रामचन्द्र नेपाल
क्वालालम्पुर/ लुटेरा समूहको आक्रमणमा परी गम्भीर घाईते भएका मधुमल्ला १ मोरङका चन्द्रमोहन चौधरीले आफूलाई नेपाल फिर्ता पठाईदिन सवैसँग अनुरोध गरेका छन् । अवैधानिक अवस्थामा रहेर काम गरिरहेका चौधरीलाई स्थानीय लुटेराको समूहले जनवरी २१ तारिखका दिन सुजुकेलाग भन्ने स्थानमा आक्रमण गरेका थिए ।
आफ्नो कोठामा खाना वनाउने र साथीहरुको होस्टल तथा कोठा कोठामा खाना खुवाउने काम गर्दे आएका चौधरीलाई साँझ करीव आठ वजेतिर खाना लिएर जाँदै गर्दा आक्रमण भएको हो । मोटरसाईकलमा सवार उनलाई चार जनाको संख्यामा भ्यानमा आएका आक्रमणकारीहरुले पछाडिवाट धारिलो हतियार प्रयोग गरेका थिए ।
‘पहिलो प्रहारवाट म लड्न पुगेे, भ्यानको पांग्राले बायाँ खुट्टा किचिदिए, दायाँ खुट्टा छियाछिया हुने गरी ठाउँठाउँमा काटिदिए, दायाँ हातको चोर औंलासमेत छिनाई दिए । ढाड, खुट्टा र शरीरका अन्य भागमासमेत तरवार जस्तोले हिर्काए ।’- आक्रमणको अवस्थावारे चौधरीले वताए ।
क्षतविक्षत अवस्थामा रहेका चौधरीलाई साथीहरुले अस्पताल पुर्याएका थिए । १२ दिनको उपचारमा करीव १५ हजार रिंगेट खर्च लागेको चौधरीले वताए । अस्पतालले बायाँ खुट्टा काट्नुपर्ने वताए पनि उनी नेपालमै गएर थप उपचार गराउने वताउँछन । ‘खुट्टा नै काट्नु परे पनि नेपालमै गएर कटाउछु,जतिसक्दो छिटो नेपाल जान पाउँ’ उनले भने ।
ढाडमा समेत गम्भीर चोट लागेकाले राम्ररी बस्न समेत नसक्ने उनलाई सहयोग गर्दै आईरहेका सविन श्रेष्ठले बताए । नेपाल र्फकन प्लेनमा समेत वस्न नमिल्ने भएकाले सुतेर स्टेचरमा लैजानु पर्ने अवस्था छ, श्रेष्ठले भने ।
हाल अवैधानिक अवस्थामा रहेका श्रमिकहरुलाई मलेसिया सरकारले घर फिर्तिका लागि दिएको अवसर गएको डिसेम्वर ३१ तारिकदेखि समाप्त भएकाले सहजै नेपाल फर्कन समस्या भएको हाे । नेपाली दूतावास मलेसियाले चौधरीको नेपाल फिर्तीको पहल भैरहेको जनाएको छ ।