ध्वाँसे चितुवाको छाला र हड्डी सहित २ जना पक्राउ


पोखरा -केन्द्रिय प्रहरी अनुसन्धान व्यूरो र ईलाका प्रहरी कार्यालय आँबुखैरेनी तनहुँको प्रहरी टोलीले तनहुँको आँबुखैरेनी ४ मुग्लिङ पुल नजिकैवाट ३ वटा ध्वाँसे चितुवाको छाला र हड्डी सहित २ जनालाई पक्राउ गरेको छ ।

मुग्लिङ पुल नजिकै पृथ्वी राजमार्ग सडक खण्डमा चेकजाँचका लागि खटीएको प्रहरी टोलीले सडक छेउमा रोकी राखेको बा १५ च ७४५६ नम्बरको स्कारपियो जिपमा शंका लागि चेकजाँच गर्दा ध्वाँसे चितुवाको छाला र हड्डी फेला परेको हो ।

गाडीमा रहेको कालो रंगको सुटकेश भित्र लुकाई छिपाई राखेको अवस्थामा ३ वटा ध्वाँसे चितुवाको छाला र हड्डी फेला पारेको हो । प्रहरीले संलग्न २ जनालाई समेत पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही स्कार्पियोका चालक नुवाकोट शिबपुरी गाउँपालिका बस्ने वर्ष २८ का भिम बहादुर तामाङ् र गोरखा सुलिकोट गाउँपालिका २ बस्ने वर्ष ३५ का ईत बहादुर तामाङ् रहेका छन् । पक्राउ परेका दुवै जनालाई छाला, हड्डी र सवारी साधन समेत आवश्यक कारवाहीको लागि जिल्ला वन कार्यालय तनहुँ दमौली पठाएको प्रदेश नम्बर ४ प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक बीर बहादुर पुलामीले जानकारी दिए ।