– गगन थापा
सवैले संयमता अपनाऔं हिंसाको विरुद्ध, सामाजिक सदभाव र सहिष्णताका निम्ति हामी जहाँ छौं त्यहिवाट योदान गरौं । कैलालीको घटनाले हामी सवैलाई स्तव्ध बनाएको छ ।
सिमाङ्कनको विषयलाई लिएर देशभर असन्तुष्टी थियो । सैद्दान्तिक आधार विना कहिले ८, कहिले ६ र कहिले ७ प्रदेशमा हचुवाका भरमा सिमाङ्कन गरिदा असन्तुष्टी थप वढ्यो । असन्तुष्टी प्रकट गर्ने एउटा माध्यम प्रदर्शन हो । प्रदर्शनका क्रममा कहिलेकाहि सुरक्षाकर्मीसंग झडप पनि हुन्छ । अनि कहिलेकाहि अतिरिक्त वल प्रयोगको अवस्था आउँदा घटना पनि हुन्छ । तर हिजो कैलालीको टिकापुरमा जे भयो हाम्रो समाजमा अत्यन्त निकृष्ट प्रदर्शन भएको छ । जिउदै जलाएको यो घटना क्रुरताको पराकाष्ठा हो । यसको जति नै निन्दा गरे पनि कम हुन्छ ।
किन यस्तो भयो होला?
१. वि.सं. २०५२ देखि २०६२ सम्म माओवादीले जे गर्यो, जुन विषय उठायो त्यसको वारेमा हाम्रा आफ्ना आफ्ना मतहरू छन । बन्दुकको नालवाट जनवादी सत्ता स्थापना गर्न हिडेको माओवादीको यात्रा आज लोकतन्त्रमा आएर टुङ्गिएको छ जुन सुखद छ, तर ति बर्षहरूमा माओवादीले आफ्नो यूद्धको दौरान जुन तरिका अपनायो त्यो सहि थियो कि गलत?
शान्तिप्रकृयामा आएपश्चात माओवादीले हिजो गरेको त्यो हिंसा, व्यक्तिहत्या, ज्यादति र मानवताविरुद्धको अपराधको कुनै प्रायश्चित गर्नुपरेन बरु महिमामण्डन गर्यो । न त राज्यले नै गर्न आवश्यक ठान्यो । हिंसा,अराजकता, भिडतन्त्र, व्यक्तिहत्या र जातीयता र संवेदनहीनताको विउ त्यतिवेलै रोपियो । आज त्यसैको मुल्य चुकाउदै छौं हामी ।
अहिले नयाँ संविधानको प्रस्तावित प्रस्तावनामा विगतको “शसस्त्र संघर्ष’ मा गौरव गर्दै लेखिएको छ । यो हेर्दा सामान्य देखिन्छ । सायद त्यसैले होला प्रस्तावनामा बहुलवाद र समाजवाद राख्ने वा नराख्ने भन्नेमा त्यत्रो छलफल हुँदा पनि ‘शसस्त्र संघर्ष’ हटाउनुपर्छ भन्ने मेरो संसोधनमा बोल्न कोहि ईच्छुक भएन । भएको युद्धलाई किन संबोधन नगर्ने भन्ने पनि कतिपयलाई लागेको होला । तर यो सामान्य विषय होइन हिजो संघर्षको नाममा गरिएको व्यक्तिहत्या र मानवता विरुद्धका अपराधहरू जायज थिए भनेर संविधानले नै स्वीकारिन्छ र आज कुनै दल वा समुहले कुनै राजनीतिक प्रयोग वा स्वार्थको लागि व्यक्तिहत्या गर्नेले भोलीलाई वैद्यानिक हुने आधार प्राप्त हुन्छ ।
यस्तोमा त हाम्रो धारणा निष्पक्ष र निरपेक्ष रुपमा एउटै हुनुपर्छ र भन्नसक्नुपर्छ- कुनै पनि राजनीति वा कुनै पनि आन्दोलनको नाममा प्रयोग हुने हिंसा गलत हो, यो निन्दनीय छ, अवैधानिक र असंवैधानिक छ । हिजो पनि गलत थियो, आज पनि छ र भोली पनि रहन्छ।
२. संसदमा सत्यनिरुपण तथा वेपत्ता सम्बन्धी विधेयक पेश भयो, एउटा प्रावधान थियो आम माफीको । डा. गणेश मण्डल र मैले संसोधन प्रस्ताव राख्यौं र भन्यौं- गम्भिर अपराधमा संलग्न दोषि भए पिडकले कारवाही भोग्नुपर्छ मेलमिलाप र क्षमादान हुदैन यदि क्षमादान दिने हो भने भोली कोहि डराउदैन, त्यसैले संसोधन गरौं ।
हाम्रो भनाई थियो- शान्तिको नाममा त्यस्ता अपराधमा संलग्नलाई दण्डित नगर्ने हो र उन्मुक्ति दिने हो भने भोलिको दिनमा कुनै पनि पक्षले त्यस किसिमको गम्भिर अपराध गर्यो भने त्यसको विरोध गर्ने त्यस किसिमको जघन्य अपराधमा संलग्नलाई कारवाही गर्छौ भन्ने राजनीतिक र नैतिक आधार गुम्नेछ र हिंसा जायज थियो र छ भन्ने मान्यता स्थापित हुनेछ।
अहिलेको हाम्रो असहमति हिजोको हिंसा नाजायज थियो भन्ने त हो नै भोलिको समाज कस्तो बनाउने भन्ने तर्फ पनि उत्तिकै जोडिएको छ। तर न संसदमा समर्थन भयो न त द्वन्द्वपिडित समुदाय वाहेक वाहिरको चासो नै भयो । प्रत्येकलाई अहिले कुनै पनि अमानविय काम गर्दा डर नै छैन किनकी भोलि जोगिने सुनिश्चितता छ ।
अव कहिंवाट शुरू गर्नु नै पर्छ । हामीलाई कैलाली घटनाले फेरी झक्झकाएको छ ।
यो घटनावाट शुरू गरौं । सिमाङकनको विषय संवैधानिक र राजनीतिक विषय हो । यसमा हाम्रो पनि असहमति छ । दलहरू संवेदनशील वनेर यसको निरुपण गर्नैपर्छ । मूख्य दलहरूले थारू लगायतका समुदायले उठाएको मागको राजनीतिक हल खोज्ने निर्णय गरेका छन जुन सकारात्मक छ । सिमांकन फेरौंला एक पटक होइन आवश्यकता परे १० पटक फेरौंला, राजनीतिक कुरा मिलाउँला, मिलाउनुनै पर्छ । तर हामीलाई बनि परिसकेको छ राजनीतिक हल खोज्दै गर्दा हामी अब हिजो भएको घटनालाई भुल्नेछौँ , बिर्सिदिनेछौँ ।
तर अब यस्तो हुनु हुन्न, सिमांकनको हल खोज्दै गर्दा हिजो भएको अमानवीय कामलाई अलग राखेर नै हेर्नुपर्छ किनकी कुनै कुनै पनि नाममा, कुनै पनि बहानामा हुने यस किसिमको क्रुर हिंसाको औचित्यताको पुष्टि हुन सक्दैन । यो भिडले गरेको भनेर उन्मुक्ति दिने होईन, यो क्रुरतामा संलग्न प्रत्येकलाई कानूनको कठघारामा छानि छानि ल्याउनुपर्छ । हत्याराले दण्ड पाउनुपर्छ । र साथै उक्त कार्यको प्रतिशोध स्वरूप कसैले त्यस्तै कार्य गर्छ भने त्यसलाई पनि दण्डित गर्नुपर्छ ।
सामाजिक सदभाव विथोल्ने, जातीय घृणा र उत्तेजना फैलाउन ज-जसले उकासे प्रत्येकलाई पनि जवाफदेही वनाउनैपर्छ । देशभरी सिमाङ्कनको विषयलाइ लिएर असन्तुष्टि छ, यो विषयमा छलफल हुन्छ, गर्न सकिन्छ तर कसैले पनि जनभावनाको दुरुपयोग गर्न नपाओस ।
समानुभाव, करूणा हाम्रो सम्पत्ति हो, यस्तो क्रुरताको पछाडि कोही नलागौं । प्रदर्शन र नियन्त्रण दुवैमा संयमता अपनाऔं । यस्तो क्रुर काममा संलग्नहरूको न कुनै जातको न कुनै विचार, न कुनै दल न कुनै पक्ष । सवैले यस्तो प्रवृत्तिको विरोध गरौं । हिंसाको विरुद्ध सामाजिक सदभाव र सहिष्णताका निम्ति हामी जहाँ छौं त्यहिवाट योदान गरौं।
– गगन थापाको फेसबुक पेजबाट