बार्सिलोना/
गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद युवा संयोजक पदका लागि नेदरल्यान्ड्सबाट फणिन्द्र पन्तले उम्मेद्वारी घोषणा गरेका छन्। गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका सदस्य समेत रहेका पन्तले युवाहरुको हितमा काम गर्ने भन्दै उम्मेद्वारी घोषणा गरेका हुन्।
एक दशक भन्दा लामो समय देखि नेदरल्यान्ड्समा बस्दै आएका पन्तले नेपालीनेपाली डटकम सँग कुराकानी गर्दै भने,” नेपालबाट रोजगारका लागि आउँने युवाहरु खाड़ी मुलूकमा नै धेरै छन्। उनिहरुको लागि एनआरएनले बिशेष योजना ल्याउँन सक्नु पर्छ।” योजना सहित युवाहरुको समस्यालाई सम्बोधन गर्नका लागि पनि उम्मेद्वारी घोषणा गरेको पन्तले बताए।
गैर आबासीय नेपाली संघको स्थापना काल देखि नै संघ सँग नजिक रहेर, सक्रिय रुपमा लाग्दै आएको बताएका पन्तले एनआरएन भित्रको राजनीतिक कारणले पनि काम गर्न सक्ने, योग्य युवाहरु अझै बाहिर रहेको बताए। उनले भने,” धेरै सक्षम युवाहरु संघको संजाल देखि बाहिर छन्, ति सबैलाई समेट्न सक्नुपर्छ। राजनीतिक रुपमा सक्रिय भएकालाई मात्र अबसर मिल्ने परम्पराको अन्त्य हुनु पर्दछ।”
गोर्खा जिल्ला स्थायी घर भएका पन्तले नेपालमा एमएससी सम्मको शिक्षा हासिल गरेका छन्। यस्तै नेदरल्यान्ड्समा पनि उनले रक्त संचार सेवामा पोष्ट ग्रयाजुयट सम्पन्न गर्दै नेदरल्यान्ड्स सरकार र त्यहिँको रेडक्रस द्वारा संचालित ब्लड ब्याङ्कमा बिगत ८ बर्ष देखि काम गर्दै आएका छन्।
युवा संयोजकमा उम्मेद्वारी किन ?
युवा संयोजक पदमा उम्मेद्वारी घोषणा गर्नुको कारण खुलाउदै पन्तले युवा संजालमा आफ्ना बटा ३ संकल्पहरु रहेको बताएका छन्। उनले भने,” आगामी २ बर्ष, ६ बर्षे र १२ वर्षे कार्ययोजना विभिन्न मापनमा पूरा गर्न सक्ने छौ।
मुलभूत रुपमा ‘के गर्ने’ भन्ने कुराको प्रस्ताव मैले युवा नेतृत्वको भूमिकामा राखे पनि कसरी गर्ने’ भन्ने कुरा ७१ देशकै युवा संयोजक, राष्ट्रिय तथा अन्तराष्ट्रिय नेतृत्वको” टिम वोर्क ” बाट तय हुनेछ।”
युवाहरुनै संस्थाका स्थायी मानवीय श्रोत हुन्। मानवीय श्रोत नै आर्थिक तथा भौतिक श्रोत तथा नेपाल निर्माणको एक दरिलो आधार हुनेछ भन्दै उनले २ वर्ष भित्र दश हजार, ६ वर्षभित्र पचास हजार र १२ वर्षमा एक लाख स्वयंसेवकहरुको स्थायी नेटवर्क स्थापना गरि नेपाल निर्माणको लागि परिचालन गर्ने योजना सार्बजनिक गरेका छन्।
पन्तले ‘म नेपालको स्वयंसेबक” भन्ने अभियानलाई निरन्तर अघि बढाए यो सम्भव हुने बताउँदै संस्थाको आधार युवा र युवाको सामाजिक आधार संस्था हुनेमा बिश्वास ब्यक्त गरेका छन्।
उनले यस बारे प्रष्ट पार्दै आँफू ‘टिम स्पिरिट’ मा बिश्वास गर्ने भएकाले सधैँ ‘माइनोरिटी’ को सम्मान गर्ने पनि बताए। नेपाल कमजोर मुलुक भएकोले पनि एनआरएनले गर्नुपर्ने कामहरु धेरै छन्,त्यसैले सबै प्रबासमा रहेका युवा, कामदार/श्रमिक तथा विद्यार्थीहरुले भोग्नुपरेको समस्या तथा निराकरणको सम्भावनाहरुको बारेमा छलफल गर्न जरुरी छ पन्तले भने।
एनआरएनले गर्नुपर्ने कामहरु धेरै रहेको बताउँदै आँफू बसोबास गरेको देशमा युवा, कामदार/श्रमिक तथा विद्यार्थीहरुले भोग्नुपरेको समस्या तथा निराकरणको सम्भावनाहरुको बारेमा प्रतक्ष्य जानकारी लिनुपर्नेमा जोड दिए।
एक दशक पार गरिसकेको एनआरएन संजालमा दोश्रो पुस्ताको आवश्यकतालाई पनि सम्बोधन गर्नुपर्ने बताउदै पन्तले एक दूरदर्शी र सक्षम नेतृत्वको जरुरत र महसुस गर्दै आँफुले उम्मेद्वारी घोषणा गरेको बताउँछन्।
युवा संयोजक पदमा नै फ्रान्सबाट निर्मल अर्यालले पनि उम्मेद्वारी घोषणा गरिसकेका छन्।