गैरकानूनी बसाइले, अन अराइभल भिसामा सिंगापुरले कडाइ गर्न सक्ने


बैंकक / गैरकानूनी प्रवेश तथा बसाइको कारण सिंगापुर भ्रमणमा जाने नेपालीहरुलाई प्रदान गर्ने गरेको ‘अन अराइभल भिसा’ मा सिंगापुर सरकारले कडाइ गर्न सक्ने बैंककस्थित नेपाली दूतावासले जनाएको छ ।

गैरकानूनी ढंगले प्रवेश तथा बसोबास गर्ने नेपालीहरुलाई बैंककस्थित नेपाली दूतावासले नियमानुसार प्राप्त हुने राहदानी रद्द गर्न, राहदानी प्रदान गर्नमा प्रतिवन्ध लगाउन, नाम कालोसूचीमा सूचीकृत गर्न, भीसा रद्द गर्न सक्ने पनि दूताबासले जनाएको छ ।

सिंगापुरमा नेपालीहरुको गैरकानूनी प्रवेश तथा गैरकानूनी बसाइको क्रम दिनप्रतिदिन बढ्दै गएको तथा सिंगापुरबाट नेपालीहरुको गैरकानूनी प्रवेश तथा गैरकानूनी बसाइका कारण नेपाली महिलाहरु पक्राउ गरी अनुसन्धान तथा सजायँका लागि थुनामा राखिएको पत्रहरु पनि आफूहरुलाई बारम्बार प्राप्त हुने गरेको पनि दूतावासले जनाएको छ ।

भिसा नियमित नगराई बस्ने कार्यलाई नकारात्मक रुपमा लिइने हुँदा त्यसरी गैरकानूनी रुपमा प्रवेश तथा बसोबास गर्ने नेपालीलाई कारबाही हुन सक्ने भन्दै दूतावासले सचेत गराएको हो ।

गैरकानूनी ढंगले सिंगापुर प्रवेश गर्ने तथा बसोबास गर्ने प्रोत्साहन, संरक्षक तथा सहयोग गर्ने वा त्यसरी त्यहाँ बसेको थाहा पाएर पनि थाहा नपाएको जस्तो गर्ने जो कसैलाई पनि सिंगापुर सरकारले कडाई गर्न सक्ने दूतावासले जनाएको छ ।

bankak-ambesy