– सन्देश श्रेष्ठ
पोखरा । नेपाल सम्वत ११३६ को स्वागतमा बिहीबार पोखरामा भिन्तुना र्याली निकालिएको छ । नेवा खलः कास्कीको आयोजनामा मौलिक भेषभुषा, बाजागाजा र झाँकीसहितको र्याली निकालिएको हो ।
पोखराको भद्रकालीस्थित गौंडाकोमुखबाट शुरु भइएको र्याली शितलदेवी, रानीपौवा, महेन्द्रपुल, तेर्सापट्टी, गणेशटोल हुँदै भिमसेनटोलस्थित नेवा छेँ भवनमा पुगेर समापन समारोहमा परिणत भएको थियो । नेवारी समुदायका विभिन्न कचाःखल, पुचःहरुको संस्थागत सहभागिता रहेको र्याली झण्डै साढे २ किलोमिटर लामो थियो । र्यालीमा गैरनेवारहरुको पनि उल्लेख्य सहभागिता थियो ।
र्यालीमा तमु धिँ नेपाल, मगर समाज, थकाली समाज, हिमाली सांस्कृतिक परिवारलगायतको संस्थागत सहभागिता थियो । कार्यक्रममा बरिष्ठ चिकित्सक जगदिशलाल वैद्यले नेपाल सम्वत मौलिक सम्वत भएकाले यसको संरक्षणमा नेवार समुदायसहित सबै समुदाय लाग्नुपर्ने बताए । उनले नेपाल सम्वत सबैको सम्वत भएकाले कसैले पनि पूर्वाग्रही भएर नहेर्न आग्रह गरे ।
तमु धिँ नेपालका अध्यक्ष कर्म तमुले आधुनिक नेपालको विकास सँगै आदिवासी जनजातीले मनाउँदै आएका संस्कृतिहरुलाई नेपाल सरकारले बेवास्ता गर्न थालेको गुनासो गर्दै आफ्नो संस्कृति संरक्षणका लागि आदिवासी जनजाती आफै जुट्नुपर्ने बताईन् । संस्कृतिविद् तीर्थ श्रेष्ठले नेपाल सम्वतको बारेमा प्रकाश पार्दै राष्ट्रिय विभूति शंखधर साख्वाले शुरुवात गरेको नेपाल सम्वत नै नेपालको मौलिक र राष्ट्रिय सम्वत भएको दाबी गरे ।
कार्यक्रममा पत्रकारिताको क्षेत्रबाट नेवार भाषा र नेवारी संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको भन्दै पोखराबाट प्रकाशन हुँदै आएको नेवारी पत्रिकाका प्रकाशक तथा सम्पादक उदयबहादुर अमात्यलाई सम्मान गरिएको थियो ।
नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखेको अध्यक्षतामा भएको शुभकामना तथा कार्यक्रम समापन समारोहको कार्यक्रम सञ्चालन नेवा पत्रकार पुचः कास्कीका संयोजक सञ्जय मल्लले गरेका थिए ।