भूकम्पपीडित गोरखाका वालवालिकाका लागि बेलायतमा १ करोड संकलन


गतबर्षको भूकम्पको केन्द्रजिल्ला गोरखाका अनाथ तथा गरिव वालवालिकाको सहयोगार्थ गोर्खाली समाज यूकेले गरेको च्यारिटीबाट एक करोड रुपैयां बढी संकलन भएको छ । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईको प्रमुख आतिथ्यमा अल्डरसटमा भएको कार्यक्रममा रकम उठेको हो ।च्यारिटीमा जापानबाट आएका एनआरएनए आइसीसी उपाध्यक्ष भवन भट्ट एक्लैले २० लाख रुपैयाँ र बेलायतका व्यवसायी रबिचन्द्र लामिछानेले दश लाख रुपैयाँ दिने उद्घोष गरे ।

कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि डा. भट्टराईले सेवाभाव राखे नेपाल नबन्ने कुनै कारण नरहेको बताए । ‘हामी सोचका गरिव हौं । सोच, मन र विवेक ठूलो गरे देश बन्न सक्छ । समृद्धि सम्भव छ हाम्रै पालामा होइन मेरै पालामा भनेर म अगाडि बढिरहेको छु’, उनले भने ।गोरखाबाटै नेपाल एकीकरण भएको प्रसंग स्मरण गर्दै भट्टराईले  लोकतान्त्रिकरण प्रक्रिया गोरखाकै लखनथापा मगरले शुरुवात गरेको र संविधानसभाबाट संविधान लेखनमा पनि गोरखाकै भूमिका उल्लेख्य रहेको टिप्पणी गरे ।

कार्यक्रममा राजदूत डा. दुर्गाबहादुर सुवेदीले नेपाल एकीकरणको उदघोष गर्ने पुरुषलाई बिसे नगर्चीले एक एक मोहोर उठाउन अमुल्य सुझाव दिएजस्तै आफूले पनि त्यही बिसे नगर्चीको सन्देश दिने बताए ।

एनआरएनए आइसीसी उपाध्यक्ष भवन भट्टले बालबालिका भविष्यका कर्णधार भएकाले भूकम्पपीडित बालबालिकाको शिक्षामा सहयोग गर्ने कार्य गरेर संस्थाले पूण्य गरेको बताए । गोर्खाली समाज यूके अध्यक्ष जयप्रकाश गुरुङले सबै दाताप्रति आभार व्यक्त गरे।