– कालिकाप्रसाद भण्डारी
जन्मँदा सामान्य थिएँ, अरुजस्तै हिँड्ने, डुल्ने र खेल्ने । सामान्य बालबच्चाजस्तै हाँसीखुशीका साथ जिन्दगी बितिरहेको थियो । वि.सं. ०३१ सालमा बाहिर झरी परिरहेको याद छ । पिँढीमा राखिएका काठहरु त्यसमाथि ढुंगाका छपनी, बालापनको भाँडाकुटी चलिरहेको थियो । तर, एक्कासी पिँढी भत्कँदा तिनै काठ र छपनीहरु अभिशाप बने ।
देब्रे खुट्टा च्यापियो । त्यतिबेला अस्पतालमा डाक्टरहरु थिए, तर स्रोत र साधन थिएन । दाइ नेपाल आर्मीमा हुनुहुन्थ्यो अलिअलि खर्च जुटाएर घटना भएको २ बर्षपछि मात्र बीर अस्पतालमा गएर मेरो खुट्टामा प्लास्टर लगाइयो ।
तत्कालै अप्रेशन गर्न पाएको भए अवस्था सामान्य हुन सक्थ्यो होला । तर, मेरो जीवन त्यो अवस्थामा र्फकन सकेन । देब्रे खुट्टाले पूर्णरुपमा टेक्न नमिल्ने भयो ।
११ वर्षको उमेरमा मेरो जीवन बैशाखीबाट शुरु भयो । बाबुआमाको प्रेरणाले मैले पढ्ने हिम्मत गरें । स्कुलमा मलाई धेरै गिज्याउथे । मलाई हेर्नेहरुको भिड हुन्थ्यो । ‘पेन्सन आयो पेन्सन’ भन्थे । अर्थपछि बुझ्दै जाँदा लडाइँमा लडेका सिपाही घाइते भएपछि पेन्सन आउने हुँदा मलाई पेन्सनवाला भनेर जिस्काएका रहेछन् ।
गाउँमा बुझ्ने बुढापाकाहरुले नै गिज्याउन थालेपछि सँगै पढ्ने साथीहरुको के नै कुरा गर्ने ? स्कुलमा अपमानित नभएको र दुखी नभएको सायद कुनै दिन थिएन होला । तर, पढ्ने हिम्मत छोडिन । एसएलसी पास गरे । एसएलसीको सम्मको मात्र यात्रा होइन, बि.स. ०६० मा मैले बीए पास गरें । तर, पढाइको यात्रामा विविध कारणले पूर्णविराम लाग्यो ।
पहिले-पहिले अपाङ्गलाई हेर्ने सोच र विचार फरक थियो । त्यस्तो परिवेशमा आˆनो जीवनलाई गुजारेको म, आफूजस्तै अन्य अपाङ्गलाई भोग्न नपरोस् भन्नाका खातिर १७ वर्षको लामो जीवन त्यस्तै संघ सस्थामा बिताएँ ।
पारा ओलम्पिक कमिटी, राष्ट्रिय अपाङ्ग महासंघ, अपाङ्ग सेवा केन्द्र , समाज कल्याण परिषद लगायतका संघ संस्थामा लागेर जीवन गुजार्दा कम्तिमा आफूले संघर्ष गरेर पढेकोमा गर्व लाग्दछ ।
पहिलो अपाङ्ग नागरिक टमलाई सम्मान गरिएपछि
सन् १९९८ मा जस्तो लाग्छ अमेरिकन नागरिक टम हुइटेकरलाई आफैले काम गर्ने संस्था पारा ओलम्पिक कमिटीले सम्मान गर्यो । उनलाई सगरमाथा सफल आरोहण गरेकोमा सम्मान गरिएको थियो । तर उनी साधारण थिएनन् सफल आरोहण गर्ने पहिलो अपाङ्ग ब्यक्ति थिए । मेरो जिन्दगीले उनलाई देखेपछि नयाँ मोड लियो । अपाङ्ग भएर पनि आँट गरेमा जे कुरा पनि सम्भव छ भन्ने प्रेरणा मिल्यो ।
म आफू पनि सगरमाथा चढूँजस्तो आँट आयो । सायद त्यो बेला प्रयाप्त स्रोत साधन र पैसा भएको भए चुचुरो चुम्ने आँट गर्थें पनि होला । तर, आफूसँग पैसा थिएन । केही त गरुँ भन्ने लाग्दथ्यो । साइकल चलाउँछु भन्ने हिम्मत गरें र विश्व यात्रामा निस्कने फैसला लिएँ ।
पहिलो साइकल यात्रा भारत
मेरो आफ्नो साईकलबाट गरेको पहिलो यात्रा भारतको थियो । पाकिस्तान, श्रीलंका, माल्दिस, बंगलादेश, बर्मा, थाइल्याण्ड, सिङ्गापुर, फिलिपिन्स लगायतका मुलुकहरुमा मैले सफल यात्रा गरें ।
जंगलको बाटो हुँदै जादा साह्रै गाह्रो हुने रहेछ । बाटोमा कोही भेटेर सोध्यो भने पनि राम्रो र असल मान्छे मात्र कहाँ भेटिन्छ र ? बंगलादेशको एउटा यस्तै घटनाको सम्झना छ । बाटो देखाउँछु भनेर भन्यो र म उही मान्छेको पछि-पछि लागँे ।
तर, उसको पिछा गर्दै जाँदा नदीको किनारतिर लान थाल्यो, मलाई शंका लाग्यो र मोटर आइरहेका बेला उसको आँखा छलें । एउटा क्यापजस्तो ठाउँमा डराई-डराई पुगें, पुलिस स्टेशन रहेछ भाग्यले बाँचे । त्यही पुलिसको सहारामा लुट्नबाट जोगिएँ र मेरो उद्दार उनीहरुले नै गरिदिए ।
तर, मेरो यात्रामा कोही पुलिस भगवान बनेर आए त कोही लुटेरा । कहीँ मलाई लुट्नबाट जोगाए त कहीँ उनीहरुबाट नै लुटिए ।
केन्यामा यसरी लुटिएँ
होटलमा बसेको थिएँ, होटेलको छतबाट हिन्दु मन्दिरजस्तो देखें । हतपत ओर्लेर मन्दिर देखिएको ठाउँतिर प्रस्थान गरें र भेटें पनि । भारतीयहरु रहेछन्, हिन्दीमा कुरा गरे ।
मन्दिरका महाराजाले यतै आश्रय लिन अनुरोध गरे । मैले खोजेको पनि त्यस्तै थियो । जंगलको बास बस्ने मलाई मन्दिर त बंगला नै भयो । मन निकै खुशी थियो ।
उनले होटलबाट सामान ल्याउनका लागि अरुलाई नै अह्राए र मलाई खाना खान पठाएँ । म यसो बाहिर मात्र के निस्केको थिएँ, पुलिस हुँ भन्दै डकुमेन्ट माग्यो । मैले सोधेँ-पुलिस हुँ भनेर कार्ड देखाउँदैमा कसरी पत्ताउने ? उसले पेस्तोल र हत्कडी पनि देखायो । भाषा सम्वादमा निकै कठिनाइ पनि भयो । तर, उसले जालझेेल गरी मेरो पासपोर्ट पनि लियो ।
पैसा माग्यो । तर, दिइँन फेरि पेस्तोलको बलमा मलाई लुट्यो । केन्याको मुद्रा ७ हजार जति थियो, ५ सय बाँकी राखेर अरु सबै लियो । फेरि पासपोर्ट फिर्ता पनि दिएन । मैले चिच्चाउन शुरु गरेपछि फिर्ता गर्यो । पछि र्फकेर नहेर है भन्दै मलाई छाडिदियो ।
मन्दिरका महाराजालाई सबै सुनाएँ । तर, पुलिसको नाम आईडी केही थाहा नभएकाले केही गर्न सकिएन ।
जिन्दगी नै हो, कतै अरुले दुःख दिएका छन् त कतै आˆनै स्वास्थ कमजोर हुँदा पनि थलिएको छु ।
चीन भ्रमणको बिजोग
चीनको घटना पनि बिर्सनलायक नै छ । जंगलको बीचमा दुई दिनसम्म हल्ली न चल्ली भएँ । पखालाले थलिएँ, नदीको पानीले भोक मेटाएँ । केही सीप लागेन, लेउ खाएँ । अलि तागत आएजस्तो भयो ।
टेण्डको मुनि बसिरहेका बेला बाँदरहरु आउने गर्थे । टुलुटुलु हेरेर फर्कन्थे । बाँदर आउँदा पनि पनि कोही मान्छे आएजस्तो भने हुने रहेछ । जिन्दगीमा कसै न कसैको साथ त चाहिन्छ नै भन्ने यो बाँदर घटनाले पनि अनुभव हुन्छ ।
पछि गएर बिस्तारै बिस्तारै ठीक भएँ । कमजोर बनेको मेरो शरीर, त्यही एउटा खुट्टाको पाउदल हान्ने आँटले मरेको जिन्दगी बच्यो ।
यात्रा जारी छ
प्रवासी नेपालीहरुको सहयोगले नै मेरो यात्रा र अभियान जारी छ । धेरै ठाउँबाट नेपालीहरुको सहयोग पाएको छु । तर, कतिपय देशमा त एकजना नेपाली पनि भेटिँन ।
केन्या, जर्जिया र टर्कीमा त कोही नेपालीसँग पनि सम्पर्क भएन । बुल्गेरिया एक नेपाली भेटिए । तर, मसँग उल्टै झगडा गरे । शरणार्थी बन्न आएको होस् धेरै नाटक नगर भनेर अपमान गर्न पनि भ्याए ।
मेरो अबको यात्राको केही समय युरोपमा नै केन्द्रित हुनेछ । म एक अपाङ्ग नेपाली । “अपाङ्गता भएका ब्यक्तिहरुको अधिकार र विश्व शान्ति” अभियान नै मेरो यात्राको उद्देश्य हो । युरोपबासी नेपाली समुदायको सहयोगको अपेक्षा गर्दछु ।
अब त स्वास्थ्य पनि त्यति राम्रो छैन । अहिले ग्याष्ट्रिकको समस्या छ, यात्रामा खाना समयमा खान पाइँदैन । तर, मेरो जोश, जाँगर र उत्साहमा कुनै समस्या छैन, त्यसैले मेरो यात्रामा बिराम लागेको छैन । अबको केही दिनको यात्रा फ्रान्सतिरको हुनेछ ।
लाग्दछ, अब करिब ३ बर्ष जतिको यात्रा गर्नेछु । युरोपमा सबै देश सकेपछि एक सय मुलुकको भ्रमण सकेर एन्टार्टिकाबाट यात्रा टुंगाउने इच्छा छ ।
साइकलयात्रा सकिएपछि अपाङ्गता भएका व्यक्तिहरुका लागि एउटा केन्द्र सञ्चालन गर्ने पाए हुन्थ्यो जस्तो लाग्दछ । भाग्यमा जुरेको रहेछ भने त्यसमा नै समाहित भएर बाँकी जीवन गुजार्ने छु ।
(विश्व साइकल यात्राका क्रममा स्पेन आएका तनहुँ पुर्काेर्ट गाविस-१ स्थायी घर भएका ४७ बर्षीय भण्डारीसँग बार्सिलोनामा बसन्त रानाभाटले गरेको कुराकानीमा आधारित )