बार्सिलोना/ स्पेनको नेपाली समुदायले संकलन गरि पठाएको रकमले काभ्रेको सुस्त मनस्थिति पुनर्स्थापना केन्द्रमा पक्की भान्सा कोठा निर्माण भएको छ। बाँसले बारेको अस्थायी भान्साघर मात्र भएको पुनर्स्थापना केन्द्रमा,स्पेनबाट सहयोग पुगे पछि अहिले भने पक्की भान्सा घर निर्माण भएको हो।
भान्सा कोठा बनाउँन गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेन र स्थानीय मिडिया नेपालीनेपाली डटकमले संयुक्त पहल गरि रकम संकलन गरेका थिए। स्पेनको नेपाली समुदाय लगायत संयुक्त राज्य अमेरिका र फिनल्याण्डमा रहेका केहि नेपालीहरुले पनि सहयोग पठाए पछि करिब २ लाख ४० हजार रुपैयाँ (२ हजार २ सय ६६ युरो) संकलन भएको थियो ।मिडियाले पुनर्स्थापना केन्द्रमा रहेका बालबालिका र भान्साकोठाको अबस्था बारे भिडियो तयार गरि सहयोगको अपिल समेत गरेको थियो।
गैर आबासीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय परिषद सदस्य तथा हाल युरोप उप-संयोजकका प्र्त्यासी दिपक खरेल आँफै पुनर्स्थापना केन्द्रमा पुगी अवलोकन गरेर स्पेन फर्किए लगत्तै गत मार्च महिनामा रकम संकलन अभियान शुरु गरिएको थियो।
सहयोग संकलन समितिका संयोजक समेत रहेका खरेलले भान्सा घर बनेकोमा खुसी ब्यक्त गरेका छन्। खरेलले भने,” सबैको सहयोगका कारण केन्द्रमा रहेका छात्रछात्राहरुलाई अब खाना बनाउँन धेरै सजिलो हुने छ, स्पेनबासी नेपालीहरुलाई धन्यबाद जसको सहयोगमा आज एक परोपकारी काम सम्भव भएको छ।

नेपालीनेपाली डटकमका प्रधान-सम्पादक बसन्त रानाभाटले खरेलथोक भान्साकोठा निर्माण गर्न मिडियाले स्थानिय संघसस्था सँग मिलेर गरेको परोपकारी कामले सफलता पाएकोमा खुसी ब्यक्त गरे। उनले भने,”प्रबासका गतिबिधि, राजनतिक वा समसामयिक बिषयमा मात्र नभई, आफ्नो देशका लागि, कुनै परोपकारी कामका पनि समय खर्चेर पत्रकारिता गर्न सकिन्छ भन्ने प्रेरेणा खरेलथोकले दिएको छ। ”
दशै भित्र भान्सा घर निर्माण गर्ने पुर्ब योजना अनुरुप नै काम सपन्न भएको छ। आगामी अक्टोबर २५ तारिक एक कार्यक्रम बीच भान्साघरको उद्घाटन गर्ने सुस्त मनस्थिति केन्द्रले जनाएको छ।

पुनर्स्थापना केन्द्रमा काभ्रे, सिन्धुपाल्चोक, काठमाडौं, धादिङ, मोरङ, धनुषा डोटी लगायतका जिल्लाहरुबाट गरि २५ जना छात्र छात्राहरुले आश्रय लिदै आएका छन् ।
खरेलथोकस्थित भगवती उच्च माविको ‘समाहित शिक्षा कार्यक्रम तथा सुस्त मनस्थिति पुनर्स्थापना केन्द्र’की शिक्षिका सुधा सिलवालको बिशेष पहलमा एक दशकदेखि केन्द्र संचालनमा आएको छ।
रकम संकलनका लागि नेपालीनेपाली डटकमले भिडियो तयार गर्दै,सहयोगका लागि अपिल गरेको थियो।