नयाँ जनादेश प्राप्त भएकाले प्रधानमन्त्रीले राजीनामा दिनु पर्दछ : महरा


पोखरा – नेकपा (माओवादी केन्द्र)का नेता एवं पूर्व उपप्रधानमन्त्री कृष्णबहादुर महराले सरकारले संवैधानिक समस्या देखाएर जनादेशलाई पछि पार्न खोजेको बताएका छन् । प्रेस सेन्टर कास्की र प्रेस चौतारी कास्कीले संयूक्त रुपमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै ताजा जनादेशलाई आत्मसाथ गरेर सत्ता हस्तान्तरण गर्नुपर्नेमा विभिन्न बहाना बनाएर जनमतको उपेक्षा गरिएको बताए ।

नेता महराले नयाँ जनादेश अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिएर नयाँ सरकार गठनका लागी मार्गप्रस्त गर्नुपर्नेमा जोदिए । ‘नयाँ जनादेश प्राप्त भएको छ, तर सरकारले जनादेश टेरेको छैन ।’ नेता महराले प्रधानमन्त्री देउवाले राजीनामा दिएर नयाँ सरकार गठनको वातावरण बनाउनुपर्छ भन्दै भने,‘नयाँ जनादेश प्राप्त भएकाले प्रधानमन्त्रीले राजीनामा दिन आग्रह गर्दछौ ।’ उनले सरकार गठनमा सहजता प्रदान गर्न आफुहरु सरकारबाट बाहिरिएको समेत बताए ।

नेता महराले दुइवटै पार्टीको बीचमा कुनै पनि समस्या पैदा नहोस भन्ने सोचका साथ राष्ट्रियसभाको निर्वाचनपछि सरकार बनाउने गरी तयारी गरेको बताए । सरकारको आजभोलि नै प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने हल्ला गरेको भए पनि उसको नियत राम्रो नदेखिएको बताए । निर्वाचनको जनादेशअनुसार दुई पार्टी मिल्नुको विकल्प नभएको बताउँदै उनले यसका लागि दुवै पार्टीका अध्यक्षबीच कुराकानी भएको र पार्टी संयोजन समितिको पनि बैठक बसी छलफल गरिएकाले एकता हुर्नेमा कुनै संका नभएको बताए । पार्टी एकता हुन्छ तर केही समय लाग्न सक्छ उनले भने । कार्यक्रममा प्रेस सेन्टर कास्कीका कार्यवाहक अध्यक्ष सन्देश श्रेष्ठको अध्यक्षतामा भएको थियो भने स्वागत प्रेसचौतारीका उपाध्यक्ष रामजी लम्साल र संचालन प्रेस सेन्टर कास्कीका सचिव कृष्ण दवाडीले गरेका थिए ।