– प्रकाश ढकाल
अहिले देशमा नयाँ संविधान बन्दै छ । यहि बन्दै गरेको संविधानमा कानूनको रुपमा लिखत हुने कुराहरु अब भविष्यमा राज्यले पालना गर्नु पर्ने हुन्छ । बन्दै गरेको संविधानमा विविध प्रावधान राख्न अभ्यास भैरहेको छ । यहि विविध प्रावधान अन्तर्गत अब पत्रकारहरुको पनि योग्यताको तय हुनु पर्दछ । उचित समय यहि हो । राज्यको चौथो अंग भएकै खण्डमा अब पनि कुनै योग्यता नराख्ने हो भने नेपाली पत्रकारिताको स्तर झर्ने कुरा निश्चित छ ।
व्यवसायीक रुपमा केहि काम गर्न खोजिन्छ भने त्यसको कसी र योग्यताको जांच पनि हुनु पर्दछ । नेपाली पत्रकारीताका कमि कमजोरी नभएका हैनन् । तर ती कमजोरीहरुलाई अहिलेक्कै अवस्थामा छाड्न पनि मिल्दैन त्यसैले अब बन्ने संविधानमा राज्यको चौथो अंगलाई राम्रो संग परिभाषीत गर्ने मात्र हैन क्रियाशील र क्रियाशील हुन खोज्ने पत्रकारहरुको योग्यता पनि तोक्नु पर्छ ।
योग्यता किन तोक्ने भन्ने कुरालाई केलाउनको लागि विभिन्न सन्दर्भहरुलाई हेर्नु आवश्यक छ । अस्ति भर्खरै कृषि मंत्री हरि पराजुली संग जोडिएको घटनाले नेपाली परकारिताको चरित्रलाई उदाङ्गो पार्छ । यसलाई दुइ पाटोबाट हेरिनु पर्छ । पत्रकारहरुले शशक्त रुपमा आवाज उठाएकोले सरकारमा सहभागी दलको आँखा खुल्यो र मन्त्रीले राजिनामा दिनु पर्यो । तर यहि घटनासंग जोडिएका ती अवोध महिलाको पनि केहि हक र अधिकार थियो तर त्यसको ख्याल नेपाली पत्रकारिताले गर्न सकेन ।
ती महिलाहरुको कुनै दोष थिएन तर उनीहरुको तस्वीर मन्त्री संगै पत्रपत्रिका अनि विभिन्न अनलाइन हरुमा छ्यापछ्याप्ती आए । ती महिलाहरुको अनुहार छोप्नु पर्छ भन्ने सामान्य नियमको पनि ख्याल गर्न सकेन नेपाली पत्रकारिताले । एउटी महिलाको तस्वीर त्यसरी सार्वजनीक गर्नु अपराध हो कि होइन ? ती महिलाहरुको के गल्ती थियो र ? ती महिलाहरुको इज्जतको पनि ख्याल गरिएन ।
हरेक व्यक्तीको गोपनियताको हक हुन्छ त्यसको पनि ख्याल गर्न सकेन नेपाली पत्रकारिता जगतले । मन्त्रीको कर्तुत संगै महिला पनि सामेल भएको छनक दियो नेपाली पत्रकारिताले । योग्य पत्रकारले यस्तो काम गर्दै गर्दैन । त्यसकारण समस्या अयोग्य हुनुमा छ ।
त्यो ठुलो गल्ती थियो तर गल्ती भएको भनेर न कुनै पनि पत्रकारले त्यसको महशुश गर्ने काम भयो न त कुनै पत्रिका र दर्जनौ अनलाइनले नै गरे । बरु ती महिलाका नाममा खुला पत्र, मन्त्रीका नाममा खुला पत्र भन्दै मनगढनते र भावनाका कुरा समेटिएको लेख राखी ध्यान अन्तै मोड्ने प्रयासमा अब नेपाली पत्रकारिता लाग्ने निश्चित छ ।
गलत कामलाई अनावश्यक मसला बनाएर दिंदा पाठक बढ्ने र अरु भन्दा लोकप्रिय बन्न खोज्ने काम हो भने त्यस्तो काम गर्न बन्द गरियोस । यती मात्र हैन कसैसंग रिस उठेको छ र मन नपरेको मानिसको खेदो खन्ने काम पनि गरिन्छ । जुन विल्कुलै पत्रकारिताको मान्य भन्दा विपरीत हो ।
पत्रकार भनेको राज्यको हरेक पक्षलाई समान ढंगले हेर्न सक्ने हुनु पर्छ । काठमाडौलाई बढावा दिंदै गर्दा जुम्ला र जाजरकोटले के पायो भन्ने कि नभन्ने ? नेपालका अरबपती विनोद चौधरी जस्ता व्यापारीहरुको कथा लेख्दै गर्दा जुम्लाका मल पनि नपाउने गरीब किसानको पिडा लाई लेख्ने कि नलेख्ने ?
चितवनको बढ्दो गर्मीको कुरा लेख्दै गर्दा कोशीका बाढी पिडितहरुको पिडालाई बाहिर ल्याउने कि नल्याउने ? काठमाडौ र शहरी क्षेत्रमा म्याद गुजरेका औषधीलाई नष्ट गर्दै गर्दाको खबर आउँदा डोटी र बाजुराको हेल्थपोस्टमा औषधी मुलो नपाएका बिरामीहरुको पिडा लेख्ने कि नलेख्ने ?
भुकम्प पिडित बनेका काठमाडौ टुँडिखेलको टेन्ट भित्रका कथा मात्र लेख्ने कि सिन्धुपाल्चोक, धादिङ् अनि गोरखाको वास्तविक पिडितहरुको कथा लेख्ने ? यी लगायत धेरै प्रश्नहरुको उत्तर नेपाली पत्रकारिताले अब दिनु पर्नेछ ।
आफनो अङ्क, भिनाजु तथा मामा वा त्यस्तै नातेदार भ्रष्ट्राचार र घुषखोरमा लिप्त छन् भन्ने जान्दाजान्दै थाहै नपाएको झैं स्वाङ्ग पार्ने पनि छन् नेपाली पत्रकारितामा । त्यसलाई उजागर गर्न अर्को कुनै पत्रकारले सक्दैन कारण ‘साथि’ पत्रकारको नातेदार भएको कारणले । समाजको ऐनाको भूमिका निर्वाह गरिरहेको पत्रकारले यी र यस्ता कुरा गर्न हिच्किचाउँछ भने उसमा योग्यताको कमी छ । समस्या अयोग्य भएको कारणले भएको हो ।
पत्रकारिताका पनि विविध विधा हुन्छन । आर्थिक, कुटनैतिक, समाज, विदेश सम्बन्ध, अन्तराष्ट्रिय सम्बन्ध, राजनीतिक, स्वाश्थ्य, शिक्षा आदी । यी विषयमा कलम चलाएर पोख्त भएका निकै कम छन् । अर्थसास्त्र नपढेको पत्रकारले कसरी आर्थिक विधामा लेख्न सक्छ ? विदेश सम्बन्धमा कुनै ज्ञान नभएकोले कसरी दुइ देशको सम्बन्धको बारेमा कलम चलाउन सक्छ ?
तर यी कुरा नेपाली पत्रकारितामा भैरहेको छ । कुनै अनुसन्धान र जानकारी बिना हचुवाको भरमा लेख्ने गरिन्छ । कहिले ‘नेपाल भारतको सम्बन्ध उच्च छ’ भनेर त्यहि पत्रकारले लेखेको हुन्छ भने पछि फेरि त्यहि पत्रकारले नेपाल ‘भारत सम्बन्धमा दरार उत्पन्न’ भनेर लेख्छ भने उसको कुरा कसरी पत्याउने ?
राजनीतिक गुटको पछि लागेको पत्रकारले आफनो नेताले गरेको नीतिगत भ्रष्ट्राचारका बारेमा देखो नदेखो गर्नु पत्रकारिताको धर्मभित्र पर्दैन । राम्रो काम गर्ने र कुनै विवादमा नपरेको नेताको गुणगान गाउन पनि पछि पर्नु हुँदैन । तर विचार नमिलेको भन्दैमा अर्को पार्टीको नेताको सन्दर्भ भन्दा पनि बाहिरको सानो भन्दा सानो कुरालाई तीलको पहाड बनाएर उसका राम्रा कुरालाई गौण बनाउने काम गरिन्छ भने त्यो ‘पीत पत्रकारिता’ हो ।
तर यी कुराहरु अब नेपाली पत्रकारिताले परिवर्तन गर्ने बेला आएको छ । नेपालको सन्दर्भमा कस्तो मापदण्ड र योग्यता तोक्ने भन्ने पनि तुरुन्तै तय हुनु आवश्यक छ । कमि कमजोरी ज्ञान, शिक्षा र अनुभवको कारण भएको हो भने त्यसलाई सम्बोधन गर्नु आवश्यक हुन्छ । शैक्षिक योग्यता र काम गरेको अनुभवको योग्यता अब तोक्ने बेला यहि हो ।
हाम्रै छिमेकी देश भारतमा पत्रकार बन्न कुनै योग्यता चाहिंदैन भने चीनमा पत्रकार बन्न यात स्नातक तह उत्तीर्ण भएको हुनुपर्छ यात १२ कक्षा उत्तीर्ण भै कम्तीमा तीन वर्ष रिपोर्टरको रुपमा काम गरे पश्चात मात्र ‘पत्रकार’ बन्न योग्य हुन्छ । अमेरिकामा र बेलायतमा स्नातक तह उत्तीर्ण हुनु पर्छ । युरोपका अधिकांस देशमा योग्य पत्रकार बन्न स्नातक तह उत्तीर्ण र १२ कक्षा सकेर तीन वर्ष रिपोर्टर भएर काम गरेको हुनुपर्छ ।
नेपाली पत्रकारिताको समस्या भनेको योग्य पत्रकारहरु नभएर होइन अयोग्यहरुको भीड धेरै भएर हो । निकै होनाहार पत्रकारहरु पनि नेपाली पत्रकारिता जगतले पाएको छ । तर ती मध्य पनि केहि योग्यहरु पनि आफनै विचार र दर्शनहरुबाट प्राभावित बनेर ‘खाल्डो’ बाट बाहिर निस्कन नसकेको कारण समस्या भोग्नु परेको हो ।
अब बन्ने संविधानमा पत्रकार बन्नको लागि योग्यता, शिक्षा, ज्ञान, आदि कुराको लिपिवद्ध गर्नको लागि सबैले आवाज उठाउँ । संविधान बन्ने क्रममा छ र नेपाली पत्रकारिताको पूर्ण व्यवसायीकताको लागि आवाज उठाउने बेला यहि हो । ‘फलामलाई आकार दिनु छ भने तातेको बेलामा हिर्काउने’ हो चिसो भएपछी कुनै आकार दिन सकिंदैन ।