शान्ति सम्झौताका दस वर्ष


– डा. बिष्णुराज उप्रेती 

तत्कालीन विद्रोही नेकपा (माओवादी) र सरकारबीच विस्तृत शान्ति सम्झौता भएको १० वर्ष पुगेको छ । त्यतिबेला  बेला आम नेपाली जनतामा, राजनीतिज्ञहरु र नेताहरुमा, समाजका सबै तप्कामा खुसि छाएको थियो किनकि त्यो दिन देश र जनताको भबिष्यको आशाको मार्ग चित्र कोरिएको थियो। तर दुर्भाग्य, बिस्तृत शान्ति  सम्झौताका यी प्राबधान मध्ये सारै थोरै मात्र आंशिक रुपमा कार्यान्वयनमा आए भने बिस्तृत शान्ति सम्झौतालाई आफ्नो व्यक्तिगत र पार्टीगत स्वार्थमा प्रयोग गरियो।  परिणामत साढे आठ वर्षको लामो समय सम्म, ६ महिनाभित्र बन्नु पर्ने सत्य निरुपण र मेलमिलाप र बेपत्ता छानबिन आयोग पनि बन्न पाएन।

आखिर बनेपछि पनि शक्ति र साधन श्रोत बिहिन बनाएर राखियो, माओवादी लडाकु ब्यबस्थापनमा नेपाली सेनामा संयोजित १ हजार ४ सय २२ जना र मृत्यु भएका ९४ जना बाहेक अरु अहिले कहाँ  र के कस्तो अवस्थामा के गरि रहेका छन् ? भन्ने तथ्यांक समेत छैन।  शान्तिको लाभाम्स सामान्य नागरिकले पाउन सकेका छैन, सत्ताको खेलको लागि बाहिरी हस्तछेप निम्त्याइएको मात्र छैन,यसले देशलाई लगभग कब्जामै लिई सकेको अबस्था छ।

समाजमा एक आपसमा मिलेर बसेका नागरिकहरुलाई जातिय, क्षेत्रीय, धार्मिक रुपमा विभाजित गरि शक्ति हत्याउन दुरुपयोग गरिएको छ, राज्यका महत्वपूर्ण र स्थायी  संरचनाका महत्वपूर्ण पदहरु योग्यता र क्षमताको आधारमा नभई पार्टी पार्टीको बीचमा भागबन्डामा नियुक्ति गरि सुशासनको मर्म माथि प्रहार गरिएको छ।

यसले  गर्दा नियुक्तिवालाहरु राज्य र जनता प्रति र कानुन प्रति भन्दा नियुक्तिकर्ता प्रति बफादार भै रहेका छन। राज्य पुनर्संरचना बिबादित बनाइएको छ भने संविधानको कार्यान्वयगर्न दिएको छैन, तर पनि शासकहरु शान्ति प्रक्रिया टुंगोमा पुग्न लाग्यो धेरै काम सकियो भन्ने रटान लागे रहेका छन्। अहिलेको अवस्था हेर्दा न शान्ति प्रक्रिया टुंगोमा पुग्न लागेको छ न निकट भबिष्यमा पुग्ने सम्भाना छ। राजनीतिक निर्णयकर्ताहरुले अहिलेको शैली नै कायम  राखे भने शान्ति प्रक्रिया सम्पन्न हुनुको सट्टा देशमा साम्प्रदायिक, जातीय, क्षेत्रीय, र धार्मिक तनाव बढ्ने सम्भावना छ।

यस लेखमा विस्तृत शान्ति सम्झौतापछिका १० वर्षको परिणामबारे छोटो विवेचना गरिएको छ ।

(क) संविधानसभा र हिंसाको अनुमोदन : 

राजनीतिक नेतृत्त्वको असफलता र अतिवादीहरूको कारण पटक–पटक म्याद थपी २ बाट ४ वर्ष पुर्‍याइएको पहिलो संविधानसभा संविधान नदिइकनै समाप्त भए पनि संविधानसभाको दोस्रो निर्वाचनपछि भने संविधानसभामार्फत संविधान लेखियो । १७,८८६ मानिस मारिएको सशस्त्र द्वन्द्वको नायक नेकपा (माओवादी) निर्वाचनबाट सबैभन्दा ठूलो शक्तिका रूपमा स्थापित हुनु संसारलाई अनौठो लागेको थियो ।

यो घटनाले स्थापित राजनीतिक शक्ति खस्कने र नयाँ शक्तिको उदय हुने क्रमको आधार हिंसा र विद्रोह हो भन्ने मान्यता स्थापित गर्‍यो र परिणामत: क्षेत्रीय दलहरूले २०६४ सालमा तराईमा हिंसात्मक संघर्ष गरी त्यसैको आधारमा आफूलाई राष्ट्रको तत्कालीन चौथो शक्ति स्थापित गरे, तर देशमा शान्ति, राजनीतिक स्थिरता र आर्थिक समृद्धि भने हुनसकेन । केही सभासदहरू रचनात्मक कार्यभन्दा पनि कुटाकुट, तोडफोड र रातो पासपोर्ट बिक्री, वेश्यालयबाट पक्राउ, विदेश जाने श्रमिकमाथि ठगी, हत्या–हिंसाजस्ता गतिविधिमा संलग्न हुँदा संविधानसभाप्रति नै मानिसमा वितृष्णा उत्पन्न हुनपुग्यो ।

संविधानसभामा प्रतिनिधित्व गरेका सभासदहरू आफ्नो संवैधानिक दायित्व निर्बाह गर्नभन्दा आफ्ना शीर्षनेताको नियन्त्रणमा रमाउन थालेका कारण संविधानसभा रबरस्टाम्प मात्र बन्न पुग्यो । अहं राष्ट्रिय सरोकारका सवालमा सबै एक भई निर्णय गर्नुपर्नेमा सभासदहरू राजनीतिक नेतृत्वसँग सौदाबाजी गर्ने, बिभिन्न चाख र स्वार्थमा सञ्चालित राष्ट्रिय—अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, विदेशी नियोगहरूका उद्देश्य अनुरूपका सभा–सेमिनार, सम्मेलन, छलफल, विदेशी भ्रमणमा अत्यधिक समय बिताउँदा राष्ट्रिय सरोकारका सवालहरू छायामा मात्र परेनन्, विवादित पनि बन्नपुगे ।

यी सबै कमी—कमजोरीका बाबजुद पनि दोस्रो संविधानसभाले जनअपेक्षा अनुरूप संविधान त ल्याउन सक्यो । तर दुर्भाग्य यति लामो र जटिल प्रक्रियाबाट आएको र ९० प्रतिशत सभासदले सही गरेको संविधानलाई बिभिन्न बाह्य र आन्तरिक स्वार्थका कारण विवादित बनाइयो । संविधान एक गतिशील दस्तावेज भएकाले कार्यान्वयनको अनुभवको आधारमा संशोधन गर्दै जान सकिन्थ्यो र यसो गरिएको भए राज्यले यत्रो अमानवीय भारतीय नाकाबन्दी झेल्नु पर्दैनथ्यो भने अनाहकमा मधेस तराई आन्दोलनको नाममा झन्डै ६ दर्जन नागरिकले ज्यान गुमाउनुपर्ने थिएन । यो १० वर्षको सबैभन्दा दु:खद पक्ष यही रह्यो ।

(ख) समावेशी अभ्यास र अकासिँदो अपेक्षा :

विगत १० वर्षमा नेपालमा समावेशी चरित्रको राज्य निर्माणको आधार बन्यो । सन् २०६४ को संविधानसभाको निर्वाचनपछि मूलत: राज्यको उपल्लो तह समावेशी देखियो । मधेसी समुदायबाट राष्ट्रपति, उपराष्ट्रपति, उपसभामुख र उपप्रधानमन्त्रीहरू, जनजातिबाट सभामुख र उपसभामुख र उपप्रधानमन्त्रीहरू, महिलाबाट राष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख, उपसभामुख यसको उदहारण हो ।

साथै सैनिक ऐन लगायत ऐन—कानुनमा संशोधन गरी सेना प्रहरी, कर्मचारी प्रशासन सबैलाई समावेशी बनाउने पहल भयो । संसारका अरू देशहरूसँगको तुलनामा यति छोटो समयमा यत्रो ठूलो समावेशी चरित्रको उपलब्धिमा नेपाल पहिलो हो।

(ग) गणतन्त्रको शान्तिपूर्ण कार्यान्वयन :

गणतन्त्रको शान्तिपूर्ण कार्यान्वयन नेपालको एउटा विशिष्ट उपलब्धि हो । जब संविधानसभाको पहिलो बैठकले गणतन्त्रको कार्यान्वयन गर्ने निर्णय गरी राजाले २ हप्ताभित्रै राजदरबार छोडी सरकारले दिएको नागार्जुन दरबारमा सर्नुपर्ने निर्णयअनुसार तत्कालीन राजाले शान्तिपूर्ण रूपमा नारायणहिटी राजदरबार छोडिदिए ।

एउटा त्रासदीपूर्ण अनुमान के थियो भने तत्कालीन राजाले सजिलै राजदरबार छाड्ने छैनन्, बरु उनको सुरक्षामा खटिएका करिब ३ हजार संख्याको विशेष तालिमप्राप्त सुरक्षाफौजको प्रयोग गरी उक्त निर्णयको उल्लंघन गर्लान् र अवस्था रक्तपातपूर्ण हुनसक्छ । तर राजाले सजिलै गद्दी छाडिदिए । तर आफ्नो वाचाअनुरूप संविधानसभाले काम गर्न नसक्दा, राजनीतिक पार्टीहरूका आन्तरिक द्वन्द्व र पार्टी–पार्टी बीचका तनाव, अति महत्त्वाकांक्षा र सधैंभरि सत्ता संघर्ष, राज्यका अंगहरूमा राजनीतीकरण, आर्थिक क्षेत्रमा बलजफ्ती र सामाजिक क्षेत्रमा तनाव सिर्जना गरेका कारण पूर्वराजावादी शक्तिहरू राजतन्त्र पुन:स्थापना हुनुपर्ने अन्यथा देश विखण्डन भएर जाने तर्क गर्न थाले ।

(घ) जनताको सशक्तीकरण र जनअपेक्षाको दुरुपयोग :

२०४७ सालको राजनीतिक परिवर्तनपछि सुरु भएको जनताको सशक्तीकरणको प्रक्रिया शान्ति सम्झौता निकै उच्च स्तरमा आइपुगेको छ । राज्य र समाजबाट पछाडि पारिएका नागरिकहरू आफ्ना हक—अधिकारप्रति सुसूचित भएका छन्, आवाज उठाइरहेका छन् र नयाँ संविधानमा यी अधिकारहरू सुनिश्चित पनि भएका छन् ।

आम नागरिक सुसूचित र सशक्त हुनु भनेको राष्ट्र सशक्त हुनु हो । तर आम नागरिकको सशक्तीकरणलाई आफ्नो स्वार्थ पुरा गर्ने खुडकिलो बनाइरहेका केही टाठाबाठाहरू, बाहिरी स्रोतसाधन र ज्ञानबाट प्रत्यक्ष वा परोक्ष, जानी वा नजानी सञ्चालित अति महत्त्वाकांक्षी व्यक्तिहरूले सशक्तीकरणको मुद्दालाई बंग्याई गलत व्याख्या गरी दुरुपयोग पनि गरिरहेका छन् ।

आफ्नो अधिकार स्थापित गर्दा अरूको अधिकार हनन गर्न नहुने र पूर्वाग्रह र बदलाका भाव राखी निर्णय गर्न नहुने विश्वव्यापी मान्यताका बाबजुद अहिले नेपालमा आफ्नो अधिकार स्थापना गर्न अरूको अधिकार समाप्त गर्ने र आफूले भनेको कुरा पुरा गराउन विश्वव्यापी मानवअधिकारका सिद्धान्त विपरीत बलको प्रयोगसम्म गर्ने–गराउने, राष्ट्र र समाजप्रतिको दायित्व बिर्सिई केवल अधिकार–अग्राधिकारको मात्र व्याख्या–अपव्याख्या गर्ने, जात, भाषा, धर्मजस्ता अति संवेदनशील सामाजिक सवालहरूलाई निहित स्वार्थ पुरा गर्नका लागि दुरुपयोग गर्ने जस्ता क्रियाकलापबाट सशक्तीकरणको दुरुपयोग भैरहेको छ ।

(ड.) नेतृत्व क्षमताको अभाव :

शान्ति सम्झौतापछिको संक्रमणकाल चलायमान, खुकुलो, अस्पष्ट र जोखिमपूर्ण भएकोले यो अवस्थामा राजनीतिक नेतृत्वले सुझावपूर्ण, अठोटमुखी दूरदृष्टिकोणबाट निर्देशित भई काम गर्नुपर्नेमा नेपालका राजनीतिज्ञहरू आफ्नो निजी र पार्टीगत स्वार्थमा लागी राजनीतिलाई अपराधसँग मिसाएका छन्, शक्ति संघर्षमा लागेका छन्, देशका नियम—कानुन कार्यान्वयन नगरी कानुनी शासनको खिल्ली उडाएका छन्, अर्थतन्त्रको सुदृढीकरणमा ध्यान दिएका छैनन्, न्याय, सुरक्षा, सार्वजनिक प्रशासनलाई आफ्नो राजनीतिक र व्यक्तिगत स्वार्थका कारण दुरुपयोग गरेका छन् । 

 

नेपाली राजनीतिक निर्णयकर्ताहरूले विगत १० वर्षमा गरेका अधिकांश निर्णयहरू राजनीतिक परिपक्वता, दूरदृष्टि, क्षेत्रीय राजनीतिक शक्ति सन्तुलन, राष्ट्रिय अखण्डता, सामाजिक सद्भाव र आर्थिक सुदृढीकरणका दृष्टिकोणले नभई मनोगत कारणले निहित स्वार्थले दबाबमा परेर गरिएकाले अत्यन्त विवादित छन् ।

राजनीतिक नेतृत्व विदेशीको सहयोग, प्रभाव र हस्तक्षेपबाटै भए पनि आफू सत्तामा जाने, सत्तामा टिकिरहन वा विपक्षीलाई सत्ताबाट हटाउने नेताहरूको रणनीतिक कमजोरीका कारण निर्णय प्रक्रियामा विदेशी स्वार्थ हावी भई निर्णयहरू गलत भएका छन् ।

(च) विधि र प्रक्रियाको बेवास्ता :
शान्ति सम्झौतापछिका निर्णयहरू (जस्तै संविधानसभाको निर्वाचन, संविधान बनाउने कार्य, माओवादी सेनाका लडाकुहरूको समायोजन र पुन:स्थापना, संघीय इकाइ निर्माण) मा प्रक्रियालाई मूलत: बेवास्ता गरिएको छ । संविधान निर्माणको महत्त्वपूर्ण काम नेताहरूका निजी निवास, तारेहोटलहरू, विदेशी रातृभोज सहितका बैठकहरू र गैरसरकारी संस्थाका सभाकक्षमा हुनु ज्वलन्त उदाहरण हुन् ।

(छ) लडाकु समायोजन :

लडाकु समायोजन र पुन:स्थापनाको मुद्दालाई झन्डै ७ वर्षसम्म राजनीतिक पार्टीहरूले ‘सौदाबाजी’ माध्यमको रूपमा प्रयोग गरे । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको शक्तिखोरका लडाकुहरूलाई सम्बोधन गर्दै माओवादी लडाकुको संख्या बढाई अनमिनलाई झुक्याएर १९ हजार प्रमाणीकरण गरेको र अब यो संख्याबाट अधिक मात्रामा नेपाली सेनामा घुसाई सेना आफ्नो अनुकूल बनाई सत्ताकब्जा गर्ने रणनीति रहेको बताएपछि सेना समायोजन अरू जटिल बन्यो ।
अन्तिममा २०६८ चैत २८ गते अचानक भएको ‘शिविरका लडाकु, हतियार र सम्पत्ति’ तत्कालै नेपाली सेनालाई बुझाउने निर्णय सही प्रक्रियाबाट नभई माओवादी पार्टीभित्रका दाहाल–भट्टराई समूह र वैद्य–बादल समूहबीच चुलिएको चरम तनाव (दुबै पक्षका लडाकुबीच भएको झडप) बाट भएको थियो ।

यो परिस्थितिमा दाहाल–भट्टराई समूहले तत्कालै एमाले, कांग्रेस र मधेसी मोर्चासँग शीर्षबैठक गरी शीर्षनेताहरूकै उपस्थितिमा विशेष समितिको तत्कालै बैठक बसी शिविर, शिविरका सम्पत्ति, हातहतियार र लडाकुलाई तुरुन्तै सेनालाई सुम्पने निर्णय भयो । यसपछि तुरुन्तै प्रधानमन्त्रीले सेनापतिसँग छलफल गरी रक्षा र गृहमन्त्री तथा अन्य सुरक्षा निकायहरूबीच छलफल गरी माओवादी लडाकु नेपाली सेनालाई सुम्पियो । तत्कालै सरकारले सेनालाई लिखित निर्देशन दियो र यसको २–३ घन्टाभित्र नेपाली सेनाले लडाकुहरूको सबै शिविरहरू त्यही राति नौ बजेसम्म आफ्नो मातहतमा लियो ।

(ज) नेतृत्व क्षमता :
नेतृत्व नेताहरूको त्यो गुण हो, जसले अनुयायी र नागरिकहरूको विश्वास जिती अगुवाइ गर्छ, उनीहरूमाथि विश्वास गर्छ, दिशा निर्दिष्ट गर्छ, उनीहरूको प्रतिबद्धता प्राप्त गर्छ, उनीहरूमाथि सकारात्मक प्रभाव पार्छ र उनीहरूलाई नै परिचालन गरी उद्देश्य हासिल गर्छ । भिडको पछाडि नलागी भिडलाई विचार, दृष्टिकोण, प्रभाव र व्यवहारले पछि लगाउनु नेतृत्वको गुण हो । नेताको सफलता र प्रभावकारिता उसको सञ्चार शैली, आनीबानी (आचारण), जीवनशैली, दृष्टिकोण भनाइ र गराइ बीचको तादात्म्यता, परिस्थितिको वस्तुपरक विश्लेषण, संश्लेषण र मार्गदर्शन, मनो–सामाजिक संवेदनशीलताले निर्धारण गर्छ ।

यी आधारहरू नेपालका राजनीतिक नेताहरूले पुरा गरेको देखिएन । हाम्रा नेतृत्वले गरेका अत्यधिक निर्णयहरू कार्यान्वयनमा आउन सकेनन्, किनकि ती निर्णयहरू यथार्थवादी धरातल, कानुनी खाका, समयसँगको संयोजन र स्रोतसाधनको उपलब्धताका आधारमा भन्दा पनि कित दबाबको भरमा कि विषयलाई पन्छाउने नियतले कित जोखिम र अवसरको सही आँकलनबिना नै गरिएका थिए ।

(झ) बाहिरी संलग्नता :
विश्वका द्वन्द्वरत देशहरूमा बाहिरी संलग्नता र यसको पछाडिका चाखहरू हेर्दा के देखिन्छ भने उनीहरू सबैभन्दा पहिला त्यो देशको राजनीतिक र आर्थिक आधार, पात्र र प्रवृत्तिलाई आफ्नो स्वार्थ अनुकूल प्रयोग गर्ने वातावरण बनाउँछन् । यस उद्देश्यमा उनीहरूले आफ्नो रणनीतिक चाखअनुरूप काम गर्ने गैरसरकारी संस्थाहरू, धार्मिक संस्थाहरू, नाफामूलक कम्पनी र विशेष व्यापारिक संस्थाहरू, विश्वविद्यालय र अनुसन्धान संस्थाका अनुसन्धानकर्ताहरू, विकास नियोगका परामर्शदाताहरू र विभिन्न विशेषज्ञका नाममा द्वन्द्वरत र द्वन्द्वोतर देशहरूमा सक्रिय गराइरहेका हुन्छन् ।

बाहिरी शक्तिहरूले कित अन्य बाहिरी संस्थाहरूलाई गोप्य रूपमा वा अर्धगोप्य रूपमा सक्रिय गराइरहेका हुन्छन्, कि त्यही देशका शक्तिशाली व्यक्तिहरू, पहुँचवालाहरू (बुद्धिजीवी, नागरिक समाज, अगुवा, पत्रकार, वकिल, मानवअधिकारकर्मी, व्यापारी, प्राध्यापक, राजनीतिज्ञ, सुरक्षाकर्मी, प्रशासनका उच्च अधिकारीहरूका नातोहरूलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा प्रयोग गरिरहेका हुन्छन् र कतिपय अवस्थामा यसरी प्रयोग गरिएका पात्रहरूले आफूलाई कहाँ र कुन उद्देश्यमा प्रयोग गरिएको छ भन्ने थाहासम्म पनि पाउँदैनन् । किनकि देखाउने कार्यक्रम एउटा र त्यसभित्रको उद्देश्य प्रयास अर्कै हुने गर्छ ।

यी विदेशी पात्रहरूले सम्बन्धित देशका कानुन, सुरक्षा नीतिहरूमा देखिएका कमजोरी केलाई त्यही स्थानीय पात्रहरूको प्रयोग गर्छन् । तालिम, गोष्ठी, विदेश भ्रमण, महँंगा डिनर, स्वास्थ्य उपचार, बच्चा–बच्चीको बाहिरी अध्ययन मिलाउने, संस्थाहरूलाई आर्थिक र भौतिक सहयोग, आफ्ना देशका शक्तिशाली व्यक्तिहरूसँग सम्पर्क आदि माध्यम प्रयोग गर्छन् । नेपालमा यी सबै कार्य भएको देखिन्छ । नेपालमा विदेशीहरूको पहुँच प्रोटोकलको समेत ख्याल नगरी उच्चपदस्थ अधिकारीसँग सहज भएकै कारण बाहिरी शक्तिको सक्रियता र संलग्नता व्यापक छ ।