बालबालिकाहरुको सहयोगार्थ नर्बेमा नेपाली चलचित्र देखाईयो


बार्सिलोना/ नेपालको ग्रामीण तथा पिछडिएको क्षेत्रमा रहेका बालबालिकाहरुको लागि सहयोग जुटाउँन नर्वेमा नेपाली फिल्म प्रदर्शन भएको छ । नर्वेमा बासोबास गर्दै आएका नेपालीहरुको सामाजिक संस्था हेल्पिङ्ग ह्यान्ड्स फर नेपाल नर्वेले बालिबालिकाहरुको सहयोगार्थ नेपाली चलचित्र देखाएको हो।

गत आईतबार नेपाली चलचित्र ‘पशुपति प्रसाद’ओस्लोको विल्हेम व्यार्के भवनमा प्रर्दशन गरिएको संस्थाका अध्यक्ष गोरख चन्द्रले जानकारी दिए। अध्यक्ष चन्दले भने “चलचित्र प्रदर्शनीबाट करिब १ लाख ८० हजार रुपैयाँ जति बचत भएको छ,अझै हामी सहयोगको अपिल गर्छौ। ३- ४ लाख रुपैयाँ जति संकलन गरेर नेपालका विकट र ग्रामीण भेगमा रहेका विद्यार्थीहरुलाई सहयोग प्रदान गर्ने छौ।” रकम संकलन कार्य सम्पन्न भए पछि उचित स्थानको छनोट गर्दै, सहयोग गर्ने पनि उनले बताए।

सन् २०१३ मा स्थापित यस संस्थाले भूकम्प पिडितलाई सहयोग,बिद्यार्थीहरुलाई सोलार ल्याम्प बितरण तथा अन्य समाजिक कार्यमा गरी हाल सम्म नेपालमा करिब १० लाख रुपैयाँ बराबरको सहयोग प्रदान गरेको जनाएको छ।

नेपालका विकट र ग्रामीण भेगमा रहेका विद्यार्थीहरु तथा विद्यालयहरुको आर्थिक अवस्था राम्रो नभएको कारण विभिन्न भौतिक तथा शैक्षिक सामग्रीको अभावमा स्तरीय पठनपाठन नभएकोमा चिन्ता व्यक्त गर्दै,सहयोग संकलनका लागि नेपाली चलचित्र प्रर्दशनी गरिएको हो। चलचित्र हेर्न करिब २०० को संख्यामा दर्शकहरु पुगेका थिए।