ल हेरौ आजका दैनिक पत्रिकाका फ्रन्टपेज


कञ्चनपुरमा भारतीय प्रहरीको गोली लागेर नेपाली युवाको मृत्यु भएको विरोधमा चौतर्फी प्रदर्शन भएको समाचारलाई शनिबार प्रकाशित राष्ट्रिय दैनिक अखबारहरुले प्राथमिकता दिएका छन् । त्यस्तै, नयाँ स्थानीय संरचनाअनुसार ७ सय ४४ स्थानीय तह कार्यान्वयनमा आएको समाचारलाई पनि अखबारहरुले महत्वका साथ प्रकाशित गरेका छन् ।

कञ्चनपुर घटनाबारे नेपाल सरकारले भारत सरकारलाई कूटनीतिक नोट दिएपछि भारतले मृतक गोविन्द गौतमको पोस्टमार्टम रिपोर्ट मागेकोलाई नयाँ पत्रिका दैनिकले मुख्य समाचार बनाएको छ । त्यस्तै, स्थानीय तहमा १५ दिनभित्र कार्यकारी अधिकृत पुग्ने समाचारलाई पनि नयाँ पत्रिकाले महत्वपूर्ण स्थान दिएको छ ।

अन्नपूर्ण पोस्ट् दैनिकमा कञ्चनपुर घटनाबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेको समाचारले प्राथमिकता पाएको छ । स्थानीय तहमा एउटै राजस्व प्रणाली लागू हुने समाचारले पनि पहिलो पृष्ठमा स्थान पाएको छ ।

नेपाल-भारत सीमानामा बल्झिरहने घाउलाई नागरिक दैनिकले आवरण कथा बनाएको छ । त्यस्तै मधेस आन्दोलन ‘साम्प्रदायिक’बाट वैचारिकतिर लागेको विश्लेषणात्मक समाचारले प्राथमिकता पाएको छ ।

एसएसबीको गोली लागेर मृत्यु भएका गोविन्द गौतम सहिद घोषणा भएकोलाई मुख्य समाचार बनाएको राजधानी दैनिकले मूलपानी क्रिकेट मैदान निर्माण मुआब्जा विवादमा अल्झएकोलाई एंकर बनाएको छ ।

कञ्चनपुर गोली काण्ड नेपालको भूमि मिच्ने भारतीय दाउ भएको भन्दै कान्तिपुर दैनिकले मुख्य समाचार बनाएको छ । गोरखापत्र दैनिकले देशभार ७४४ स्थानीय तह लागू भएको समाचारलाई महत्व दिएको छ । मतपत्र छपाईका लागि सेना परिचालन भएको समाचारलाई नेपाल समाचारपत्र दैनिकले प्राथमिकताका दिएर छापेको छ ।