मानव अधिकारका सवालमा गम्भिर बन्नु पर्नेमा जोड


पोखरा- मानव अधिकारको आधारभूत उपयोग समेत कतिपयले व्यवहारमा गर्न नसकेको प्रति चिन्ता जनाउँदै यसतर्फ सरोकारवालाको ध्यानाकर्षण गराईएको छ। अब आधारभुत आवश्यकता जन्मसिद्ध अधिकार भएजस्तै शिक्षा, स्वास्थ्य, सुरक्षा, रोजगारसम्मका अधिकारका सवालमा राज्य गम्भिर बन्नुपर्नेमा जोड पनि दिईयो ।पोखरामा शुक्रबार स्वयंसेवी मानवअधिकार रक्षक सञ्जाल नेपाल र पोखरा उपत्यका वृहत सफाई अभियानले आयोजना गरेको मानव अधिकारको वर्तमान अवस्था र सरोकारवालाको भूमिका विषयक अन्तक्र्रिया एवं पत्रकार सम्मान कार्यक्रममा वक्ताहरुले यस कुरामा जोड दिएका हुन् ।

कार्यक्रममा अवधारणापत्र प्रस्तुत गर्दै मानवअधिकारकर्मी खगराज आचार्यले मानवअधिकारको अवस्था, यस सम्बन्धी अन्तर्राष्ट्रिय दस्तावेजहरु, मानव अधिकारको वर्गिकरण, सरोकारवालाको भूमिका, नागरिकका कर्तव्य लगायतका बारेमा चर्चा गरे । उनले मानव अधिकारको उल्लंघनका दोषीले उन्मुक्ति पाएमा दण्डहिनता बढ्ने उल्लेख गरे । उनको अवधारणापत्रमाथि शिक्षा, स्वास्थ्य, सुरक्षा, महिला, बालबालिका एवं सञ्चार क्षेत्रका व्यक्तिहरुले टिप्पणी गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी एवं कार्यालयका सुचना अधिकारी गुरुदत्त ढकालले मानव अधिकार उल्लंघनका घटनामा संलग्नले कानुनअनुसार दण्डित हुने बताए । उनले नागरिक आफ्नो अधिकारप्रति सचेत हुनुपर्नेमा जोड पनि दिए । उनले पीडित तथा कसैलाई आवश्यक परेको खण्डमा सिधै २०६ नं. कोठामा गई भेट्न पनि अनुरोध गरेका छन् ।

पोखरा उपमहानगरपालिका कार्यालयका वरिष्ठ अधिकृत ओमराज पौडेलले नागरिकसँग निकटको सम्बन्ध रहने स्थानीय सरकारप्रति अपेक्षा पनि बढि हुने जनाउँदै नागरिक समाजले वातावरणको क्षेत्रमा खेलेको भूमिकाको प्रशंसा गरे । उनले फिर्के खोला सफाई अभियान सकिएको खण्डमा पुनः फोहोर फाल्नेहरु मानव नभएको भन्दै थोरै पनि नैतिकता नदेखाएको गुनासो गरे ।

सुरक्षा क्षेत्रबाट कास्की प्रहरीका प्रवक्ता डिएसपी खड्कबहादुर खत्रीले हरेकलाई सुरक्षा महत्वपूर्ण अधिकार रहेको र यसतर्फ नेपाल प्रहरी गम्भिर रहेको बताए । उनले हरेक कार्यालयमा महिला सेल रहेको जनाउँदै सामाजिक सञ्जाल दुरुपयोगको क्रम बढेको भन्दै चिन्ता जनाए । शिक्षा क्षेत्रबाट कास्कीका निमित्त जिल्ला शिक्षा अधिकारी दिपेन्द्र ढकालले पढ्न पाउने अधिकार रहेकाले पढ्ने उमेरका सबै बालबालिका घरमा नबसी विद्यालय पठाउन आग्रह गरे उनले मानव अधिकारका सवालमा आफु अत्यन्त संवेदनशील भएको बताए ।

स्वास्थ्य क्षेत्रबाट जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका प्रमुख दिनेश चापागाईंले सरकारबाट निःशुल्क प्राप्त हुने अवसरको पहुँच, उपयोगिता सम्बन्धमा आफु सचेत रहेको र हरेक व्यक्तिको स्वास्थ्य अधिकार प्रमुख हुने बताए । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले मानव अधिकारको संरक्षण तथा सम्वद्र्धनका लागि संचार क्षेत्र र मानव अधिकार पक्षधरहरूको सहकार्य अत्यन्तै जरूरी बताए । उनले समयको परिर्वतनसंगै आएका मानव अधिकारका थप चुनौतिलाई सामना गर्न नेपाली संचार माध्यमहरूले अझ प्रभावकारी भूमिका निर्वाह गर्नु पर्ने आवश्यता महसुस गरिएको जनाए ।

सो अवसरमा नेपाल पत्रकार महासंघको १० औं अधिवेशनबाट निर्वाचित कार्यसमिति पदाधिकारी सदस्यलाई बधाईका साथै सम्मान समेत गरिएको थियो । सञ्जालका सहप्रवक्ता रञ्जन अधिकारी अधिक मतका साथ कार्यसमिति सदस्यमा निर्वाचित भएका थिए । सञ्जालकी संयोजक तारामाया थापामगरको अध्यक्षतामा भएको कार्यक्रममा सहसंयोजक धिरज थापाले स्वागत तथा प्रवक्ता सम्मरबहादुर श्रेष्ठले सञ्चालन गरेका थिए ।