धादिङ /धादिङको पीडा गाविसमा विषाक्त गहुँको रोटी खाँदा एकै परिवारका ६ जनाको मृत्यु भएको छ । अरु ७ जना गम्भीर विरामी भएका छन् ।
पीडा गाविस ८ पुकुन गाउँका ६० वर्षीय सन्तबहादुर तामाङ, उनकी बुहारी २५ वर्षीया फुलमाया तामाङ, ७ वर्षीया सुमित्रा तामाङ, ५ वर्षीय रमेश तामाङ र साढे २ वर्षीया सानुकान्छी तामाङको मृत्यु भएको हो ।
मृतक अर्का पुरुषको परिचय नखुलेको धादिङ प्रहरी प्रमुख डिएसपी प्रकाश मल्लले जानकारी दिए । सुमित्रा, सानुकान्छी र रमेशको ललितपुरस्थित मेघा अस्पतालमा तथा अरुको गाउँमै मृत्यु भएको हो ।
किराले खान्छ भनेर बीषमा मोलेर गहुँ राखेको र बीऊ खेतमा छरिसकेपछि बँचेकोलाई पीठो पिसाएर रोटी बनाएर खाँदा सोमबार विहान उनीहरुको मृत्यु भएको डिएसपी मल्लले जानकारी दिए ।
विषाक्त रोटी खाँदा अरु ७ जना गम्भीर विरामी परेका छन् । पीडा गाविस ८ बस्ने ८ वर्षीय पूर्णबहादुर तामाङ, ३५ वर्षीय टेकबहादुर तामाङ र १९ वर्षीय बुद्धसिंह तामाङ विरामी परेका छन् । यसैगरी ३१ वर्षीया सम्झना तामाङ, ६० वर्षीया फुलमाया तामाङ, १५ वर्षीया ठूलीमाया तामाङ र ९ वर्षीया बुद्धलक्ष्मी तामाङ पनि विरामी परेका छन् ।
उनीहरुको गजुरी अस्पतालमा प्रारम्भिक उपचार गरी थप उपचारको लागि काठमाडौंको बीर अस्पतालमा रिफर गरिएको अनलाईनखबरले जनाएको छ ।