भारतमा पाँच सय र एक हजार दरका नोटमा लगाएको प्रतिबन्धको असर नेपालको आर्थिक वृद्धिमा पनि पर्ने भएको छ। फिच रेटिङ एजेन्सीको एक अध्ययनमा भारतमा लगाइएको प्रतिबन्धको असर नेपालको आर्थिक विकासमा पर्ने उल्लेख छ।
अध्ययनले भारतको निर्णयले नेपालको आर्थिक वृद्धिदर २.२ प्रतिशत कायम हुने उल्लेख गरेको छ। यसअघि सोही संस्थाले गरेको अध्ययनमा २.५ प्रतिशत आर्थिक वृद्धि हुने उल्लेख गरेको थियो। ठूलो संख्यामा नेपालीहरू भारतमा रोजगारीमा रहेका, धेरै नेपालीहरू उपचारका लागि भारतमा जाने गरेका, पर्यटनमा ठूलो हिस्सा भारतीय पक्षको रहने र उनीहरूले ठूला दरका भारु लिएर जाने गरेको जस्ता तथ्यहरू केलाउँदै अध्ययनले समग्रमा यी गतिविधिमा संकुचन आउँदा आर्थिक वृद्धिमा धक्का दिने उल्लेख गरेको छ।
नेपालका सरकारी अधिकारी तथा अर्थशास्त्रीले पनि भारुका ठूला नोट नचल्दा आर्थिक वृद्धि प्रभावित हुने स्वीकारेका छन्। उनीहरूले आर्थिक वृद्धि घट्ने र यसले मूल्य वृद्धि बढाउने दाबी गरेका छन्।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी ठूला भारुको कारोबार नहुँदा नेपालको आर्थिक वृद्धिमा धक्का दिने, तरलता (लगानीयोग्य रकम) संकट निम्त्याउने र मूल्य वृद्धिमा दबाब दिने बताउँछन्।
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. शंकर शर्मा भने ठूला दरका भारु नचल्दा नेपालको आर्थिक वृद्धिमा असर पर्ने भए पनि अनुकुल मौसमले कृषि उत्पादन बढ्ने, पर्यटकीय चहलपहल बढेको र सरकारी खर्च तुलनात्मक रूपमा बढ्ने अपेक्षाले त्यसको असर आर्थिक वृद्धिमा नगण्य पर्ने बताउँछन्।
“नगद प्रवाहमा आधारित अर्थतन्त्रमा यस्ता घटनाले सिधै आर्थिक वृद्धिमा असर पु¥याउँछ,” उनी भन्छन्, “तर, नेपालको सन्दर्भमा कुल गार्हस्थ्य उत्पादनमा भन्दा पनि घरपरिवारमा नोटबन्दीको असर पर्ने देखिन्छ।” सीमा क्षेत्रमा भने यसले ४०–५० प्रतिशतसम्म घाटा पु¥याउने उनले बताए।
अर्थ मन्त्रालयको पहिलो चौमासिक सार्वजनिक विवरणअनुसार चालू वर्ष सरकारको विकास खर्चमा तुलनात्मक रूपमा विस्तार हुनेछ भने औद्योगिक उत्पादनले गति लिन थालेको छ। यस्तै, पर्यटकीय गतिविधिमा चहलपहल बढेको, वित्तीय तथा सञ्चारलगायत समग्र सेवा विस्तार भएको र अनुकूल मौसमले कृषि क्षेत्रतर्फ वर्षे बालीहरूको उत्पादन उत्साहजनक हुने देखिएको तथा भूकम्पपछिको पुनर्निर्माणको कार्यले गति लिँदै गएकाले लक्षित आर्थिक वृद्धि हुने दाबी गरिएको छ। चालू वर्ष ६.५ प्रतिशत आर्थिक वृद्धि हासिल हुने लक्ष्य लिइएको छ।
अहिल भारु सटहीमा विभिन्न दरहरू उपयोग गर्ने गरेको पाइन्छ। अहिले भारतीय सिमाहरूमा भारु एक सयको १८० रुपैयाँ, पुरानो पाँच सय र एक हजारको प्रतिसय एक सय ५० रुपैयाँ, नयाँ पाँच सयको प्रतिसय एक सय ६५ रुपैयाँ, दुई हजारको प्रतिसय एक सय ७० रुपैयाँसम्ममा कारोबार हुने गरेको छ। तर, नेपाली सिमामा भने यसको मौद्रिक मूल्य घटेर भारु एक हजारको नेपाली एक हजारमै कारोबार हुने गरेको बताइन्छ। आजको कारोबार दैनिकमा खबर छ ।