माओवादी केन्द्रको नेकपा संयुक्तसँग पार्टी एकीकरण


काठमाडौं– माओवादी केन्द्रले नेकपा संयुक्तसँग पार्टी एकिकरण गरेको छ । पार्टी एकिकरण कार्यक्रममा बोल्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वका कम्युनिष्ट पार्टीहरु रक्षात्मक ढंगले अघि बढिरहेका बेला नेपालका कम्युनिष्टहरु आक्रामक भएको बताएका छन् ।

कम्युनिष्टहरुको यहि आक्रामक एकताले नेपालबाट समाजबादको नयाँ मोडल आउने दावी उनको थियो।
उनले २१ औं शताव्दीको समाजबादको मोडल दिन नेपालका कम्युनिष्टहरु तयार भइसकेको भन्दै त्यसका लागि विभिन्न पार्टीहरुसँगको  एकताले हालै भएको बाम शक्तिहरुबीचको गठबन्धनलाई उर्जा थप्ने बताए । कम्युनिष्ट आन्दनेलन यहाँसम्म आउँदा विभाजन र एकता दुवै हुदै आएको भन्दै अध्यक्ष प्रचण्डले अव नेपालका कम्युनिष्ट पहिलाका जस्ता नभइ आक्रामक ढंगले अघि बढ्न सुरु गरेको बताए ।

उनले आफ्नै नेतृत्वमा नेपालमा कम्युनिष्ट केन्द्र बन्न ेसंकेत गर्दै भने ‘मसाल भत्काएर एकता केन्द्र बनाएँ, एकता केन्द्र भत्काएर माओवादी बनाए, माओवादी भत्काएर एकीकृत माओबादी बनाए, एमाओवादी भत्काएर माओवादी केन्द्र बनाएँ, अव केन्द्र पनि भत्काएर नयाँ पार्टी बनाउदैछु ।’
अध्यक्ष प्रचण्डले समय अनुसार आफुले पार्टीलाई हिँडाएको दावी पनि गरे । भने ‘मेरा गुरु बौद्ध भिक्षुजस्तै आज पनि घण्टी बजाइरहनुभएको छ । उहाँहरुले समाजलाई केही दिन सक्नुभएन । केही कामरेड भक्तपुर भन्दा बाहिर जान चाहेकै छैनन ।’ आफ्ना गुरु मोहनविक्रम सिंह र नेमकिपा अध्यक्ष नारायणमान विजुक्छेप्रति प्रचण्डले व्याङग्य गरे ।
एकीकरण भएको नेकपा संयुक्तका जयदेव जोशी, मिथला चौधरी र प्रमिला राणा सांसद छन् ।