काठमाण्डौ । सभासद्हरुले गैरआवासीय नेपाली संघको सहकार्यमा स्थापना हुन लागेको प्रस्तावित खुला बिश्वबिद्यालय संचालनको जिम्मेवारी नै गैरआवासीय नेपाली संघलाई दिनुपर्ने प्रस्ताव गरेका छन् ।
हालै संसदमा पेश गरिएको ‘नेपाल खुला बिश्वबिद्यालय विधेयक- २०७२ बारे संसदको महिला वालवालिका जेष्ठ नागरिक तथा समाज कल्याण समिति र एनआरएन नेतृत्ववीच बिहीबार काठमाण्डौमा भएको छलफलमा सभासद्हरुले एनआरएनलाई थप जिम्मेवारी दिन प्रस्ताव गरेका हुन् ।
बिश्वबिद्यालयको नाम के राख्ने, कुलपति कसलाई बनाउँदा उत्तम हुने र बिश्वबिद्यालय सभामा गैरआवासीय नेपाली संघको प्रतिनिधित्व कति हुने लगायतका बिषयमा छलफल केन्दि्रत थियो ।
अन्तरक्रिया कार्यक्रमलाई संबोधन गर्दै एनआरएन अध्यक्ष शेष घलेले बिदेशमा रहेका नेपालीको ज्ञान, सीप र नवप्रर्वतनलाई संस्थागत रुपमा नेपाल भित्राउने योजनाअनुरुप खुला बिश्वबिद्यालयको स्थापनाका लागि विगत सात बर्षदेखि एनआरएनले पहल गरिरहेको बताउनुभयो ।
यस्तो योगदानलाई प्रोत्साहित गर्न बिश्वका ६ वटा क्षेत्रहरुबाट एक एक जना गैरआवासीय नेपालीको प्रतिनिधित्व हुने गरी ६ जनालाई बिश्वबिद्यालय सभामा राख्नुपर्ने माग गर्नुभयो । यस्ता पदहरु अबैतनिक हुने भएकाले २३ सदस्यीय सभामा अन्य ६ जना थपिँदा खासै आर्थिक भारसमेत नपर्ने घलेको भनाई थियो ।
अध्यक्ष घलेले ज्ञानको सीमारहित स्रोतलाई नेपालमा केन्द्रीत गर्न गरिएको यो प्रयासलाई दिगो बनाउन बिश्वबिद्यालयलाई आर्थिकरुपमा सबल बनाउने गरी तयारी थाल्नुपर्ने बताउनुभयो ।
सो अबसरमा सभासद्हरुले खुला बिश्वबिद्यालय स्थापनाका लागि गैरआवासीय नेपाली संघको गरेको प्रयत्नको प्रसंसा गर्नुभयो । बिश्व ज्ञान भण्डारलाई नेपालमा आर्कषिर्त गर्न गैरआवासीय नेपाली संघले गरेको कोसिसलाई मूर्तरुप दिन आफूहरुले सक्दो योगदान गर्ने उहाँहरुले प्रतिबद्धता जनाउनुभयो ।
बिश्वबिद्यालय सभामा एनआरएनको प्रतिनिधित्व बढाउनुपर्ने मागका सन्दर्भमा अधिकांश सभासद्हरु सहमत देखिनुभयो । केही सभासद्हरुले बिश्वबिद्यालय सभामा बहुमत सदस्य नै एनआरएनलाई दिन सकिने बताउनुभएको थियो । कतिपय सभासद्ले बिश्वबिद्यालय नै एनआरएनले संचालन गर्नुपर्ने र सरकारलाई आर्थिक भार पार्न नहुने सुझाव दिनुभएको थियो ।
‘अहिले बिद्यार्थी नभएका बिश्वबिद्यालयको जस्तो सरकारलाई आर्थिक भार हुँदैन, अन्तराष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा दिइन्छ भन्ने ग्यारेन्टी गर्नुहोस्’ उहाँहरुको भनाई थियो-‘बिश्वबिद्यालय तपाइहरुले नै चलाए पनि हुन्छ । ‘
जवाफमा संघका अध्यक्ष घलेले राष्ट्रले यस्तो गम्भिर जिम्मेवारी माग गरे त्यस्तो भूमिका का लागि संघ तयार रहेको बताउनुभयो ।
सभासद्हरुले आर्थिक र ब्यबस्थापकीय भार सरकारलाई नपरोस् भन्ने आशय ब्यक्त गरेको आफुले पाएको भन्दै घलेले भन्नुभयो- यस्तो दायित्व निर्वाह गर्न पाउनु आफु, आफ्नो संगठन र सम्पूर्ण गैरआवासीय नेपालीले गौरव महसुस गर्ने बताउनुभयो ।
कार्यक्रममा खुला बिश्वबिद्यालय कार्यदलका सभापति डा. प्रमोद ढकालले बिधेयकमाथि संघको सुझाव प्रस्तुत गर्नुभएको थियो । गैरआवासीय नेपाली संघका कोषाध्यक्ष बद्री केसी, अमेरिका क्षेत्रीय उपसंयोजक सोनाम लामा, कार्यकारी निर्देशक राजेसशमसेर राणा लगायतको उपस्थीति थियो ।
समितिका सभापति डा. रञ्जुकुमारी झाको सभापतित्वमा सम्पन्न कार्यक्रममा करिव डेढ दर्जन सभासद् र विज्ञहरुको उपस्थीति थियो । – अनलाईनखबरबाट