ओनसरी घर्ती व्यवस्थापिका–संसद्की सभामुख हुन् । सुवास नेम्वाङ संविधानसभा अध्यक्ष हुँदा उनी उपसभामुखको जिम्मेवारीमा थिइन् । संविधानसभाबाट संविधान जारी भएपछि घर्ती सभामुखमा निर्विरोध चयन भएकी हुन् । नेम्वाङ र घर्ती दुवैको पृष्ठभूमि फरक छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
रोल्पाको बैकोटमा २८ कात्तिक ०३४ मा सामान्य किसान परिवारमा जन्मिएकी घर्ती माओवादी युद्धका क्रममा लडाकु थिइन् । माओवादी युद्धमा उनले थुपै्र ठाउँमा बन्दुक समाएर लडेकी छिन् । बुबा प्रसाद घर्तीमगर र आमा नौमतीका तीन दाजु र चार दिदीबहिनीमध्ये माहिली छोरी हुन्, उनी । ०५२ सालमा माओवादीले रोल्पाको होलरी चौकी आक्रमण गर्दा घर्ती सहभागी थिइन् । उनका श्रीमान् वर्षमान पुन अनन्त माओवादी केन्द्रका स्थापित नेता हुन् । संसद्को सभामुख बन्दा उनले दुई कीर्तिमान राखेकी छिन् । ३८ वर्षकै उमेरमा सभामुख हुने सम्भवतः उनी नेपालको पहिलो सभामुख हुन् । उनको दोस्रो कीर्तिमान भनेको पहिलो महिला सभामुख हुनु हो । उपसभामुखमा महिला पुगे पनि सभामुखजस्तो गरिमामय पदमा भने पुगेका थिएनन् ।
पूर्वसभामुख नेम्वाङ सम्पन्न परिवारबाट राजनीतिमा आएका हुन् । कानुन व्यवसायी पृष्ठभूमिका उनी बार एसोसिएसनका पूर्वमहासचिव थिए । नेम्वाङ २००० फागुनमा सुन्तलाबारी इलाममा जन्मिएका हुन् । उनले एक दशकसम्म निरन्तर संसद् र संविधानसभा दुवैको अध्यक्षता ग्रहण गरे । ०६२-६३ को जनआन्दोलनपछि पुनस्र्थापित संसद्देखि १७ असोज ०७२ सम्म सभामुख र दुईपटक नै संविधानसभाको अध्यक्ष भएका थिए । नेम्वाङभन्दा घर्ती ३४ वर्षले कान्छी छिन् । नेम्वाङ अहिले एमाले संसदीय दलको उपनेता छन् । दुवैबीच गुरु–चेलीको सम्बन्ध छ ।
पहिलो भेट
सभामुख ओनसरी घर्ती र सुवासचन्द्र नेम्वाङको पहिलो भेट ०६५ सालमा भएको हो । पहिलो संविधानसभा निर्वाचनमा नेम्वाङ इलाम २ र घर्ती समानुपातिकतर्फबाट सभासद् निर्वाचित हुँदै संविधानसभामा प्रतिनिधित्व गरेका थिए । त्यही वेला नेम्वाङसँग घर्तीको पहिलो भेट भएको हो । ‘फरक राजनीतिक पृष्ठभूमिमा रहेका कारण पनि हाम्रो भेट भएको थिएन, नाम भने उहाँ (नेम्वाङ) को पहिलेदेखि नै सुनेकी थिएँ, प्रत्यक्ष भेट भने हुन पाएको थिएन । पहिलो भेट संविधानसभामा सभासद् भएर गएपछि नै भएको होजस्तो लाग्छ,’ सभामुख घर्ती भन्छिन्, ‘०६५ सालतिर हुनुपर्छ ।’ नेम्वाङले पनि घर्तीलाई त्यसअगाडि भेटेका थिएनन् । उनले पनि संविधानसभामा सभासद् भएपछि नै ओनसरीका विषयमा बुझ्ने र जानकारी पाउने अवसर पाएका थिए ।
नेम्वाङ सभामुख हुँदा घर्ती उपसभामुख
पहिलो संविधानसभाले संविधान बनाउन नसकेपछि ०७० मंसिरमा पुनः दोस्रोपटक संविधानसभा निर्वाचन भयो । सो निर्वाचनमा नेम्वाङ इलाम–२ र घर्ती रोल्पा–२ बाट प्रत्यक्ष चुनाव जितेर संविधानसभामा आए । संविधानसभाको अध्यक्ष बन्ने अवसर पुनः नेम्वाङलाई जुर्यो भने घर्ती उपाध्यक्ष भइन् ।
अध्यक्षता गर्नबाट घर्ती वञ्चित
तर, नेम्वाङले घर्तीलाई उपसभामुख हुँदा संसद्को पूर्ण बैठक सञ्चालन गर्नेदेखि संसद् सचिवालयका प्रशासनिक कामको क्षेत्रमा कहिल्यै जिम्मेवारी दिएनन् । संविधानसभाको कार्यकाल अवधिभरि न नेम्वाङ आफू देशबाहिर गए, न तत्कालीन उपसभामुख घर्तीलाई नै त्यस्तो अवसर दिए । दुई वर्षसम्म सभामुख–उपसभामुखका रूपमा जिम्मेवारी सम्हाल्दा एक दिन पनि घर्तीलाई बैठकको अध्यक्षता गर्न दिएनन् ।
सिंहदरबारस्थित संसद् सचिवालयको वल्लो–पल्लो कोठामा नेम्वाङ–घर्तीले दुई वर्ष बिताए । तर, कहिल्यै उनीहरूबीच ओहोर–दोहोर हुने वातावरण बन्न सकेन । यसले केही समय नेम्वाङ र घर्तीबीचमा मनमुटाबको समेत स्थिति उत्पन्न भएको संसद् सचिवालयका कर्मचारीहरू बताउँछन् । संसद्का महत्वपूर्ण बैठक, विषयहरूका विषयमा सामान्य परामर्शसमेत नेम्वाङले घर्तीसँग गरेनन् ।
नेम्वाङले मनोहरप्रसाद भट्टराईलाई संसद् सचिवालयको महासचिव नियुक्त गर्दासमेत घर्तीसँग कुनै परामर्श गरेनन् । उनले उपसभामुखलाई अधिकार दिनुभन्दा संसद् सचिवालयका महासचिवलाई नै बढी विश्वास र अधिकार प्रत्यायोजन गरेका थिए । तर, घर्तीले नेम्वाङले आफूलाई त्यसवेला नदिएको सामान्य अधिकारलाई हालका उपसभामुख गंगाप्रसाद यादवलाई भने दिएकी छिन् । उनले संसद्मा छलफल गर्नुपर्ने महत्वपूर्ण विषयमा उपसभामुख यादवसँग परामर्श गर्ने गरेकी छिन् ।
दुईबीचको सम्बन्ध
घर्ती र नेम्वाङबीच गुरु–चेलीको सम्बन्ध पनि छ । संसद्को सभामुख निर्वाचित हुने वेला नेम्वाङले ‘नेगेटिभ’ भूमिका निभाएनन् । उनले कुनै न कुनै रूपमा भए पनि घर्तीकै पक्षमा वातावरण निर्माणमा भूमिका खेलिदिएका थिए । सभामुख निर्वाचित भएसँगै उनले नेम्वाङको निवासमै पुगेर सल्लाह र सुझाब मागेकी थिइन् । अहिले पनि सभामुख घर्तीले नेम्वाङसँग संसद्मा बहसमा आउने महत्वपूर्ण विषय, कानुन निर्माणलगायतका विषयमा परामर्श लिने गरेकी छिन् ।
नेम्वाङले पनि आफूलाई लागेका विष्यमा आवश्यकताका आधारमा सुझाब दिने गरेका छन् । १२ फागुनमा मात्रै उनले संसद्को कार्यसूचीमा रहेको महाअभियोग सिफारिस समितिको प्रतिवेदन संसद्मा प्रस्तुत गराउने विषयमा नेम्वाङसँग टेलिफोनमा वार्ता गरेकी थिइन् । ‘संसद्का पूर्वाभ्यास, महत्वपूर्ण कानुन निर्माणका विषयमा सभामुखले पूर्वसभामुख नेम्वाङसँग प्रत्यक्ष भेटेर वा अप्रत्यक्ष रूपमा टेलिफोनमै भए पनि आवश्यक पर्दा परामर्श लिने गर्नुभएको छ,’ सभामुखका प्रेस सल्लाहकार बबिन शर्माले भने ।
१२ फागुनको संसद् बैठक सकेर सभामुख घर्ती नयाँ बानेश्वरस्थित संसद् भवनबाट निवास जान गाडीमा चढ्नै लाग्दा नेम्वाङले सभामुख घर्तीका श्रीमान् वर्षमान पुनको स्वास्थ्य अवस्थाका विषयमा जिज्ञासा राखेका थिए । घर्तीका श्रीमान् अनन्त केही दिनयता अस्वस्थ भई उपचाररत छन् ।
तर अहिले कमै मात्र हुन्छ परामर्श
सभामुख घर्तीले नेम्वाङसँग प्रारम्भिककालमा बाक्लै सुझाब र परामर्श गर्ने गरेकी थिइन् । उनले अहिले पनि नेम्वाङले अवलम्बन गरेको कार्यशैलीलाई निरन्तरता दिएकी पनि छिन् । नेम्वाङकै शैलीमा महत्वपूर्ण विषयमा छलफलका लागि प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई झक्झक्याउने, दबाब बढाउनेजस्ता काममा सभामुख घर्ती लागेकी छिन् ।
तर, पछिल्ला दिनमा भने नेम्वाङसँग घर्तीले त्यति धेरै सुझाब लिन छाडेकी छिन् । नेम्वाङ एमाले संसदीय दलका उपनेता भएपछि घर्तीले नेम्वाङसँगको परामर्शलाई कम गरेको पाइन्छ । पार्टीकै उपनेता भएपछि नेम्वाङले दिने सुझाबमा राजनीतिक गन्ध आउन सक्ने ठानी उनले पहिलेजस्तो सुझाब लिने र त्यसलाई शिरोधार्य कम गरेको उनीनिकट स्रोतको भनाइ छ । यद्यपि, दलीय हैसियतमा भने उनले वेला–वेला सुझाब भने लिने गरेकी छिन् ।
सचिव नियुक्तिमा शीतयुद्ध
तीन वर्षदेखि रिक्त रहेको संसद् सचिवालयको सचिव नियुक्तिका विषयलाई लिएर अहिले यी दुईबीच करिब–करिब शीतयुद्ध रहेको सचिवालयका कर्मचारीहरू बताउँछन् । नेम्वाङकै पालामा रिक्त रहेको सचिवमा उनले नियुक्तिमा चासो देखाएनन् । आफू सभामुख भएपछि घर्तीले नियुक्तिका लागि गोपालनाथ योगीलाई सिफारिस गरेर राष्ट्रपति कार्यालयमा अनुमोदनका लागि पठाइन् । तर, योगीको सिफारिस अझै राष्ट्रपति कार्यालयले अनुमोदन गरेको छैन ।
नेम्वाङले राष्ट्रपति विद्या भण्डारीलाई भेटेरै योगीको प्रतिनिधिसभाको सचिव पद भएकाले अर्काे संसद् नआएसम्म नियुक्त गर्न नमिल्ने भन्दै विश्वासमा राखेपछि अझै नियुक्त हुन नसकेको हो । नेम्वाङले आफ्नो काममा अवरोधकको भूमिका खेलेको भन्दै घर्ती पछिल्लो समय नेम्वाङसँग रुष्ट छिन् । यही कारण यी दुईबीच सम्बन्ध शीतयुद्धकै तहमा पुगेको जानकारहरूको बुझाइ छ ।
दरबन्दीलाई पूर्णता दिएनन् नेम्वाङले
संसद्मा सभामुखले आफ्ना कानुनी सल्लाहकार, प्रेस सल्लाहकारजस्ता पदहरूमा नियुक्ति गर्न सक्ने प्रावधान छ । तारानाथ रानाभाट सभामुख हुँदादेखि नै यस्तो प्रावधान रहेको देखिन्छ । तर, नेम्वाङले आफूले सभामुख चलाएको झन्डै एक दशकसम्म न कानुनी सल्लाहकार नियुक्ति गरे, न त प्रेस सल्लाहकार नै ।
रानाभाटले तत्कालीन अवस्थामा ललित बस्नेतलाई कानुनी सल्लाहकार नियुक्ति दिएका थिए । अहिले सभामुख घर्तीले दीनमणि पोखरेललाई कानुनी सल्लाहकार र बबिन शर्मालाई प्रेस सल्लाहकारका रूपमा नियुक्ति दिएकी छिन् । तर, नेम्वाङ आफैँ पनि कानुन व्यवसायी भएकाले त्यो आवश्यकता नठानेको हुन सक्ने संसद् सचिवालयका कर्मचारीहरूको भनाइ छ ।
कस्ता छन् नेम्वाङ ?
कसैले आलोचना गरेमा तत्कालै त्यसमाथि टिप्पणी गर्ने स्वभाव नेम्वाङको छैन । आफ्नो आलोचना सकभर नहोस् भन्नेमा पनि उनी सचेत छन् । सञ्चारमाध्यमसँग सम्बन्ध राखिरहन रुचाउँछन् । कसैले उनका विषयमा लेखेमा घुमाउरो पारामा त्यसलाई टिप्पणी गर्ने नेम्वाङको शैली छ ।
उनी जोखिम हत्तपत्ति लिन चाहँदैनन् । ‘बोल्ड डिसिजन’ गर्ने उनको क्षमता कमजोर देखिन्छ । उनले संसद्का महासचिवलाई बढी नै जिम्मेवारी दिएका थिए, आफ्नो कार्यकालभरि । जसले गर्दा कर्मचारीहरूले आफू अनुकूलको फाइदा नेम्वाङको पालामा प्रशस्तै लिने मौका पाए । व्यक्तिगत रूपमा सरल, बिस्तारै बोल्ने, मीठो बोल्ने, संयोजनकारी, कसैलाई नचिढ्याउने मृदुभाषी नेता हुन् नेम्वाङ । उनी कूटनीतिक भाषामा कौशल मानिन्छन् । संसद्मै माओवादीले तत्कालीन अर्थमन्त्रीको ब्रिफकेस खोस्ने र आफूमाथिसमेत माइक प्रहार हुन खोज्दा उनले त्यस्तै कूटनीतिक पारामा जवाफ फर्काएका थिए । त्यसवेला उनले भनेका थिए, ‘मेरा मित्रहरूले जे गर्नुभयो, यसलाई म आफूलाई माया गरेको ठान्छु ।’
नेम्वाङकै पालामा पत्रकारलाई सहज
संसद्का समितिमा पत्रकारलाई सबैभन्दा पहिले सहज प्रवेश लेखा समितिबाट भएको हो । ०५६ सालमा सो समितिका सभापति नेम्वाङ र सचिव थिए, सोमलाल थापा । नेम्वाङ र थापाकै उदारताका कारण पत्रकारहरूले पहिलोपटक लेखा समितिको बैठकमा आफैँ प्रत्यक्ष उपस्थित भई रिपोर्टिङ गर्ने अवसर प्राप्त गरेका थिए । नेम्वाङले नै पत्रकारहरूलाई पदेन सांसदका रूपमा परिभाषित गरेका थिए । उनी पत्रकारहरूसँग सम्बन्ध राख्न सहज पनि छन् । उनको कार्यकालमा पत्रकारहरूले कुनै अप्ठ्यारो महसुस गरेका थिएनन् । सजिलै उनको च्याम्बरसम्म पत्रकारहरूले विनारोकटोक भेटघाट गर्न पाउँथे ।
तर, अहिले घर्तीसँग नेम्वाङको पालामा जस्तो सहज पहुँच पत्रकारका लागि छैन । नेम्वाङले आफूलाई राज्यले विनाकारण पक्राउ गरेको र क्षतिपूर्ति दिनुपर्ने भन्दै मुद्दासमेत दर्ता गराए । ०६२-६३ पछि दर्ता गरेको मुद्दामा उनले जिते पनि । त्यसबापत उनले ७५ हजार क्षतिपूर्ति नै पाए । सो रकम उनले पत्रकार महासंघ इलामको शाखा कार्यालय निर्माणका लागि सहयोगका रूपमा दिलाए ।
प्रशासनिक सुधारमा ओनसरीको पहल
घर्ती पूर्वसभामुख नेम्वाङका तुलनामा संसद्मा ‘जुनियर’ नै छिन् । तैपनि, संसद् सचिवालय सुधारका लागि उनले पहलकदमी लिएकी छिन् । गत भदौबाट उनले संसद्मा बाँडिने खानाखाजाको कुपन हटाइन् । संविधान घोषणाका दिन मात्रै ६०१ सांसद रहेको संविधानसभाबाटै ३७ सयभन्दा बढी खानाका कुपन बाँडिएको फेला परेपछि त्यस्तो अनियमितता रोक्न घर्तीले कुपनको प्रचलन हटाएकी हुन् ।
खाजाखानामा कुपनमार्फत अनावश्यक खर्च बढेको अरोप लाग्दै आएपछि सुधारका लागि उनले त्यस्तो कदम उठाएकी हुन् । त्यति मात्रै होइन, संसद् लामो समयसम्म नबस्ने र बस्छ कि भन्ने आशाले दिनभर कुरेर बसिरहनुपर्ने अवस्थाको पनि उनले संसद्मा अन्त्य गरेकी छिन् । उनले अहिले संसद् बैठक समयमै सुरु गर्ने प्रणालीको सुरुआत गरेकी छिन् ।
सार्वजनिक बिदाका दिन उनले संसद्को मूलढोकामा ताल्चा लगाउन एक वर्ष अगाडिदेखि निर्देशन दिएकी छिन् । कामै नभए पनि बिदाका दिन कर्मचारीहरू संसद् सचिवालय पुग्ने र हाजिर गरेर राज्यकोषको दुरुपयोग गरेर हिँड्न थालेपछि उनले बिदाका दिन सचिवालयको ढोका बन्द गर्ने निर्णय गरेकी हुन् । संसद् सचिवालयको आन्तरिक संगठन पुनरावलोकन लामो समयदेखि भएको थिएन । ३२ वर्षयता नभएको सांगठनिक पुनरावलोकन उनकै पालामा भएको छ । यसलाई संसद्मा सभामुख घर्तीको सकारात्मक कदमका रूपमा लिने गरिन्छ ।
नेम्वाङमाथि आरोप
नेम्वाङमाथि एक दशक संविधानसभाको अध्यक्षको जिम्मेवारी सम्हाल्दा केही आरोप पनि नलागेको होइन । उनीमाथि पहिलो संविधानसभाको बैठक नै नराखी विघटन गराएको आरोप लाग्ने गरेको छ । उनलाई कांग्रेसका शेखर कोइरालालगायतका नेताहरूले धर्मनिरपेक्षताको एजेन्डा संसद्मा छिराएको आरोप लगाउँदै आएका छन् । तर, नेम्वाङमाथिको त्यस्तो अरोप अहिलेसम्म पुष्टि हुन सकेको छैन ।
नेम्वाङकै पालामा संसद्मा अर्थमन्त्रीले बजेट भाषण गर्न तयार पारेको ब्रिफकेस खोस्नेदेखि माइक टेबुल तोडफोडसम्मका घटना भएका थिए । तैपनि, उनले पदीय आचारणभन्दा विपरीतका ती घटनामा कसैलाई पनि कारबाही गर्न चाहेनन् । उनले संसद्मा नाराबाजी गरिरहेका विश्वेन्द्र पासवानहरूलाई भने मार्सल लगाएरै एक दिन संसद् बैठकबाट बाहिर निकालेका थिए । उनले त्यसवेला पासनवानलगायतलाई तीन दिनसम्म निलम्बनसमेत गरेका थिए ।
आ–आफ्नै स्वभाव र रुचि
नेम्वाङ–घर्तीका स्वभाव र रुचि, आनिबानी पनि फरक–फरक छन् । घर्ती सानैदेखि खेलकुद तथा नृत्यमा रुचि राख्थिन् । नेम्वाङ भने खेलकुदका पारखी नै हुन् । विशेष गरी फुटबल खेल मन पराउँछन् । नेम्वाङ आफैँ पनि सानो उमेरमा फुटबल खेल्थे । अहिले पनि उनी विदेशी क्लबहरूको फुटबल प्रायः नछुटाई हेर्ने गर्छन् ।