ फिन्ल्याण्डमा दोस्रो चरणमा पुगेका गायक रिजालको वास्तविक नाम समेत धेरै नेपालीलाई थाहा थिएन होला। तर ६२ हजार मात्र जनसंख्या रहेको फिन्ल्याण्डको सानो शहर सेइनायोकीबाट आँउदो चुनावमा उठ्ने आँट गरेका २६ बर्षे यी युवा सो क्षेत्रका प्रबाशी माँझ प्रेरणाका स्रोत बनेका छन् ।
फिन्ल्याण्डको सबैभन्दा पुरानो पार्टी सोसियाल डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार बनेका रिजाल ७ बर्ष देखि फिन्ल्याण्डमा बसोबास गर्दै आएका हुन्। आप्रबाशीहरु, अझ अल्पबिकसित मुलुकका बासिन्दाहरु अति न्युन रहेको उक्त शहरमा निती निर्माण तहमा समेत आफ्नो उपस्थिती हुन सकेमा सामाजिक सेवाका क्षेत्रमा ठुलो सहयोग हुने आशा लिएका छन् ।
बिगतका निर्वाचनहरुमा युवा मतदाताहरु मतदानमा कम सहभागि हुने गरेको तथ्यलाई दृष्टिगत गर्दै रिजालले बिभिन्न फोरम मार्फत यूवा बर्गलाई लक्षित गरेर आफ्नो चुनाबी प्रचार गरिरहेका छन्। उनी आवद्ध पार्टी यस अघिको स्थानिय निर्वाचनमा पहिलो र सँसदिय चुनावमा चौथो बनेको थियो। फिन्ल्याण्ड आएदेखी नै विद्यार्थी सँघ, रेड्क्रस लगायत अन्य सामाजिक कार्यमा लागेका रिजालको राजनैतिक यात्रा युवा पिढी र आप्रबाशीहरुका लागि एउटा सकारात्मक सन्देश बन्नेछ। उनको चुनाबी नम्बर २६० रहेको छ।
अनीता बि.क.
फिन्ल्याण्डको स्थानिय निर्वाचनमा नेपाल चिनाउने अर्की महिला हुन् अनीता बि क। फिन्ल्याण्ड आएको भर्खरै ५ बर्ष पुगेकी अनिता दुई बच्चाकी आमाकी भूमिकाको साथै फिनिश भाषा समेत अध्ययन गर्दै राजनीतिमा लाग्न भ्याएकी छिन्। हरियाली पार्टी (ग्रीन पार्टी) को तर्फबाट कोपियो नगरबाट उम्मेदवारी दिएकी २६ बर्षे अनीताले पहिलो पटक स्कुल पनि फिन्ल्याण्ड आएपछि नै गएकी हुन। रुकुम गोतामकोटमा जन्मेकी निरक्षर अनीता श्रीमानको राम्रो साथ पाएर आज लेखपढ गर्न,फिनिश भाषा बोल्न सक्ने भएर निर्वाचनमा समेत भाग लिन सक्ने भएकी छिन्।
निर्वाचनमा उठ्न हिम्मत दिएका तथा प्रचार प्रसारमा पुरै खटिएका उनका श्रीमान राइमो तुओमानेन पनि लामो समय दलमा नै आबद्द छन्। राइमोले अब यो यात्रा अनिताले पनि पुरा गर्न सक्ने देखेर आफु घर समाल्छु , बच्चालाई टाईम दिन्छु भनेर श्रीमतीलाई चुनावमा उठाएका हुन्।
उनको उम्मेदवारीले उचित अवसर र बातावरण पाएमा नेपाली महिलाहरु जस्तोसुकै भूमिका निभाउन पनि सक्षम छन् भन्ने सन्देश दिएको छ । शिक्षा र बालबालिका हेरचाहमा प्रशस्त लगानी, मिश्रीत समाज जस्ता एजेन्डा लिएको हरियाली पार्टी यस अघिको स्थानिय निर्वाचन र सँसदीय निर्वाचनमा पाँचौ नम्बरमा परेको थियो। अनीताको चुनावी नम्बर २३६ रहेको छ।
नेपालमा स्थानीय चुनाव हुँदै गर्दा,फिनल्याण्डमा आफ्नै रन्को
नेपालमा २० बर्ष पछि स्थानीय निर्बाचनको माहोल तातेको बेला, फिन्ल्याण्डमा पनि आफ्नै चुनाबी रन्को छ। हरेक चार चार बर्षमा हुने स्थानिय निर्वाचनले यहाँ बसोबास गर्ने नेपालीहरुलाई समेत तताएको छ। आउदो बुधवार अर्थात २९ तारिख देखि प्री भोटिङ गर्न पाइने ब्यवस्था समेत छ।
बिदेशमा रहेका मतदाताहरुले पनि दूताबासमा गएर भोट हाल्न पाउने ब्यवस्था गरिएको छ।यस अघिका निर्वाचनमा खासै चासो नराख्ने नेपाली समुदायहरु यो पटक भने आफ्नै उम्मेदवार पाएकोले पनि निकै आतुर देखिन्छन्।
दुई बर्ष देखि फिन्ल्याण्डमा बसोबास गर्दै आएको जुन सुकै बिदेशी नागरिकले पनि मत हाल्न पाउने स्थानिय निर्वाचनमा नेपाली उम्मेदवारहरुको प्रचार प्रसार आशाबादी नै देखिन्छ। सबै नेपाली उम्मेदवारहरु फरक फरक शहरबाट उठेकोले एक आपसमा कुनै मनमुटाव पनि छैन।
स्थानिय मतदाताहरुले पार्टीले उठाएको चुनाबी एजेन्डाको आधारमा मत हाल्ने गर्छन् तर आप्रबासी समुदायमा भने आ आफ्नो उपस्थिती पनि महत्वपूर्ण हुने भएकोले पार्टीगत भन्दा पनि ब्यक्तिगत रुपमा मत दिने गरेको पाईन्छ जुन परीपाटिले यस्पाली नेपाली उम्मेदवारलाई पनि फाईदा पुग्ने देखिन्छ।