युरोपबाट आमालाई चिठ्ठी


– बल बहादुर कार्की,

श्री पुजनीय आमा ,साष्टाङ्ग दण्डबत, सेबा ढोग। म सच्चै छु, आशा छ हजुर पनि त्यहाँ सच्चै हुनु हुन्छ होला। आमा यहाँको नयाँ खबर त केहिँ पनि छैन। अहिले अलि जाडो बढेको महसुस छ।काममा जाउ,फर्क घर आउँ,भोलि बिहानै फेरि काम यही नै हो यहाँ म जस्तै लाखौ परदेशीको दिन चर्या।

आमा जुन दिन हजुरलाई  एक्लै छाडेर निष्ठुरी बनी, घरबाट निस्केको थिए ,त्यो समय हर बखत अहिले पनि मेरो मानसपटलमा घुमिरहेको छ। बेला बेलामा त्यो पललाई यसरी नै सम्झिरहेको हुन्छु। हो आमा,त्यही पललाई मात्र सम्झिरहेको हुन्छु।

तपाई समक्ष प्रत्यक्ष उपस्थित हुन सकिरहेको छैन। तर मानसपटलमा तपाई,म जन्मेको घर,हुर्केको पाखा पखेरा,अनि मेरो सुन्दर गाउँ पलपलको सम्झना बनीरहन्छन्। जुन दिन घर छोडेर धेरै सपना बोकी युरोप छिरेको थिए, त्यस दिन देखि मनमा धेरै कुराहरु खेलाई रहेको छु।आमा हजुरको माया नभएको त होईन तर यो मेरो बाध्यता हो।

तर भन्दछु आमा, अब म बिदेशी भूमिमा धेरै बस्दिन। जति बसे वा अब जति बस्नु सम्झनु यो हाम्रो बाध्यता थियो। तर फेरि भन्छु, एक दिन अब तपाई संगै बस्ने गरी फर्कने सोचमा छु, जन्मभूमि अनि हजुरको न्यानो काखमा बसेर पवित्र सेबा गर्ने अठोट गरेको छु। थाहा छैन समय र परिस्थितिले मेरो अठोटलाई कहाँ सम्म पुर्याउँने छ ?

त्यो  दुखद पललाई सम्झने मन त थिएन तर सबैलाई पत्र मार्फत भन्नै पर्ने हुन्छ, हो आमा,हामीलाई बाबाले त छोडेर टुहुरो बनाउनु भएको छ। के गर्ने ? बाबाको सेबा गर्ने मनमा ठुलो धोको थियो तर समय र दुरीको कारणले मुख समेत देख्न पाईन। त्यसैले आँफुलाई जीवनमा सबैभन्दा धेरै अभागी सम्झिएको छु। तर आशा छ आमाको सेबा गर्ने धोको एक दिन अबश्य पुरा हुने छ। आमा हाम्रो देशको परिस्थिति सधै यस्तै पनि नहोला नि हैन र ? एक दिन त अबश्य सुधार होला। हिम्मत बिश्वास नहारौ आमा।

आखिर,आमा हाम्रो देशमा के नै छैन र ? को नै छैन र ? हामीले कसलाई नराम्रो गरेका छौ र ? बरु सके सम्म सबैको भलो नै चिताएका छौ। सके जति परोपकार त गरेकै छौ। हामीलाई लाग्छ कसैलाइ अर्धम गरेका छैनौ। आफ्नै पाखा पखेरामा दश नङ्गा खियाएर खाउँला ,त्यति गर्दा पनि पुगेन भने आमा,चिन्ता नगर्नुहोस्,विदेशमा पाएको दुखले यति सम्म हिम्मत र आँट छ कि,बरु पहाड नै फोरौला ।

बिदेशमा जस्तै खटेर आँफुले देशमा गर्ने हो भने जे गर्न सकिने रहेछ जस्तो लाग्दछ आमा। जुन दिन हजुरको न्यानो काख र अति प्यारो जन्म भुमि छाडेर बिदेशीएको थिए त्यस दिन देखि दुखका दिनहरु सुरु भए । तर जीबनमा त्यही दुखबाट धेरै कुरा सिकेको छु आमा। धेरै हिम्मत छ आमा। धेरै आँट छ आमा। यी सबै अनुभवले तपाईको आँखामा आँशु टिलपिल हुन दिने छैन आमा।

तपाईको छोराले, कैयौ दिन र रातहरु, धर्तीको दसना र आकाशलाई शिरक ठान्दै गुजारेको छ आमा। यी सबै बाध्यता मेरा थिए। पत्रमा लेख्न उचित थियो वा थिएन तर गल्ती भए माफ गर्नु होला आमा,आज यथार्थलाई लुकाउँन र छुपाउँन चाहिँन, त्यसैले कोरे। आमा पहिले त धेरै दुख काटे तर यहाँ पनि अहिले त राम्रै छ। तर के गर्नु तपाईको साथ छैन। त्यसैले अझै पनि धेरै अभाव नै अभाव नै जस्तो लाग्दछ।

बाबाको अचानक भएको दुखद निधनले यति सम्म दुखि भएको छु कि मन भित्र उब्जिएका दुखका बेदनाहरु,सबै भन्ने नै हो भने, सारा धर्ती नै फाँटे जस्तो भएको छ। सारा समुन्द्र नै मसी बनेर आए पनि,बेदनालाई उतारे भने लेख्न पुग्दैन जस्तो लाग्दछ आमा।

बुबाको दुखद निधनबाट हजुर कत्ति पनि बिचलित नहुनु होला। म त केहि दिन आए सबै कर्म सकेर फेरि प्रबासी बने।फेरि म दुरीले टाढा छु,सानो मन नगर्नु होला। म टाढा भए पनि यो मन सधै हजुरको साथमा नै छ। एक पटक त हजुरलाई पनि, यो छोराले देखेको संसार देखाउँने रहर छ आमा। बाबालाई त देखाउँन सकिन।

तर आमा प्रबासको भुमिमा नै रहेर ,पुरै जीवन काट्ने, न त कल्पना छ न सपना नै। मलाई आशिर्बाद चाहिएको छ,आमा। हजुरको कोमल चरणमा परेर सेबा गर्ने धोको छ। यहिँ प्रण गर्दै आजलाई यत्तिकैमा पत्र बन्द गर्दछु। हजुरको स्नेही छोरा
बलराम,हाल बार्सिलोना स्पेन।

4 COMMENTS

  1. Dai Salam cha Tapae pani Yesto ramro lekhnu hune rahecha wa dai Tapae ok sabae sapana haru pura hos..bhai lae birsinu bhayo hola tAra afno desh lae na birsinu hae ..AMA ko maya hami jaha bhaeh pani niyano huncha ..take care dai..

  2. वाह दाई कस्तो हामी प्रदेशीहरूको मन छुने मार्मिक लेख!
    तपाईको ईक्छा, आकंक्षा र सपना पुरा होस कामना छ। मेरो चाहना र कथा पनि यो लेखको शारंस भित्र छ।
    धन्यवाद वल दाई।
    दाई भित्र लुकेको प्रतिभा देखियो आउँदा दिनहरूमा अरू पनि अझै राम्रा लेखको अपेक्षा गर्दै हार्दिक बधाई दिन चाहन्छु।

  3. ” बल बहादुर” भाइ भित्रको “आत्मबल बहादुर” कुनै हालतमा पनि कमजोर हुनै सक्दैन । कुनै कारणबश बिदेशिनुपर्ने बाध्यताहरुलाई तत्कालै नकार्न नसकिएला, तर “आमा” र त्यसको प्रतिविम्ब “देश” को मायालाई मुटुभित्र राखेर बिदेशको भूमिमा पसिना बगाउँदाको सारांश बुझिने गरि यो लेख पढ्न पाईयो । बल भाइका सारा इच्छा- आकांक्षाहरु छिट्टै पूरा होउन, शुभकामना !!!

  4. हजुर्को जस्तै मेरोपनी तेस्तै भयेको छ दादा मेरो पनि बाबा बित्नुभयेको लग्भक तीन बर्स भयो मेरो पनि हजुर्को पत्र सग मेल खायो र मनि भन्छु हजुर्ले चितायेको काम पूरा होस भन्दै सुभकामना साथै भगवोन्ले साथ दिउन भन्ने वर माग्छु

Comments are closed.