बसन्त रानाभाट,बार्सिलोना/
युरोपियन मुलुक अष्ट्रियामा बसेर तेक्वान्दोमा सफलता चुमीरहेका १३ बर्षका नेपाली बालक बिनय कार्कीले सन् २०१६ मा मात्रै १० पदक जितेका छन्। अष्ट्रियाको चर्चित क्लब ओबर्न ड्रफ,साल्सब्रगबाट प्रतिस्पर्धा गरिरहेका उनले ७ बटा गोल्ड र ३ सिल्भर सहित १० पदक जितेका हुन्। ६ बर्षको उमेरमा खेल्न सुरु गरेका बिनयले ,यो सँगै हाल सम्म ७० पदकहरु जितिसकेका छन्।
सन् २०१६ मा उनले टर्की,बेल्जियम,होल्याण्ड,स्लोभेनिया,क्रोयसिया,स्लोभाकिया,जर्मनी,अष्ट्रिया जस्ता मुलुकहरु भएका बिभिन्न अन्तराष्ट्रिय प्रतियोगिताहरुमा सहभागिता जनाए। अष्ट्रियाको साल्सब्रग स्टेट च्याम्पियन्समा उनले लगातार पाँचौ पटक उपाधि चुम्न सफल बने।
यस्तै अन्तराष्ट्रिय काईसर विङ्कल प्रतियोगितामा गोल्ड, अन्तराष्ट्रिय ब्रातिसलाभा स्क्लोभाकीमा, सिल्भर मेडल प्राप्त गर्न सफल भएका छन्। उनले जी वन टुर्नामेन्ट अन्तर्गत भने, बेल्जियम लोमेलमा पाँचौ, जी वन हामवर्ग ओपनमा पाँचौ,अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप एण्डहोभेन होल्याण्डमा छैटौ स्थान प्राप्त गरेका छन्। आगामी दुई साता उनि अष्ट्रिया र जर्मनीमा हुने प्रतियोगितामा सहभागिता जनाउँदैछन् भने जुलाई पहिलो हप्ता लक्जम्बर्ग आउँदैछन्। हाल १२ – १५ बर्षको उमेर समुहबाट ४१ केजी मुनि उनले प्रतिस्पर्धा गरिरहेका छन्।
सन् २०१३ मा जर्मनीमा सम्पन्न फस्ट वर्ल्ड चिल्ड्रेन तेक्वान्दो च्याम्पियनसिप जिते पछि उनको चर्चा सुरु भएको थियो। उनले हंगेरीको बुढापेस ओपन,स्लोभाकिया स्थित ब्रातिसलाभा ओपन,जर्मनीको बायन ओपन, बर्लीन ओपन ,पेरिस ओपन,लण्डन ओपन,लगायतका महत्वपूर्ण प्रतियोगिताहरु सहभागिता जनाउँदै पदकहरु समेत जितिसकेका छन्।
अष्ट्रियामा नै जन्मेर यतै खेल खेलिरहेका भए पनि बिनयलाई भित्रि मन देखि नै नेपालबाट खेल्ने रहर छ। तर उनले अबसर भने पाएका छैनन्। उनका पिता बिकास कार्की सन् १९८८ अष्ट्रियामा होटल म्यानेजमेन्ट पढ्न आएका थिए। पछि उनि नर्बेजियन क्रुजमा काम गर्दै गर्दा,अमेरिकाको मायामी स्थित होटलमा काम गरे। फेरि सन् १९९२ देखि पुन अष्ट्रियामा नै बस्दै आएका छन्। छोरालाई नेपालबाट प्रतिनिधित्त्व गर्दै खेलाउँन यस अघि नेपाल तेक्वान्दो संघको कार्यालयमा नै पुगेर कुरा गरेको भए पनि हाल सम्म खासै चासो नदेखाएको कार्की बताउँछन्।बिनयकी आमा निरु कार्कीले बिगतलाई सम्झदै भनिन्,” छोरा जन्मे पछि यसलाई फुटबल खेलाउँने सपना थियो,तर बाबुलाई तेक्वान्दो प्रति रूचि भएकोले फेरि सानै उमेरमा तेक्वान्दो एकेडेमीमा भर्ना गरिदियौ। अहिले यसमा नै धेरै राम्रो गरिसकेको छ।
तेक्वान्दो अलवा फुर्सदको समयमा फुटबल,स्केटिङ,स्कीइ,पौडीमा पनि चासो दिने गर्छ।” यी सबै खेलहरुमा अब्बल रहेका बिनय फुटबलका समेत राम्रा खेलाडी भएको उनि बताउँछिन्।