उच्च हिमाली भेगमा शुक्रबार दिनभर भारी मात्रामा हिमपात भएको छ । बिहीबार बिहानैदेखि जुम्लामा परेको पानीले डाँडाकाँडामा हिमपात भए पनि शुक्रबार भने जुम्ला उपत्यकासहित सबैजसो स्थानमा बिहानैदेखि लगातारको हिमपात भएको छ ।
लगातारको हिमपातले जिल्लाको जनजीवन निकै प्रभावित भएको छ । हिउँ परेपछि सरकारी कार्यालयहरू प्रभावित भएका छन् । यसैगरी विद्यालयहरूमा बालबालिका आउन नसकेपछि पठनपाठन प्रभावित बन्न पुग्यो । हिमपातले कर्णाली राजमार्गमा चल्ने छोटो तथा लामो दूरीका गाडीहरू सञ्चालन हुन सकिरहेका छैनन् । हिउँ परिरहेकै कारण बिहीबारदेखि नेपालगन्ज तथा सुर्खेतबाट हुने उडान सेवा सबै रद्द भएका छन् । यसैगरी हिउँ परेका कारण मरेका मानिसहरूको मलामी जान तथा दाहसंस्कार गर्नसमेत हम्मेहम्मे भएको थियो ।
लामो समयसम्म खडेरी भएको जुम्लामा पानी परेपछि किसानहरू खुसीसमेत भएका छन् । यो हिउँले कृषि बालीलाई राम्रो गर्ने भन्दै दङ्ग परेका छन् । जुम्लामा शुक्रबार न्यूनतम तापक्रम ०.४ डिग्री सेल्सियस र वर्षा ५.८ मिलिमिटर रहेको हावापानी कार्यालय जुम्लाका प्रमुख एपी चौरसियाले बताए । आजको गोरखापत्र दैनिकमा खबर छ ।
यसैगरी मुगु समाचारदाताका अनुसार हिउँ पर्ने महिना सकिएर चैत महिना लाग्नै लाग्दा पनि हिउँ नपरेपछि चिन्तित बनेका यहाँका कृषकहरू खुसी भएका छन् । पुसबाट प्रायः तीन पटकसम्म हिउँ पर्नेजस्तो मौसम भए पनि आवश्यक मात्रामा पानी र हिउँ नपर्दा कृषकहरू खेत गरामा लगाएका हिउँदेबाली उत्पादन नहुने भयो र सुक्खा मौसमले रुघा, खोकी तथा मौसमजन्य रोगबाट पीडित हुने भन्दै चिन्तित भएका थिए । तर, तीन दिन यताबाट मौसममा परिवर्तन आई हिमाली क्षेत्रहरूमा हिउँ र बेसीतिर लगातार पानी पर्न थालेपछि भने कृषकहरू खुसी भएका हुन् ।