भुकम्पको केन्द्रविन्दु वारपाकमा पुनः बस्ती बसाल्न सुरक्षित


सन्देश श्रेष्ठ
पोखरा/
पोखरा पर्यटन पूनरुत्थान समिति (पिटीआरसी)ले गत वैशाख १२ गते गएको बिनाशकारी भुकम्पको केन्द्रबिन्दु रहेको वारपाक सुरक्षित रहेको निश्कर्ष निकालेको छ । पिटीआरसीको आयोजना, नेपाल पर्यटन वोर्डको प्रवद्र्धन तथा पोखरा पर्यटन परिषदको संयोजनमा वारपाकको पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले वारपाक गएको पर्यटन व्यवसायी र पत्रकारहरुको टोलीले वारपाकमा पुनः बस्ती बसाल्न सकिने निश्कर्ष निकालेको हो ।

भुकम्पको केन्द्रविन्दु वारपाकमा भौतिक तथा मानवीय क्षेति अत्यधिक पुगेपनि अहिले पुनः बस्ती बसाल्न सकिने निश्कर्ष निकाल्दै घुम्ने पर्यटकका लागि पनि वारपाक सुरक्षित रहेको पिटीआरसी संयोजक गणेशबहादुर भट्टराईले बताए । उनले भने,–‘भुकम्पको केन्द्रविन्दु वारपाक भौगोलिक दृष्टिकोणले सुरक्षित छ, बरु यहाँको भौतिक संरचना कमजोर हुँदा क्षेति भएकाले अब घर पुर्ननिर्माण गर्दा मजबुत घर निर्माणमा ध्यान पु¥याउनुपर्छ ।’

पोखरा पर्यटन परिषदका अध्यक्ष सोम थापाले पनि वारपाकमा पुनः बस्ती बसाल्न सुरक्षित रहेको बताउँदै त्यसका लागि स्थानिय तात्नुपर्ने बताए । उनले वारपाक केन्द्रविन्दु भइकन पनि उत्तिसारो चिरिएको, धाँजा फाटेको नभेटिएको बताउँदै बस्ती बसाल्न र पर्यटक घुम्न सजिलै सकिने बताए ।

आफूलाई पनि वारपाक पुग्नुअघी सुरक्षित छैन कि भन्ने भ्रम रहेको बताउँदै उनले भने,–‘हामीले जति सोंचेका थियौं, त्यति क्षेति रहेनछ वारपाकमा, यहाँ पुनः बस्ती बसाल्न समस्या छैन र पर्यटकलाई घुम्न पनि ।’ उनले राज्यले पनि नीति बनाएर सघाउनुपर्नेमा जोड दिए ।

पिटीआरसीका सदस्य सचिव तथा पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष टिकाराम सापकोटाले पनि वारपाक सुरक्षित रहेकाले अब पुनः ब्यबस्थित बस्ती बसाल्न तिर लाग्नुपर्ने बताए । उनले भुकम्प प्रतिरोधी घर बनाएर वारपाकमा सुरक्षित बस्ती बसाल्न सकिने बताए ।

पुर्ननिर्माण र पर्यटन प्रवद्र्धनमा सघाउने प्रतिबद्धता

पिटीआरसीले वारपाकको पुर्ननिर्माण र पर्यटन प्रवद्र्धनमा सघाउने प्रतिबद्धता जनाएको छ । पिटीआरसी संयोजक गणेशबहादुर भट्टराईले वारपाकको पुर्ननिर्माणका लागि पिटीआरसीको तर्फबाट ५ लाख दिने घोषणा गरे ।

उनले आफूले सञ्चालन गर्दै आएको वुमराङ रेष्टुरेण्टको तर्फबाट होम स्टे सञ्चालन गरेका २२ घरलाई शौचालय निर्माणका लागि जनही १०/१० हजार दिने घोषणा गरे ।

कार्यक्रममा बोल्दै भट्टराईले वारपाक पुर्ननिर्माणमा पछिपनि सघाउने बताए । उनले अब पोखरा र वारपाकका पर्यटन व्यवसायीले हातेमालो गर्नुपर्ने बताउँदै भने,–‘वारपाक ऐतिहासिक ठाउँ हो, यहाँको प्राकृतिक दृश्य र संस्कृति साँच्चै लोभलाग्दो छ, त्यसैले तपाईंहरुले यसलाई जोगाई राख्नुहोला, हामी तपाईंहरुलाई पर्यटन प्रवद्र्धनमा सघाउँछौं ।’ उनले पर्यटन वोर्ड, पर्यटन मन्त्रालयसहित सबै ठाउँमा वारपाकको प्रवद्र्धनका लागि पहल गरिदिन आफूसहित आफ्नो टोलीले आग्रह गर्ने बताउँदै पोखरा आएका पर्यटक वारपाक पठाउने पनि प्रतिबद्धता जनाए ।

आउने सिजनमा फ्रान्सबाट एकटोली आफ्नो निमन्त्रणामा पोखरा आउन लागेको बताउँदै उनले उक्त समयमा आफूसहित उक्त टोली लिएर पुनः वारपाक आउने बाचा गरे ।
पोखरा पर्यटन परिषदका अध्यक्ष सोम थापाले वारपाकको पर्यटन प्रवद्र्धनका लागि आफूले सक्दो प्रयास गर्ने बताए ।

उनले होम स्टे पुनः सञ्चालन गर्न आग्रह गर्दै भने,–‘तपाईंहरु यहाँको बसाई व्यवस्थित बनाउनुस्, हामी पर्यटक पठाउँछौं ।’ उनले पोखराको पर्यटक वारपाक र वारपाक आएका पर्यटक पोखरा पठाउन सकिने भन्दै यसका लागि आफूहरु तयार रहेको बताए ।
पिटीआरसीका सदस्य सचिव तथा पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष टिकाराम सापकोटाले वारपाकको पर्यटन प्रवद्र्धन गर्न आफूहरुले शुरु गरिसकेको बताए ।

उनले भ्रमणको उद्धेश्य नै वारपाकलाई विश्वमाझ चिनाएर पर्यटकीय गन्तव्य बनाउन सघाउनु रहेको स्पष्ट पार्दै आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताए । उनले प्राकृतिक र सांस्कृतिक हिसाबले नमूना गाउँ वारपाकमा आफूहरु पर्यटक पठाउन आतुर रहेको बताउँदै वारपाकबासीसँग सहकार्यको प्रस्ताव गरे ।

वारपाक पर्यटन विकास समितिका अध्यक्ष खेम घलेले वारपाक सबै हिसाबले उत्कृष्ट गन्तव्य स्थल रहेको बताउँदै पर्यटन प्रवद्र्धनमा सघाउन आग्रह गरे । उनले भुकम्पअघी जस्तै अहिलेपनि वारपाकबाट बुद्ध हिमाल सजिलै देख्न सकिने बताउँदै मनाश्लु पदमार्ग पनि सुरक्षित रहेको बताए । उनले भने,–‘ प्राकृतिक सुन्दरता उस्तै छ, संस्कृति अझै जिवन्त छ, जस्तै गर्मीमा पनि शितल हुने ठाउँ वारपाकमा जिव्रोमा झुण्डिने पानीको मुहान अहिलेपनि जस्ताको तस्तै छ ।’

पिटीआरसीको नेतृत्वमा गएको टोलीमा पोखरा पर्यटन परिषद, पश्चिमाञ्चल होटल संघ, पोखरा उद्योग वाणिज्य संघ, टे«किङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान), रेष्टुरेण्ट एण्ड बार एशोसियसन, टेसा, एगा लगायतका संघसंस्थाका पदाधिकारी तथा प्रतिनिधिसहित पत्रकारहरु सहभागि थिए । टोली शनिबार राती पोखरा फर्किएको छ ।