पोखरा –पश्चिमाञ्चल होटल संघ पोखराले आयोजना गरेको पर्यटक दौड प्रतियोगितामा फ्रान्सेली पर्यटक भान जेमी प्रथम भएका छन्। कोमागाने पार्कमा “रन फर फन” नामले आयोजना गरिएको प्रतियोगितामा युरोप देखि नेपाल पुगेका फ्रान्सेली नागरिक जेमीले उपाधि जितेका हुन्।
चौधौं फेवा नव वर्ष महोत्सव २०७४ अन्तर्गत तेश्रो दिन बिहिबार भएको पर्यटक दौड प्रतियोगितामा अमेरिकाका बेकर द्वितीय र नेदरल्याण्डका जुरियन तृतीय भएका छन् । त्यस्तै महिला तर्फको प्रतिस्पर्धामा अमेरिकाकी एलिसन प्रथम, अमेरिकाकै एस्ले द्वितीय र अष्ट्रेलियाकी जेन तृतीय भए ।
हालसम्मकै सबैभन्दा बढी प्रतियोगितामा दुई सय ६० जनाले सहभागिता जनाएका थिए। विजेता मध्ये प्रथम हुनेलाई पोखरा काठमाडौं उडान टिकट उपहार पाए । दोश्रो पुरस्कार आधा घण्टाको प्याराग्लाइडिङ उडानको टिकट प्रदान गरियो भने तृतीयका लागि पोखरा काठमाडौं यात्राको डिलक्स बस टिकट दिइयो । महिला पुरुष सबै विजेताले मायाको चिनो र विजी वी क्याफे लेकसाइडमा ककटेल डिनरको अवसर पनि प्रदान गरिएको छ ।
सहभागीहरु खहरेचोक नजिक होटल प्सि प्लाजा अगाडि बाट तीन किलोमिटर दक्षिणको फिस्टेल गेट सम्म दौडिएका थिए । सहभागी सबैलाई प्रमाण पत्र पनि प्रदान गरिएको थियो ।सो अवसरमा पन्चे बाजाको तालमा पर्यटकहरु नाचेर रमाएका पनि थिए ।
संघका अध्यक्ष एवं महोत्सव संयोजक विकल तुलाचन, निवर्तमान अध्यक्ष भरतराज पराजुली, हानका केन्द्र्रिय सदस्य एवं संघका सल्लाहकार विप्लव पौडेल तथा संघका सल्लाहकार गोविन्दराज पहारीले विजेताहरुलाई पुरस्कार प्रदान गरेका थिए । रसियाका एक जना अशक्त निकोले कोजेन्भिन्कोवले पनि बैशाखीको सहारामा दौड पूरा गरे ।
पर्यटक दौडमा यति धेरै पर्यटक सहभागी हुनु पोखराको पर्यटन विकास र प्रवद्र्धनका लागि सकारात्मक पक्ष भएको महोत्सवको पर्यटक दौड उपसमितिका संयोजकद्वय ज्याक तामाङ र केशवराज पहारीले बताए ।