एनआरएनएन स्पेन, बार्षिक साधारण सभाको तयारीमा


– बसन्त रानाभाट
बार्सिलोना/
गैरआबासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद् स्पेनले आगामी हप्ता बार्सिलोनामा बार्षिक साधारण सभा गर्ने भएको छ । संघको प्रगति बिबरण,आय व्यय लगायत कार्ययोजनाहरु प्रस्तुत गर्ने तयारीका साथ साधारण सभा गर्न लागेको हो। गत बर्ष डिसेम्बर अगाडी नै साधारण सभा सम्पन्न भईसक्नु पर्ने भएपनि ढिलो गरि हुन लागेको छ।

बार्सिलोनामा सम्पन्न सातौ युरोपियन क्षेत्रीय बैठक तथा पाचौ महिला सम्मेलनको बिषयमा उठेका अनियमितताका प्रसंगहरु छानबिनै क्रममा रहेको बेला नै साधारण सभा गर्ने मिति परेकोले समयमा गर्न नसकिएको संघका अध्यक्ष एकराज गिरीले नेपालीनेपाली डटकमलाई बताए । उनले भने, “आर्थिक छानबिन र अनुशासन समितिले कुनै किसिमका अनियमितता नभएको ठहर पछि क्षेत्रीय बैठकका बिषयमा टुङ्गो लगाएको थियो तर तुरुन्त गर्ने भनिएको साधारण सभा, दुताबास स्थापनाको माग सहित नेपाल डेलीकेसन जाने निर्णयले फेरी पर धकेलिएको हो।”

बार्षिक साधारण सभा खुल्ला र बन्द सत्र गरि दुई चरणमा सम्पन्न गर्ने संघले जनाएको छ। संघले साधारण सभाको लागि तयारी समितीको संयोजकमा उपाध्यक्ष निरज कुमार पोख्रेल र ब्यबस्थापनको लागि अर्का उपाध्यक्ष अर्जुन आचार्यलाई जिम्मेबारी दिएको छ।

के छन् त नीति तथा योजनाहरु ?

एनआरएनए स्पेनले नेपाललाई बिश्व सामु चिनाउने लक्ष्य सहित गर्दै आएको कार्यक्रमलाई यस बर्ष पनि निरन्तररता दिने भएको छ। स्पेनिस समुदाय माझ यस बर्ष नेपाललाई चिनाउने र प्रर्यटन बिकासमा टेवा पुग्ने कार्यक्रम बारे छलफल गरि तय गर्ने योजना लिएको छ। बुद्द पूर्णिमाको उपलक्ष्यमा कार्यकम्र गर्ने यस अघि निर्णय गरिसकेको छ । संघले गत बर्ष युरोपियन क्षेत्रीय बैठकमा पनि हिमाल आरोहण गरेका स्पेनिसहरुलाई सम्मान तथा नेपाललाई चिनाउने भिडियोहरु देखाएको थियो। पेरिस स्थित नेपाली राजदुताबास,बार्सिलोनामा रहेको नेपाली कन्सुलर कार्यलय र संघको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न गरेको थियो।

साधारण सभामा संघको कल्याणकारी (राहत) कोष बृद्दी गर्ने बारे छलफल हुने भएको छ। कोषलाई अझ कसरी ब्यबस्थित गर्ने भन्ने बारे पनि योजना बनाउने लक्ष्य लिएको संघले जनाएको छ।

यस्तै फुटबलको लागि संसार कै लोकप्रिय देश मध्ये पर्ने स्पेनमा हुर्केका नेपाली बालबालिकाहरुलाई कसरी ब्यबसायिक फुटबलमा जाने प्रेरेणा दिन सकिन्छ भन्ने बारे पनि गम्भिर छलफल गर्ने संघले जनाएको छ। बालबालिकाहरुलाई ब्यबसायिक फुटबलमा जाने बाटो तय गर्न स्पेन भित्र वा बाहिरका प्रतियोगिताहरुमा समेट्ने बारे छलफल गरिने भएको छ। यस अघि संघले हरेक बर्ष दिपावली कप फुटबल प्रतियोगीता मात्र गर्दै आएको थियो। प्रतियोगितामा नेपाली बालबालिकाहरुले भाग लिदै आएका छन्।

युरोपियन क्षेत्रीय बैठक तथा सरकारलाई बुझाएको ज्ञापनपत्रको समिक्षा

गत बर्ष बार्सिलोनामा सम्पन्न सातौ युरोपियन क्षेत्रीय बैठक तथा पाचौ महिला सम्मेलनबारे साधारण सभामा छलफल र समिक्षा हुने भएको छ। क्षेत्रीय बैठक स्पेनमा आयोजना गर्न पाउनु र यसबाट स्पेनलाई पुगेको लाभ बारे पनि छलफल गर्ने संघले जनाएको छ।

यस्तै स्पेनमा राजदुतबासको माग सहित एनआरएनए स्पेनको नेतृत्वमा नेपाल सरकारलाई बुझाएको ज्ञापनपत्र र भेटबार्ताको बारेमा पनि जानकारी गराईने भएको छ। यहा बस्ने नेपालीहरुका समस्या समाधानका लागि भन्दै संघको प्रतिनिधिमण्डलले गत महिना राष्ट्रपती डा. रामवरण यादव,प्रधानमन्त्री सुशिल कोईराला, परराष्ट्र मन्त्री महेन्द्र पाण्डे,अर्थमन्त्री डा. रामशरण महत, नेकपा एमाले अध्यक्ष एवं संसदिय दलका नेता केपी शर्मा ओली ,परराष्ट्र सचिव शंकरदास बैरागी लगायत सँग भेटबार्ता गर्दै ज्ञापनपत्र बुझाएको थियो।

साधारण सभा चौथो अधिबेशनका लागि अझ महत्वपूर्ण

अहिले गर्ने भनिएको साधारण सभा लगत्तै ४-५ महिनाको अवधिमा नै संघको चौथो अधिबेशनको नजिकिदै गर्दा छलफलहरुलाई अर्थ पूर्ण रुपमा हेरिएको छ। स्पेनमा रहेका राजनीतिक निकट संगठन,जातीय तथा क्षेत्रीय संघसस्थाहरुको सहमतीय प्रकियामा एनआरएनएन स्पेनको कार्यसमिती बन्दै आए पनि अब भने कठिन हुने आकलन गरिएको छ।

बढ्दै गएका क्षेत्रीय तथा जातीय संघ सस्थाहरुलाई कसरी समेट्ने भन्ने बिषयमा पनि छलफल हुनु पर्ने देखिन्छ। अर्को तर्फ संघको कार्यसमिती ढाचा बार्सिलोना केन्द्रित बढी देखिकोले स्पेनका अन्य शहरमा बस्ने नेपालीहरुको सहभागिता बारे नयाँ कार्यसमितिमा कसरी समेट्ने भन्ने बारे बहस जरुरी छ । करिब १० हजार नेपालीहरुको अनुमान गरिएको स्पेनमा करिब आधा भन्दा बढी बार्सिलोना बाहिर बस्ने नेपालीहरुको सहभागिता कार्यसमितीमा नरहे, उठ्ने गम्भिर प्रश्नको जवाफ खोज्न जरुरी छ।

यदी सहमतीय प्रकिया सम्भव नभए निर्बाचनमा जानको लागि साधारण सदस्यता बारे बेलैमा टुङ्गो लगाउनु पर्ने अहिलेको कार्यसमितीलाई थप जिम्मेबारी देखिन्छ। बेलायतमा पनि एनआरएनए बिबादको मूल जड सदस्यता बिबाद नै भएकोले यो बाट पाठ सिकेर बेलैमा सचेत हुनुपर्ने देखिन्छ।