पोखरा नगरमा ९५ प्रतिशत साक्षर


– सन्देश श्रेष्ठ
पोखरा / पोखरा उपमहानगरपालिकालाई मंगलवार साक्षर नगर घोषणा गरिएको छ । नगरमा बस्ने १५ देखि ६० वर्ष उमेर समुहको जनसंख्या मध्ये ९५ प्रतिशत साक्षर भएपछि नगर साक्षर भएको घोषणा गरिएको हो ।

पोखरा सभागृहमा आयोजित कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले पोखरालाई साक्षर नगर घोषणा गरेका हुन् ।

पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत उदयबहादुर रानामगरका अनुसार अहिले पोखराको जनसंख्या ३ लाख १३ हजार ८ सय ४१ छ । त्यसमध्ये १५ देखि ६० वर्ष उमेर समुहको संख्या २ लाख २ हजार ७ सय ४१ रहेकामा २ लाख २ हजार ९ जना साक्षर भएका छन् । नगरको साक्षर प्रतिशत ९९.६४छ ।

नगरमा रहेका १५ देखि ६० उमेरका ५ हजार ३ सय ६८ जना निरक्षर रहेकामा साक्षर अभियान संचालन गरेर ४ हजार ६ सय ३६ जनालाई साक्षर बनाइएको दावी नगरपालिकाले गरेको छ ।

१४ वडा शतप्रतिशत साक्षर

पोखरा उपमहानगरपालिकाकाका वडा नम्बर २, ३, ४, ५, ७, १४, १६, १७, २३, २४, २५, २६, २७ र २८ का जनता शतप्रतिशत साक्षर भएको तथ्यांकले देखाएको छ ।

सरकारले सन् २०१५ सम्ममा १५ देखि ६० वर्ष उमेरका सबै जनतालाई साक्षर बनाउन कार्यक्रम संचालन गर्दै आएको छ । सोही कार्यक्रमअनुसार नगरपालिकाले निरक्षर जनतालाई साक्षर बनाउन अभियान संचालन गरेको थियो ।

सहकार्य नगरेको गुनासो

कार्यक्रममा टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष उज्ज्वल खत्रीले नगरपालिकाले निरक्षरलाई साक्षर बनाउन टोल विकास संस्था र आमा समुहसँग सहकार्य गरेको भए साक्षर प्रतिशत शतप्रतिशत पुग्ने दाबी गरे ।

उनले आफूहरुसँग सहकार्य नगरेकोप्रति गुनासो गर्दै साक्षर घोषणा भएकोमा भने खुशी व्यक्त गरे । यसअघि पोखराको चिप्लेढुंगाबाट पञ्चेबाजासहित सुरु भएको र्‍याली न्यूरोड हुँदै पोखरा सभागृहमा पुगेर घोषणा सभामा परिणत भएको थियो । र्‍यालीमा टोल विकास संस्था, क्लव, आमा समुह लगायतको सहभागिता थियो ।