वसन्त रानाभाट
बार्सिलोना/
गत डिसेम्बरमा तमु ल्होछार कार्यक्रमको तयारी बार्सिलोनामा चलिरहेको थियो, श्रीमतीको म्यासेज आयो- घरमा छिटो फोन गर्नुहोस्, आमा खस्नुभयो । सुन्नेवित्तिकै म आफै छाँगाबाट खसेजस्तो भएँ । डराई-डराई, थरथर काँप्दै घरमा फोन गरें । बहिनीले रुँदै भनिन्,-‘दाइ आमालाई त बागमतीले बगायो ।’
म साह्रै विक्षिप्त भएर भक्कानिएँ । मेरी आमाले ६० बर्षको अल्पायुमा छाडेर जानुभयो । केही दिनअघि मात्रै आमासँग कुराकानी गरेको थिएँ । न त कुनै रोग, न त अस्पतालमा भर्ना । आमा रोगी हुनुहुन्छ भन्ने भएको भए पनि दिमागमा अर्कै किसिमको सोच बन्थ्यो होला । तर, अचानक भएको घटनाले साह्रै भावविहृवल बनायो ।
आमा खसेको खबर कसैलाई भनिँन । बरु घर जाने तयारी गर्दै काममा छुट्टी लिने कोशिस गरें । तर, छुट्टी मिलेन । आमाको अन्तिम संस्कारमा नजाने म अभागी छोरो बनें । स्पेनको काम एउटा छुटेपछि अर्कोे पाउन वषौर्ंर् कुर्नुपर्ने, फेरि पत्नीले पनि भिसा लागेर यतै आउने तयारी गरिरहेका बेला काम नै छोड्न सकिँन । कामै छोडेर युरोपमा परिवार राखेर कसरी बाँच्ने ? मनमनै आमालाई सम्झिएँ । फेरि कोठाभित्र पसेर एक्लै भक्कानिएर रोएँ ।
त्यतिबेला बरिष्ठ कलाकार हरिबंश आचार्यको जीवनलाई सम्झिएँ । आफ्नी प्राण प्यारी श्रीमतीको बिछोडपछि पनि विचलित नभई नेपाली कलाकारिता क्षेत्रलाई दिएको योगदानले मलाई ठूलो हौसला मिल्यो । मलाई त्यहाँबाट ठुलो प्रेरणा मिल्यो र ल्होछारको कार्यक्रम तयारीमा सहभागी बने । सायद मेरी आमा चितामा जलिरहेका बेला मैले स्पेनमा भाइबहिनीलाई नृत्य सिकाएँ ।
कलाकारहरु मनमा जति पीडा भए पनि, बाहिरी चेहरामा सधैं हाँस्नु पर्ने हुन्छ भन्ने हो रहेछ । आखिर मलाई पनि त्यस्तै भयो । आफूले लिएको जिम्मेवारीलाई धुजा-धुजा भएर मन फाटिरहेका बेला पनि सफलतापूर्वक काम पुरा गरेजस्तो लाग्छ ।
मेरो जन्म ललितपुर जिल्ला घुसेल गाविस- ९ मा आजभन्दा ४० वर्ष अगाडि भएको हो । मैले जिन्दगीमा धेरै पढ्न पाइँन । मेरो शिक्षा गाउँमा नै ८ कक्षासम्म मात्र सीमित रहृयो । बि.स. ०४२ सालतिर काठमाडौ छिरें । ठमेलतिर चाइनिज रेस्टुरेन्टमा काम शुरु भयो । मैले ठमेलमा काम गरिरहेको सोही रेस्टुरेन्टमा, कल्चरल ग्रुपले हप्तामा २ दिन नेपाली सांस्कृतिक प्रस्तुति देखाउने गर्दथ्यो । मलाई पनि त्यसैमा मोह लाग्यो । आफूले पनि विदेशीका अगाडि नाँच्न पाएँ ।
गाउँकै स्कुलमा हरेक वर्ष सरस्वती पूजाको दिन कार्यक्रम हुन्थ्यो, म नाँच्ने पनि गाउने गर्दथें । त्यसैले पनि मेरो नाँच्ने मोह झन् झन् बढ्दै गएको थियो । बिस्तारै ठमेलमा कल्चरल ग्रुपका लिडर गोविन्दसिंह डङ्गोलसँग चिनजान भयो । त्यही रेस्टुरेन्टमा उनको सेयर पनि रहेछ । मलाई बिजय मानन्धरसँग भेट गराएर उनले ठूलो गुन लगाए । त्यही चिनजानका आधारमा नै शंकर होटलको नाँचघरमा काम पाएँ । मेरो नाच्ने धोको पूरा भयो ।
टिपिकल नृत्य, बिभिन्न जनजातिका लोकदोहोरी तथा कमेडी नृत्यसँगै मेरो कला अब होटलको नाँचघरमा मात्र सीमित भएन । बिभिन्न स्कुलहरुमा पनि नृत्य प्रशिक्षकका रुपमा काम गरें । मेरो यात्रा फराकिलो बन्दै गयो । साधना कला केन्ऽले आयोजना गर्ने राष्ट्रिय लोक नृत्य प्रतियोगितामा पटक-पटक भाग लिएँ । समूहबाट नृत्य गर्दा कहिले पहिलो त कहिले दोस्रो त कहिले उत्कृष्ट नृत्यको उपाधि जितियो । पछि गएर करिब २५ वटा जति नेपाली लोकदोहोरी गीतको भिडियोहरुमा पनि नृत्य निर्देशकको रुपमा काम गरें । बद्री पंगेनीको ससुरालीमा, बिमलराज क्षेत्रीको बल्लै भो भेट जस्ता चर्चित लोक गीतहरुमा काम गरें ।
त्यतिबेला नेपाली चलचित्रमा नाँच्नु त परको कुरा सुटिङ्ग हेर्न पाए पनि भाग्यमानी जस्तै ठानिन्थ्यो । कसैले सुटिङ्ग देखेर फलानो फलानो कलाकारलाई देखें भन्दै गर्व गर्ने त्यो समयमा नेपाली सुपरहिट चलचित्रहरु भरिया, सीमानामा कोरस नृत्य गर्न पाउँदा म आफूलाई निकै भाग्यमानी ठान्छु ।
मेरो नृत्य नेपालमा मात्र सीमित भएन, पहिलोपटक विदेश यात्रा दिल्लीबाट शुरु भयो । हिमालचुली कल्चरल ग्रुपबाट करिब २० बर्ष अगाडि नृत्य देखाउन दिल्ली पुगें । दिल्लीमा सार्क शिखर सम्मेलन चलिरहेका बेला डिनर कार्यक्रममा नेपालको तर्फबाट मन्जुश्री नृत्य गरेको अझै सम्झना छ । मसँगै पाँचजना नेपाली कलाकारहरुको समुहले तत्कालीन सात राष्ट्रका प्रमुखहरुका अगाडि नृत्य प्रस्तुत गरेको बिर्सन सक्दिँन ।
अहिले कलाकारलाई विदेश आउन जान पानी पँधेरो जस्तै छ । तर, त्यतिबेला यति सजिलो थिएन । भाग्यवश मलाई त्यतिबेलाको समयमा पनि अवसरहरु जुट्दै गए । मेरा खुट्टाका चालहरुले बिदेशी माटोमा पनि हल्लने मौका पाए । मलेसिया, सिङ्गापुर, ट्युनिसिया, जापानजस्ता मुलुकहरुमा नेपाली गीत संगीतका भाकामा म नाच्दै गएँ ।
मेरो युरोपको पहिलो भ्रमण आजभन्दा १७ बर्ष अगाडि सन् १९९८ मा थियो । त्यतिबेला फ्रान्स र स्पेनको कार्यक्रममा सहभागी बनेर नेपाल फर्किएँ । सन् २००४ मा पनि पुनः स्पेन आएँ र कार्यक्रम सकिएपछि पुनः फर्किएँ । तर, तेस्रो पटक सन् २००७ को युरोप यात्रापछि मेरो यात्रा यताको यतै नै रहृयो ।
पोल्याण्ड आएको म स्पेनलाई आˆनो रोजाइमा राखेर विदेशको जीवन बिताउँदै आएको छु । देशमा रहेर घरपरिवारको खर्च चलाउन पनि मुस्किल बन्दै गयो त्यसैले बिदेशमा नै रहने निर्णय गरें । तर मेरो कलाकारिता पेशा भने मरेको छैन । मलाई त यस्तो अनुभव छ, स्वदेशमा भन्दा विदेशमा अझ यसको मोह हुने रहेछ । यता आएदेखि नै यहाँ हुने प्रायः सबैजसो सांस्कृतिक कार्यक्रमहरुमा सहभागी बन्दै आएको छु ।
स्पेनमा कठिन कामको बाबजुद पनि समय निकाल्ने गरेको छु । आफ्नो २३ वर्षको जीवनयात्रा कलाकारितामा नै बितेको छ । चाहे एनआरएनएले गरेको कार्यक्रम होस् वा राजनीतिक, जातीय, क्षेत्रीय संगठनले, कार्यक्रमको तयारी गर्नु पर्यो है भने पछि म सधैं तयार हुन्छु । कलाकारको न कुनै जात हुन्छ, न कुनै पार्टी, न त रङ्,न कुनै भेग वा क्षेत्र हाम्रा लागि त केवल दर्शकहरु हुन्छन् । उनीहरु नै हाम्रा भगवान हुन् ।
म अन्तरराष्ट्रिय कलाकार मञ्च स्पेनको संस्थापक उपाध्यक्ष एवम् वर्तमान अध्यक्ष हुँ । कलाकारहरु संगठनको हिसाबले चिरा नपरेको भए राम्रो हुन्थ्यो । तर, विचार र संगठनको आधार फरक-फरक भए पनि कलाकारिताको भावनामा कहिले नै फरक आउँदैन । अहिले देशमा हरेक कुरामा विभेद र फरक विचार आएको छ । तर, म त आफूलाई सबैभन्दा पहिले नेपाली हुँ भन्ने ठान्छु त्यसपछि मात्र कलाकार हुँ । नेपाल र नेपाली नै नभए म कहाँ कलाकार हुन्थे र ?’
(अन्तर्राष्ट्रिय कलाकार मञ्च स्पेनका अध्यक्ष लोप्चनसँग नेपालीनेपाली डटकममा प्रधान सम्पादक बसन्त रानाभाटले गरेको कुराकानी)