– मोहनराज बराल, “मुन”
संसारमा मुख्यत:दुई थरी लैङ्गीक अवस्था भएका मानिसहरु छन् । महिला र पूरुषलाई भिन्न लिङ्गको रुपमा हामी चिन्ने गर्दछौँ । तर “हृदयको बारूद “नामक आफ्नो किताबको “के तपाईको आमा,दिदि-बहिनी छैनन् ? “भन्ने लेखमा प्रसिद्ध लेखिका तसलीमा नसरीनले भनेकी छिन्। पुनश्च: महिलाहरू मानिस हुन् यही होस् महिलाको पहिलो र अन्तिम परिचय भन्ने उनको चाहना छ।
उनले सो लेखमा महिलाप्रति कुदृष्टि राख्ने पुरूषलाई के तपाईको आमा,दिदि-बहिनी छैनन् भन्ने हैन कि, महिलाको परिचय मानिसको रूपमा हेर्नुपर्ने कुरालाई जोड दिएकी छिन्। आफ्नो उक्त किताब तयार गरिरहँदासम्म बंगलादेशमा ३,८१२ महिलाको हत्या,५५९ जना महिलाहरु बलात्कारको शिकार, जस मध्ये २६९ जना त वालिकाहरु र ३०९ जना सामूहिक बलात्कारको सिकार भएको घटना उल्लेख गरेकी छन्। यस्तै फेरि २२७ जना महिलाहरु माथि एसिड प्रहारका घटनालाई उक्त पुस्तक मार्फत सार्वजनिक गरेकी छिन।
यसकारण पनि उनले भनेकी छिन यस्तो असुरक्षा संसारका अन्य कुनै पनि देशमा छ होला र ? सो आलेख अनुसार बंगालादेशमा जीवनको कुनै सुरक्षा छैन। घरभन्दा बाहिर निस्कने बित्तिकै सडक-दुर्घटनामा उसको मृत्यु हुनसक्छ।कसैले हत्या गर्न सक्छ।यदि उनि महिला हुन भने सडक दुर्घटना या अचानक हत्या हुनुभन्दा उसको साथमा अझै पनि कैयौँ खालका घटना घट्न सक्छन्।कसैले उनलाई बलात्कार गर्न सक्छ।एसिडबाट उनको मृत्यु हुन सक्छ।
यी त घर-बाहिरका घटना भए,घरभित्र बसिरह्यो भने पनि सडक दुर्घटनाबाट बच्न त सकिन्छ तर हत्याबाट सकिँदैन।एसिडबाट सकिँदैन।बलात्कारबाट सकिँदैन।आदेश जारी गर्नबाट पनि सकिँदैन।अपमान,अपहेलना,आत्महत्यासमेत बाट पनि सकिँदैन।
प्रसिद्द लेखिका नसरीनले बंगलादेशमा महिला प्रति भएका जुन प्रकारको हिंसा र हत्या आफ्ना आलेखहरूमा प्रस्तुत गरेकी छिन् यसलाई पनि माथ खुलाउने गरेर पछिल्लो समय नेपालमा पनि महिला हिंसाका घटनाहरू दिन प्रतिदिन बढिरहेका छन् । सन् २०१४ मा प्रकाशित तथ्यांक अनुसार महिला अधिकार उल्लंघन तथा ज्यादतीका घटनामा ८९ जना महिलालाई बोक्सीको आरोप लगाई यातना दिईएको छ।
३३८ महिलालाई बलात्कार गरिएको छ। १३९ जनालाई बलात्कारको प्रयास गरिएको छ। ३३७ ओटा बहुविवाहका घटना छन्। महिलाप्रति बेचबिखन तथा ओसार-पोसारका १३५ वटा घटना छन्। ३,४९६ वटा त महिला प्रति घरेलु हिंसाका घटना भएछन्। ९३ जना महिलासंग यौन दुर्र्व्यवहार गरिएको छ।
फेरि महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन महासन्धि १९७९ मा संयुक्त राष्ट्रसंघ महा-सभाद्वारा पारित गरिएको र १९८१ देखि लागु गरिएको हो। मानव स्वतन्त्र रूपमा जन्मिएका हुन्छ। मानवीय हक र स्वतन्त्रताहरू लिङ्गको आधारमा भेदभाव नगरी बराबर रूपमा उपभोग गर्ने अधिकार पाउनु पर्दछ। महिलाले पुरुषसँग राजनीतिक, आर्थिक, सांस्कृतिक जीवनमा समान सहभागिता हुनु पर्दछ भन्ने उद्देश्यका साथ महिला पुरुष बीच समानता कायम गर्नु यो महासन्धिको मुख्य उद्देश्य हो।
यो महासन्धिलाई १९९१ अप्रिल २२ मा नेपालले अनुमोदन गरेको थियो। महिला हिंसा र दुर्र्व्यवहार अन्त्य गर्नका निमित्त विभिन्न क्षेत्रबाट प्रयास गरिएको भए तापनि महिला प्रतिको उत्पीडन अन्त्य भएको छैन, अझै जारी छ भन्ने माथिको तथ्यांकले देखाउँछ। नेपालको सन्दर्भमा अहिले महिला हिंसा अन्त्य तथा महिला अधिकारको कुराहरू जापानका ओजाकि होसाइ ( सन १८८५-सन १९२६)ले लेखेको हाइकु
“वसन्त आयो
एउटा ठुलो अखवारको
विज्ञापन भन्छ।”
भने झै भएकोछ। देश गणतान्त्रिक मुलुकमा पुगेपछि पनि महिला अधिकारको कुराहरू व्यवहारिक रूपमा यी हाइकु झै छन् । फगत करिब ५ महिना अघि जारी भएको संविधान र त्यसमा भएका महिला अधिकार सम्वन्धि अक्षरहरू केवल माथीको हाइकु झै वसन्त आयो भन्ने विज्ञापनका सुचकहरू मात्र हुन् ।सायद हामीले कानुनत: यसलाई पालना नगरेकोले नै प्रायः संचार र यातायात नपुगेको नेपालको बिकट ठाँउमा हुने यस प्रकारको हिंसा र हत्या पछिल्लो समयमा, शहरको केन्द्रमा भएको छ।
त्यो पनि पर्यटकीय केन्द्र पोखरामा । यतिबेला पोखरा सभ्य भन्दा पनि असभ्य र विकृति उन्मुख भइरहेको छ।दुई दिनको अन्तरालमा दुई जना महिलाको हत्याले त्रसित मय भएको छ । पोखरा रामबजार नयाँ गाउँकी १९ वर्षीय योरुना (नेहा) को घर नजिक करिव ४ सय मिटरको दूरीमा अर्धनग्न अवस्थामा शव भेटिदा दुई दिनको अन्तरालमा मालेपाटनको प्रगतिमार्गमा डेरा गरी बस्ने ४० वर्षीय सरस्वती लिम्बु मृत अवस्थामा फेला परेकि छिन् ।
तर,यी दुई महिलाको हत्या गर्ने अपराधीलाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन ।यस्तो आधुनिक शहरमा जुन हृदय विदारक पाशविक हत्याकाण्ड भएको छ यसले पंन्चायतकालीन कालरात्रीमा यहि ठाँउमा भएको नमिता सुनिता हत्याकाण्डको पुन: दुखद सम्झना गराएको छ। सत्य के हो ? भने मानिसको भागमा एउटै जीवन हुन्छ।यसकारण पनि यो भन्दा अनमोल अरू के हुन सक्छ र ? यसको लागी सबैभन्दा ठुलो आवश्यकता हो सुरक्षा। यसरी एक पछी अर्को गर्दै शृंखलाबद्ध रुपमा भएका हत्याका घटनाहरुले आम नागरिकको जीवनको सुरक्षामाथी नै प्रश्न चिन्ह खडा गरेको छ। आखिर नागरिकले बुझाएको कर,नागरिको दक्षतालाई देशमा काममा प्रयोग गरेर राष्ट्र चल्ने हैन र ? हो भने खै त नागरिक सुरक्षा ?
लाग्छ अनिश्चित स्वर्गका लागि आर्थिक, नैतिक र भौतिक रूपमा समर्पित हुने मानिसहरूले आफ्नै आँखा अगाडि देखिएका यस प्रकारको अमानवीय दृश्यमा आँखा नचिम्लिकन यस्तो घटना एउटा परिवारलाई मात्रै परेको भनेर बुझ्ने संस्कारको अन्त्य गर्दै जुट्नुपर्छ । दोषीलाई हदैसम्मको कारवाही नभएरसम्म यस्ता घटना निरन्तर भईरहन्छ ।
यस प्रकारको घटनालाई लेखिका तसलीमा नसरीनले भने झै महिला मात्रको भनेर बुझ्नु हुँदैन, यो समाजका एक नागरिकको हत्या हो । यस्ता गम्भिर र अमानविय कार्यलाई रोक्न र पीडितलाई न्याय दिनका यसका विरुद्ध आवाज उठाएर न्यायिक समाजको पक्षमा जुट्औ। यस्ता अपराधलाई निरुत्साहित गर्न राज्यले छिटो भन्दा छिटो अपराधी पत्ता लगाएर कडा कारवाही गर्ने र प्रहरीले नागरिकलाई शान्ति सुरक्षाको आभाष दिलाउन सक्नुपर्छ । ताकी यस समाजमा रहेका हजारौ हजार नेहाहरू र सरस्वती लिम्बुहरू निर्धक्क पूर्वक बाँच्न पाउन् ।
अभाब नै आभावको उपहार दिएको यो सरकारलाई बिनम्ररता पुर्बक अनुरोध गर्न चाहन्छु। नेहा जस्ती एक चेलीलाई बलात्कार पछि हत्या गरिएको आंशकाले अझ बिश्व नै स्तब्ध भएको छ। चेलीले अथाहकमा नै ज्यान गुमाउँनु पर्ने यो कस्तो सुरक्षा ? समाजमा हुर्केका चेलीहरुलाई गिद्दे दृष्टिले हेर्दै,ति राक्षसहरुलाई,बरु कानुन नै परिबर्तन गरेर पनि फाँसी देऊ सरकार। तब मात्र उनीहरुको आत्माले शान्ति पाउँने छ।