राजकुमार श्रेष्ठ
काठमाडौं /पाकिस्तानको कराँचीस्थित जेलमा २८ महिना बिताएका गुल्मीका मीनबहादुर सर्तुङ्गे मगर बिहीबार दुई बजेतिर काठमाडौं विमानस्थलमा ओर्लिए ।
गुल्मी बरगाउँ ३ का मीनबहादुर ४ वर्ष र २ वर्षका छोरा, श्रीमती र बुढा बुबाको साथमा छोडेर रोजगारीका लागि भारत गएका थिए । सुरुमा उनले गुजरातको एक होटलमा वेटरको काम गरे । तर, भारतीय साथीहरुले राम्रो कमाइ हुन्छ भनेपछि उनले समुन्द्रमा पानी जहाजबाट माछा मार्ने काम थाले ।
इतिहास सम्झँदै उनले भने- ‘१० हजार भारु थियो, हाम्रो ६ जनाको समूह थियो । तर, नेपाली म मात्रै थिएँ ।’मगरका अनुसार उनीहरु १० दिनका लागि पुग्ने रासनपानी लिएर समुन्द्रमा जान्थे । जहाजमा ठूलो जाल राखेर झण्डै ३ चार घण्टामा ४०/५० हजार माछा जालमा परेपछि उठाएर जहाजमा राख्थे ।
‘जहाजमै बरफ थियो माछा राख्ने । १० दिनमा एकपटक फर्केर आउँदा साथमा ३/४ ट्रक माछा हुन्थ्यो । किलोको ३०/४० भारुमा बिक्री हुन्थ्यो’ उनले सुनाए । मीनबहादुरले माछा मार्ने काम थालेको झण्डै २ महिनामात्रै भएको थियो, उनीहरुलाई पाकिस्तानी कोष्ट गार्ड (सुरक्षाकर्मी) ले पक्राउ गरे । माछा मारेर राति सुतेका उनीहरुको समूहलाई बिहान उठ्दा पाकिस्तानी कोष्टगार्डले आफ्नो सीमामा अनुमति विना प्रवेश गरेको भन्दै पाकिस्तानीले नियन्त्रणमा लिए ।
मीनबहादुरलाई आफूहरु पक्राउ परेको तिथिमिति याद छैन । उनीहरुलाई चौकीमा लगियो । त्यहाँ पाकिस्तानीले किन हाम्रो सीमामा आएको भन्दै प्रश्न गरे । त्यसबेलासम्म मीनबहादुरलाई साथीहरुले नेपाली नभन्नु, भारतीय हो भन्नु भनेका थिए । हामीलाई छुटाउँदै तिमी पनि सँगै छुट्छौं भनेका थिए । मगरले पनि त्यसै गरे ।
उनले आफ्नो परिचय गुजरातको पम्फाबहादुरको भनेर दिए । भोलिपल्ट उनीहरुलाई कराँची जेलमा गरेर राखियो । त्यहाँ माछा मार्ने क्रममा पक्राउ परेका १३ जनालाई एउटै कोठामा राखियो । जेलमा रोटी र दाल खान दिन्थेँ । कहिले काँही कुखुराको मासु दिएको मीनबहादुरले सुनाए । जेलमा रहँदा उनीहरुलाई हरेक दिन तीन घन्टा बाहिर ल्याउँथे, बाँकी समय कोठाभित्रै ।
कराँची जेलमा थुनिएको ७ महिनापछि भारतीयहरु छुटे, तर मीनबहादुरलाई कसैले बास्ता गरेन । ‘सुरुमा छुट्न सजिलो हुन्छ भनेर भारतीय भन् भने । होला भनेर त्यसै भनेँ । तर, उनीहरु छुटे पनि मलाई केही भएन’ मीनबहादुरले भने । भारतीयहरु छुटेपछि उनले आफू नेपाली भएको र थुनामा रहेको खबर गरिदिन पाकिस्तानी अधिकारीहरुलाई आग्रह गरे । उनले भारतीय नागरिक छुटाउन आएका अधिकारीहरुलाई पनि भने, तर, कसैले उनको सुनुवाइ गरेन ।
उनी जेलमा बसिरहँदा घर परिवार सम्झँथे । बुढा बालाई सम्झिए । तर, सम्पर्क गर्न पाएनन् । ‘मन रुन्थ्यो तर, बाहिर अरुलाई देखाउन मन लागेन, म रुँदा अरु हाँस्लान् भन्ने लाग्यो’ उनले केही गम्भीर हुँदै जेल बसाइ सम्झिए । उनले अब जेलबाट छुटौंला भन्ने आश मारिसकेका थिए । तर, झण्डै चार महिनाअघि हैदर अली भन्ने व्यक्ति कराँची जेलमा पुगे, जहाँ मीनबहादुरसँग भेट भयो ।
मीनबहादुरलाई उनको नामबाहेक थाहा छैन । तर, अधिकारकर्मी हुनसक्ने अनुमान छ । मीनबहादुरले आफ्नो व्यथा तिनै हैदर अलीलाई सुनाए । हैदरले केही गर्ने आश्वासन दिए । उनी बेला-बेला कराँची जेलमा पुग्थे र मीनबहादुरलाई भेट्थे । त्यही क्रममा साढे दुई महिनाअघि उनलाई भेट्न कराँची जेलमा नेपाली दूतबासका अधिकारीहरु पुगे, शायद हैदरको पहल होला ।
पाँच दिनअघि उनलाई अब जेलबाट छुटेर घर फर्कँदैछु भन्ने थाहा भयो । हैदरले नै भनेका थिए । उनले ५५ हजार पाकिस्तानी रुपैयाँ हालेर टिकटको ब्यवस्था गरेको मीनबहादुरले सुनाए । जेलबाट छुट्दा र काठमाडौं उत्रँदा एकदमै खुसी लागेको भन्दै उनले भने-‘कमाउन भनेर गएको थिएँ, दुःख पाएर फर्किएँ ।’ कुराकानीका क्रममा मीनबहादुरले अब माछा मार्ने काममा कहिल्यै नजाने बताए ।
विहीबार काठमाडौं आएपछि मीनबहादुरलाई कतिबेला घर पुगौंजस्तो भएको रहेछ । जेल परेदेखि परिवारका सदस्यहरुसँग कुरा गर्न नपाएका उनी घर जान निकै हतारिएका थिए । मगरलाई सहयोग गरिरहेको संस्था प्रवासी समन्वय समितिका महासचिव सोमप्रसाद लामिछानेले शुक्रबार बिहानै बस बढाएर पठाइदिउँला भन्दै थिए । लामिछानेले थाकेर आउनुभएको छ, आज आराम गर्नुस् भन्दै एकरात काठमाडौंमा बस्न आग्रह गरे । तर, मीनबहादुरको मन मानेन । उनले भने-‘मलाई बुबाको मुख कतिबेला हेरौंजस्तो भएको छ । आज जान पाए हुँथ्यो सर । भोलि त घर पुग्थेँ ।’
मीनबहादुरले निकै जिद्धी गरेपछि सोमप्रसादले घरमा फोन गर्ने चाँजोपाँजो मिलाए । उनले दिएको एउटा नम्बर स्विच्ड अफ छ भनेपछि उनी केही निरास देखिए ।
उनले म सँग अर्को पनि नम्बर छ भन्दै गोजीमा रहेको पर्सबाट डायरी निकाले । ‘पुलिसले यो पनि मागेको थियो, मैले केही छैन भन्दै दिइँन भन्दै नम्बर खोजिरहँदा उनको मुहारमा खुसी प्रष्ट देखिन्थ्यो । नम्बर फेला परेपछि मगरले फोनमा जेठीआमा, भाउजू हुँदै ७७ वर्ष काटिसकेका बाबुसँग कुुरा गरे । उनले केही अप्ठ्यारो मान्दै भने- म काठमाडौं आइपुगे, आजै हिँड्छु । भोलि दिउँसोसम्म आइपुग्छु ।’
कुराकानीको अन्त्यमा उनले पाँच हजारजति पैसा खोजेर राख्न समेत घरमा आग्रह गरे ।
कमाउन भनेर गएको छोरो जेल बसेर फर्किएको छ । झण्डै २८ महिना जेल बसेर छोरो आएकोमा उनका बुबामा खुसी त थियो नै । तर, कमाउन भनेर गएको छोराले उल्टै पैसा खोजेर राख्नुस् भन्दा कस्तो होला ? यही बुझेर होला, उनले हत्तपत्त भनिहाले- पछि कमाएर दिइहाल्छु नि । गुजरात जाँदा मीनबहादुरको सपना थियो, केही पैसा कामाएर ल्याउँला र गाउँमा रासन पानीको पसल खोलौला । तर, २८ महिना जेल बसेर आउँदा उनलाई घर र्फकन पाउनु नै सबैभन्दा ठूलो जीत हासिल गरेझैं लागेको छ ।
त्यसैले त उनी मनभित्रको पीडा लुकाएर भए पनि हामीसँग हाँस्ने प्रयास गर्दै थिए ।
अब के गर्ने ? उनलाई थाहा छैन । तर, अनलाइनखबरका पत्रकारसँग छुट्दै गर्दा उनले भने- मलाई पनि कहाँ रहर थियो र साना छोराहरुलाई छाडेर विदेश जाने …