– दीपक मलहोत्रा
ड्याम्म-ड्याम्म। अचानक बम पड्केजस्तो आवाज आयो र जहाज अचानक रोकियो। क्याबिन र क्याबिनेटमा राखिएका सबै सामान यत्रतत्र छरिए।
जहाजको अवतरण स्वाभाविक थिएन। जहाज अरु बेलाजस्तो आज हल्लिएको पनि थिएन।
बम पड्किएकोजस्तो आवाज आएकाले जहाजभित्रका यात्रु आत्तिए। अस्वभाविक रूपले रुने, कराउने गर्न थाले। अधिकांशले भगवान्कै नाम लिएका थिए। जहाजमा धुवाँ भरिएको थियो।
मैले मसँग भएको सामसुङ ग्यालेक्सी फोनले जहाजभित्रको दुर्लभ ‘भिजुअल’ कैद गरेँ। तस्बिर पनि लिएँ। मरिएछ भने पनि बाँचेको पुस्ताले त पक्का पनि जहाजभित्रको कारुणिक दृष्यहरू हेर्न पाउला भन्ने लाग्यो। बाहिर निस्केर पनि सबैभन्दा पहिले मैले दुर्घटनाग्रस्त जहाज, आत्तिँदै निस्किएका यात्रु र उद्धारकर्मीले काम गरेको दृश्यहरू खिचिरहेँ।
जहाजको बिजनेस क्लासमा भएकाले सबैभन्दा पहिले बाहिर आउने अवसर पाएँ। बाहिर निस्किएपछि मात्र मैले थाहा पाएँ- जबर्जस्ती अवतरण गराउँदा जहाज विमानस्थलको रन वेभन्दा बाहिर गएछ।
जहाज रोकिएलगत्तै सबै आपतकालीन ढोका खोलिनु पर्दथ्यो। किन समयमै खोलिएन? रोकिएको निक्कैबेरपछि मात्र जहाजका ४ वटै आपतकालीन द्वार खोलिएको थियो। युवाहरूलाई भन्दा पनि पाका र उमेर पुगेका यात्रु धुवाँका कारण ज्यादा समस्यामा परेका थिए।
जबर्जस्ती अवतरण गराउँदा जहाज विमानस्थलको दुई रन वे बीचको चउरमा पुगेछ । किनभने त्यतिबेला विमानस्थलको ‘भिजिविलिटी’ शून्य नै रहेछ। जहाजको एकातिरको इन्जिन भुइँमा जोतिएको थियो। तै पनि भर्खर परेको पानीले गलेको माटोले इन्जिन जोगाएको थियो। इन्जिन पड्किएको भए हामी सबैको एकै चिहान हुन्थ्यो।
म बाहिर निस्कँदा नेपाल प्रहरी, सेना, दमकल, एम्बुलेन्सलगायत एयरपोर्टका कर्मचारीहरूको भिड थियो। यो देख्दा एक हिसाबले खुसी लाग्यो। हामी नेपालीहरूमा पनि चाँडै उद्धारमा खटिन सक्ने खुबी रहेछ।
जहाजमा आगो लागेको चर्चा पनि सुनियो। दमकलले तत्काल आगो निभाएर ठूलो क्षति हुन रोकेको थियो।
मैले तत्कालै हत्तपत्त फोन निकालेर श्रीमती सबितालाई फोन गरेँ। उनी मलाई बाहिर पर्खेर बसिरहेकी थिइन्।
* * *
टर्किस एयरलाइन्सको फ्लाइट नम्बर ०७२६ इस्तानबुलबाट पूर्वनिर्धारित समयमै काठमाडौंका लागि उडेको थियो। त्यतिबेला इस्तानबुलमा साँझको ८ बजेर ५ मिनेट (नेपाली समय अनुसार राति ११ बजेर ५० मिनेट) गएको थियो । ।
हामी सामसुङ ग्यालेक्सीको एस-६ र एस ६ इडिजीको ‘वर्ल्ड लन्च’ समारोहमा भाग लिएर बार्सिलोनाबाट फर्किएका थियौं। साथमा सामसुङ मोबाइलका नेपाल प्रतिनिधि यु वेओम वन, छोरा दिकेश मलहोत्रालगायत अरु १० जना जति नेपाली जहाजमा थिए। बाँकी सबै विदेशी यात्रु थिए।
जहाज काठमाडौंमा बिहान ६ बजेर ५५ मिनेटमा अवतरण गर्नुपर्ने थियो। रुटको सफा मौसम र सहज उडानका कारण जहाज बिहान ६ बजेर २५ मै आइपुग्ने भयो। तर काठमाडौंको मौसम खराब रहेछ।
खराब मौसमका कारण जहाज काठमाडौंमा समय अवतरण हुन सकेन। काठमाडौं खाल्डोलाई लमतन्न परेर हुस्सुले ढाकेको थियो। जहाजले काठमाडौं वरिपरि सात फन्का लगायो। ७ बजेतिर जहाज अवतरण हुने भयो। घरहरू देखिन थाले। मन शान्त भयो। अवतरणकै क्रममा मेरा आँखाले पाटन, तीनकुनेसम्मका घर ठक्याउन भ्याइसकेको थिए।
तर, अचानक जहाज अवतरण हुनुसाटो माथिमाथि उड्यो।
यसपछि भने जहाजमा रहेका २ सय ४८ यात्रुको मन अशान्त हुन पुग्यो। काठमाडौंको खराब मौसमका कारण अवतरण गर्न नसकिएको सूचना दिइयो। सूचना थियो, ‘पुन: अवतरण गर्न आधा घन्टादेखि एक घन्टासम्म लाग्न सक्छ।’
जहाजले पुन: एक चक्कर लगायो। जता हेर्छु- उतै अँध्यारोमात्र छ। मौसम सफा देखिँदैन।
सामान्यतः यस्तो स्थितिमा अन्तर्राष्ट्रिय जहाजहरू छिमेकी देश भारतको नजिकको विमानस्थलमा लगेर अवतरण गराइन्छ। काठमाडौंको आकाश खुल्ने प्रतिक्षा गरिन्छ। इन्धन सकिन लागेको छ भने इन्धन भर्छन् पनि। एक मनले आज पनि त्यस्तै होला भन्ने सोचिरहेको थिएँ।
मेरो ५४ वर्षको उमेरमा ३५ वर्ष त मैले नियमित जहाज चढेकै भइसक्यो। व्यापारको सिलसिलामा देशभित्र र बाहिरको बरोबर यात्रा गरिरहनु पर्छ। यात्राको क्रममा काठमाडौं अवतरण गर्ने बेलाको परिस्थिति र मौसमबारे म अभ्यस्त भइरकेको छ।
तर, आज मेरो बुझाइजस्तो भएन। किन पाइलटले लखनऊ या अन्यत्रको विमानस्थलतिर जहाज नलगी बरोबर काठमाडौंमा मै अवतरणको कोसिस गरिरहेका छन् भन्ने लागिरह्यो।
यतिबेलासम्म हामी कोही कसैलाई जहाज अवतरण गर्दैछ भन्ने केही मेसो छैन। हामीले त जहाजको झयालबाट बाहिर हेर्ने हो। कल्पनासम्म गर्ने हो। मौसम सफा छैन। अध्यारो नै छ। अवतरण गर्ने बेलामा म यसो झ्यालबाट हेर्छु, कहीँ कतै उज्यालो देखिँदैन।
अहिले पनि मेरो मनमा एकपछि अर्को गर्दै प्रश्नहरू आइरहेका छन् – के त्रिभुवन विमानस्थलको टावरले अवतरणको अनुमति दिएको थियो? कतै अवतरणको प्रयास गर्दागर्दै जहाजको फ्युल पो सकिँदै थियो कि? त्यही प्रेसरका कारण पाइलटले जबर्जस्ती जहाज अवतरण गराएका पो हुन् कि?
यी र यस्तै प्रश्नहरू अझै पनि अनुत्तरित नै छन्। अहिले बडो ठूलो दुर्घटनाबाट बचेर आएको घन्टौँपछि पनि म यही कुरा सम्झिरहेको छु। यसबारे केही दिनमा वास्तविकता सार्वजनिक हुने नै छ।
* * *
जीवनमा जहाज चढेको अनुभव धेरै थियो। बाबु-छोरासँगै जहाज चढ्नु हुँदैन भन्थे, पाका मानिसहरू। कहिल्यै पत्यार लागेन। आज साँच्चै हो कि भन्ने लागिरहेको छ। जहाजमा सधै ‘सिल्टबेल्ट’ बाँध्नु भनिन्छ। त्यसको फाइदा पनि अनुभव गर्न पाएँ।
३५ वर्षमा आज पहिलोचोटि जहाज चढेर ठूलो दुर्घटनामा परियो। सबैभन्दा ठूलो कुरा त मृत्युको मुखमा पुगेर फर्किइयो। र, दोस्रो जीवन पाएको अनुभव गर्दैछु।
सेतोपाटीबाट साभार