कोपनहेगन । डेनमार्कको राजधानी कोपनहेगनमा रहेको नेपाली दूतावास बन्द नगर्न डेनमार्क, नर्वे, स्वीडेन र फिनल्याण्डमा बसोबास गर्दै आएका नेपालीहरुले सरकारसमक्ष अपील गरेका छन् । दूतावास बन्द गर्ने परराष्ट्रमन्त्री प्रकाशशरण महतको अभिव्यक्तिपछि चिन्तित बनेका डेनमार्क लगायत नोर्डिक देशहरुका नेपाली संघ-संस्था एकजुट भई दूतावास बन्द नगर्न आग्रहसहित ज्ञापनपत्र बुझाएका छन् । केहि दिनअघि काठमाडौंमा आयोजित अन्तर्क्रियामा परराष्ट्रमन्त्री महतले डेनमार्कमा रहेको दूतावास बन्द गर्ने बताएका थिए ।
डेनमार्क लगायत स्क्यान्डीनेभियन युरोपेली मुलुकहरू नर्वे, स्वीडेन र फिनल्याण्ड समेत हेर्दै आएको कोपन्हेगनस्थित नेपाली दूतावास सन् २००७ मा स्थापना गरिएको थियो । दूतावास बन्द गर्दा उक्त क्षेत्रका १५ हजार भन्दा बढी नेपालीहरु प्रभावित हुने उनीहरुले दावी गरेका छन् । साथै अति विकसित मध्येका मुलुकहरुसँग नेपालको कुटनैतिक स्तरको सम्बन्धमा आँच आउने, सम्पन्न मुलुकहरुसँगको आयात-निर्यात प्रक्रिया मार्फत अर्थतन्त्रमा पुग्ने योगदानबाट बन्चित हुनुपर्ने प्रति उनीहरुले मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।
सम्बन्धित संघ- संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा यस क्षेत्रका गैरआवासीय नेपाली संघ, नेपाली जनसम्पर्क समिति, प्रवासी नेपाली मंच, नेपाली जनप्रगतिशिल मंच, इनास, क्रियटिभ नेपलिज विमेन, अभियान नेपाल, नेपाल म्युजिक फेस्टिवल, नेपाल हाउस, फोकस नेपाल, स्क्याण्डनेभियन हेल्प- डेनमार्क,पोर्चुगल समाज- डेनमार्क लगायतका संस्थाहरुको तर्फबाट गैर आवासीय नेपाली संघ- डेनमार्कका अध्यक्ष दीपेन्द्र चुडालले डेनमार्कका लागि कार्यबाहक नेपाली राजदूत रामकाजी खड्कालाई ज्ञापनपत्र बुझाए ।