भारतले नेपालमा रहेका पाँच सय र एक हजार दरका भारतीय रुपैयाँ (भारु) सटही सुविधा नदिए पनि ठूलो समस्या नहुने देखिएको छ। जानकारहरूका अनुसार ठूला दरका नोट व्यापारीहरूसँग रहने भएकाले सर्वसाधारणलाई असर नगर्ने अनुमान गरिएको छ। यद्यपि, नेपाल राष्ट्र बैंकले ठूला दरका भारु नोट साट्ने प्रयासलाई अझै जारी राखेको छ।
राष्ट्र बैंकका पूर्व कायममुकायम गभर्नर कृष्णबहादुर मानन्धर भारु नोट प्रतिबन्ध लगाउँदा नेपाललगायत बढी भारु प्रचलनमा रहने मुलुकमा सर्वसाधारणलाई त्यति ठूलो असर नगर्ने बताउँछन्। भारतले बढी भारु प्रचलनमा हुने मुलुकसँग छलफल गरेको र सबैको सुझावका आधारमा निर्णय गरेको हुनसक्ने भएकाले ठूलो असर नगर्ने जिकिर गरे।
ठूला नोट नसाट्दा नेपालमा भारु ‘होल्ड’ गर्ने प्रवृत्ति रोकिने उनको भनाइ छ। “छोटो समय दिएर नोट साट्दा पाउँदा पनि सहरी इलाका र व्यापारीहरूले समयमै साट्न सक्ने भए पनि ग्रामीण क्षेत्रका जनता अझै अप्ठ्यारोमा पर्ने सम्भावना उत्तिकै छ,” मानन्धरले भने।
लामो समय राष्ट्र बैंकको विदेशी विनिमयमा काम गरेका पूर्व निर्देशक कल्याणबन्धु अर्याल पनि ठूला दरका भारु नोट सटही गर्नुपर्छ भन्नुको अर्थ नरहेको बताउँछन्। “ठूला व्यापारीहरूले ट्रक भाडासँग भारु नोट व्यवस्थापन गरिसके,” उनले भने, “भारतमा काम गरेर फर्किएकाहरू पनि प्रायः भारतीय समामै बढी मूल्य तिरेर नोट सटही गरी घर फर्कने गर्छन्।”
अहिले भारुको मुख्य समस्या रहेको मानिने सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रमा पनि भारु सटहीको खासै समस्या नरहेको उनको बुझाइ छ। “पाँच सय र एक हजार दरका भारु नोटमा समस्या भएको भए जनस्तरमै त्यसको दबाब अहिले थेगिनसक्नु हुनुपथ्र्यो,” उनी भन्छन्, “तर, अहिले यस्तो अवस्था भने देखिँदैन।
अहिले बढी नोट भएका भनिएकाहरूसँग पनि ५÷७ हजारभन्दा बढी रकम छ जस्तो लाग्दैन।” ठूला भारु नोट सटही नगरिए नेपाली मुद्राप्रतिको मोह बढ्ने भन्दै उनी अहिले भारु साट्नेतर्फ बल गर्नुभन्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको रणनीति के हो भन्ने बुझ्नुपर्नेमा जोड दिन्छन्।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारका भने अहिलेको समस्या व्यापारीहरूका लागि भन्दा पनि सर्वसाधारणका लागि ठूलो भएको बताउँछन्। व्यापारीहरूले केही हदसम्म आपूmसँग भएको रकमको व्यवस्थापन भारतीय च्यानल प्रयोग गर्दै गरिसकेको उल्लेख गर्दै उनले सर्वसाधारणसँग भएको ठूलो रकमका बारेमा समयमै ध्यान दिनुपर्ने बताउँछन्।
“व्यापारीसँग भएको पैसालाई त सरकारले पैसै ठान्दैन, २५ हजारसम्मको रकम बैंक खातामै राख्न पाउने व्यवस्थाअनुसार सर्वसाधारणसँग भएको रकमको सटहीको व्यवस्था मिलाइनु जरुरी छ,” उनी भन्छन्, “पश्चिमी नेपालमा प्रायः सबैको घरमा ठूला दरका धेरै नै भारु नोट रहेको अनुमान छ, यो सटही गर्नु राज्यको दायित्व हो।”
राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डित ठूला दरका भारु साट्ने सम्भावना कायमै भए पनि परिणामबारे एकिन गर्न नसकिने बताउँछन्। “भारतीय रिजर्व बैंकले पनि त्यहाँको वित्त मन्त्रालयमा कुरा गर्न भनिरहेको छ,” उनले भने, “वित्त मन्त्रालयले कस्तो निर्णय दिन्छ भन्ने कुर्नुबाहेक हामीसँग कुनै विकल्प छैन।”
पाँच सय र एक हजार दरका भारु नोट साट्न पर्खिने र उच्चस्तरमा समन्वय गर्नुको विकल्प नभएको उनको भनाइ छ। “जोसँग धेरै ठूला दरका भारु नोट छ उसले दबाब दिन सकेको छैन, जोसँग थोरै छ र स्रोत देखाउन सक्छु भन्ने लाग्छ उनीहरूले दबाब दिइरहेका छन्,” उनी भन्छन्।
नेपालमा वैधानिक रूपमा २५ हजार रुपैयाँसम्म ठूला भारु लिन पाउने व्यवस्था भएकाले त्यही अनुपात सटही सुविधा प्राप्त गर्ने सम्भावना कायमै रहेको उनको भनाइ छ।
गत कात्तिक २४ बाट भारतले पाँच र एक हजार दरका भारु नोट नचलाउने निर्णय गरेसँगै नेपाल राष्ट्र बैंकले ०७३ कात्तिक २४ गते परिपत्र जारी गरी यी नोटहरू नेपालमा पनि नचल्ने उल्लेख गरेको थियो। त्यसअघि ०७१ फागुन १२ मा विदेशी विनिमय नियमित गर्ने ऐन २०१९ लाई प्रयोग गरी नेपालमा पाँच सय र एक हजार दरका भारु नोट प्रतिव्यक्ति २५ हजार रुपैयाँसम्म लिएर हिँड्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको थियो।
अहिले राष्ट्र बैंकले त्यही ऐनलाई टेकेर यी नोट बोक्न प्रतिबन्ध लगाएको हो। राष्ट्र बैंकको तथ्यांकअनुसार बैंकिङ प्रणालीमा ३ करोड ६० लाख ९० हजार भारु छ। तर, बैंकिङ प्रणाली बाहिर ठूला दरका कति नोट छन् भन्ने तथ्यांक कसैसँग छैन। आजको कारोबार दैनिकमा खबर छ ।