युरोपमा स्थापित परोपकारी संगीत कोष के- का लागि ?


– शिब सुबेदी

कला संस्कृतिका धनि हामी पैसाले सधै भरी गरिब नै भयौं, नेपाल गरिब हुनुको कारण पनि हो, हामी देशभन्दा बाहिर हुनु पनि, हो यसका पछाडी भ्रष्टाचार, नीतिको अभाव, स्थायी सरकार नहुनु, भएको सरकारको पनि काम गर्ने इच्छा शक्ति कम हुनु लगायतका धेरै राजनीतिक कारणहरु छन् , त्यो आफ्नो पाटोमा छ l

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल देशको एउटा अग्रणी संस्था जसले लोकदोहोरी सँग सम्बन्धित सम्पूर्ण कलाकारलाई एउटै मालामा उन्न सफल भएको छ। यसै क्रममा बिभिन्न कारणले नेपाललाई बिदाईका हात हल्लाउदै युरोपमा आफ्नो रगत र पसिना बगाउन बिबश नेपाली कलासंगीतलाई माया गर्नेहरु मिलेर राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको युरोप शाखा गठन भयो। जुन शाखालाई केन्द्रिय कर्यसिमितिले मान्यता प्रदान गरिसकेको छ र यसै शाखाले स्थापना गरेको परोपकारी संगीत कोषको बारेमा सारंशमा लेख्दै छु।

संस्था गठनकै क्रममा पनि हामीमाथि धेरै प्रश्नहरु खडा भए, विभिन्न प्रवृतिहरु हामीमाँझ देखा परे, कतिपयलाई आफुले नेतृत्व गर्न नपाएको रिस, कतिलाई आफ्ना केहि चाहना पुरा नहोलान् भन्ने पिर अनि कतिलाई त संस्थाले प्रगति गर्ला र आफु पछि परिएला भन्ने डर, यिनै रिस, पिर, डरका बीचबाट पबित्र मनहरुले युरोप शाखा गठन गर्यो नै।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल आफ्नो उदेश्य बोकेर हिडेको संस्था त्यो उदेश्य पुरा गर्नको लागि त अबश्य लाग्नु छ नै, हामी लोकसंगीतलाई जगेर्ना गर्नैको लागि बिदेशी माटोमा छैनौ। यो तितो सत्य हो, हाम्रा साथीहरु जो नेपालमा हुनुहुन्छ, उहाहरुले सकेको गर्नु भएको छ नेपाली गीतसंगीतको लागि त्यसैले हामीले केहि फरक गर्न पर्छ भन्ने मान्यताका साथ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युरोप शाखाले एउटा कोषको परिकल्पना गर्यो- ‘परोपकारी संगीत कोष।

काठमाडौ कलाकार कल्याणकारी कोषले आफ्नो उचाईलाई राम्रैसंग बढाइरहेको बेलामा त्यो भन्दा फरक उदेश्य राखेर बेग्लै कोष, किन खडा गरियो ? भन्ने प्रश्न उठ्न सक्छ त्यसलाई स्वाभाविक नै मान्दछु, हो हामी कलाकारहरुलाई दुख पर्दा कल्याणकारी कोषले गरेको सहयोग हामी सबैले गर्ब गर्न लायक छ। हामी बिदेशमा भएका कलाकारहरुले पनि गीतसंगीत मार्फत नेपालमा कला संगीत शिक्षा तथा स्वास्थ्य जस्ता क्षेत्रमा प्रतक्ष्य सहयोग कसरी गर्न सकिन्छ भनेर हरेक पल सोचिरह्यौ र त्यै सोचाईको प्रतिफल हो परोपकारी संगीत कोष।

नेपालमा गीतसंगीतमा लाग्न चाहने आजका कोपिलाहरू फक्रन कि त काठमाडौँ नै आउनु पर्छ कि त आफ्ना चाहना नै मार्न पर्दछ, आज पनि लोकसंगीतलाई हेर्ने समाजले हेर्ने आँखा त्यति खुलेको छैन। जसरी एउटा परिवारमा छोराछोरीले आफ्नो जीवनको उद्येश्य डाक्टर इन्जीनियर बताउँदै गर्दा, आमा बाबा खुशी हुन्छन्। त्यसरी नै अर्को परिवारमा भोलि नेपाली गीतसंगीतमा लाग्छु र गायक गायिका बन्छु भन्ने उदेश्य राख्दा, ति आमा बाबा, उति नै दुखि हुन्छन्।

सकेसम्म बाबा आमाको सल्लाहमा छोराछोरी हिडेको मन पराउँने, हाम्रो समाज र संस्कारका बीचबाट नेपाली संगीतलाई प्राथमिकतामा राखेर भबिष्यको कल्पना गर्नेहरुको यात्रा कति कठिन हुन्छ। हाम्रो अनुभवले अनुभब गर्न सक्छ। हामी त्यस्तो परिवेशमा जान चाहन्छौ जहाँ नेपाली गीतसंगीतका कलिला मुनाहरु कसैलाई कुरिराखेका छन्।

काठमाडौँले थिचिएको नेपाल भोग्दै छौं हामी र नेपालमा चार हजार भन्दा बढी गाउँहरु पनि छन् तर गाउँको अवस्था र काठमाडौँको अवस्था सायद तुलना पनि हुदैन होला। काठमाडौँ त्यस्तो ठाउं हो जहाँ प्रत्येक गल्लि गल्लीमा संगीतालय छन्। संगीत सिकाउनको लागि, तर त्यी चार हजार गाउँमा संगीतको नाममा एफ एम, टी. भी. बाट बज्ने गीत नै हुन्।

बिडम्बना यहाँ छ, जहाँ घरघरमा पाठशाला छन् संगीतका त्यहाका मान्छे नेपाली संगीतमा लाग्नु त परे जाओस सुन्न समेत कन्जुस गर्छन केहि अपबाद बाहेक तर जहाँ संगीतको कुनै परिचय छैन त्यहाको मान्छे संगीतको परिभाषा खोज्नको लागि अनेक संघर्ष गर्छ, यो पनि हामीले देखेको र हाम्रै आँखा अगाडिको दृश्य हो l

व्यक्तिगत रुपमा मलाई पनि धेरैले नेपालको कलाकार भनेर चिन्नु हुन्छ तर मलाई नि थाहा छैन कर्णाली कस्तो छ अनि कर्णालीको कला कस्तो छ, कर्णालीमा गीतसंगीतमा लाग्ने मनहरुको अवस्था के छ होला ? त्यस्तै बाजुरामा कसैले केहि नसिकाइकन राम्रो मादल बजाउने सानो बाबुको भबिष्य कता जान्छ होला ?

आफ्ना बाबा आमा बिहान देखि बेलुका सम्म चुलो बाल्नको लागि काममा खटिदा आमा बाबा संग खेल्दै बाँसको मुरली बनाएर बजाउन रहर गर्ने भाइको मुरली बजाउने रहर पुरा होला कि ,नहोला ? अनि मुस्तांगमा स्कुल टाढा भएर पढाई नै छोडेकी सानी बैनीको पढाई फेरी सुरु कैले होला ? हामीले यी र यस्तै पात्रका लागि केहि गर्न सक्छौ कि ?

हाम्रा मनमा भएका यिनै प्रश्नहरुले गर्दा जन्मेको कोष परोपकारी संगीत कोषले भोलिका दिनमा गर्ने काम यिनै सवालहरु संग जोडिएका हुनेछन। अर्काको देशमा बसेर अर्कैको मानो खाएर ठुला सपना देख्नु त्यति सहज त हुदै हैन तर समुहले आँटेर गर्न चाह्यो भने सायद पुरा नहुने केहि पनि छैन होला । नाताबाद कृपाबाद, राजनीतिको मोह आदि इत्यादीले कैलेकाही भूमिका खेल्न खोज्न सक्छन् तर त्यो संग अहिले देखि नै सचेत छौं र हुनु पर्दछ पनि।

अन्त्यमा, हाम्रो बाटो बदलिए पनि गन्तब्य फेरिदैन, नाम परिबर्तन भए पनि काम परिबर्तन हुनेवाला छैन, नेपालमा बस्ने अबसर नपाएका हामी अभागीहरुले नेपाल र नेपालीकै लागि केहि गर्न सक्यौं भने सबैभन्दा ठुलो आत्मा सन्तुष्टि यसैले दिनेछ।

( लेखक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान युरोप शाखाका महासचिब हुन् )

12932804_199705647076964_1981786442001716828_n